हिउँदे झरीपछी भुकम्पपिडितलाई चिसोले सास्ती
हिउँदे झरीपछी भुकम्पपिडितलाई चिसोले सास्ती

रुकुम पश्चिम । मौसममा आएको बदलीका कारण बिहिबार देशका अधिकांश भु–भागमा झरी र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात समेत भयो । लामो खडेरीलाई चिर्दे भएको बर्षाले धेरैलाई खुसी बनाएपनि जाजरकोट र रुकुम पश्चिमका भुकम्प पिडितलाई भने चिसो बढ्दा सास्ती थपिएको छ ।
भुकम्पको केन्द्रविन्दु जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाडँडा आसपासका डाडँहरुमा हिमपात हुदाँ चिसो अत्याधिक बढेको छ । जसका कारण अस्थायी आवास र त्रिपालमा बसिरहेका आफुहरुलाई मुस्किल परेको रामिडाँडाका भुकम्पपिडित धनबहादुर ज्योतीले बताए । ‘यसैपनि चिसो मौसममा पानी परेपछी त गाह्रो भयो ।’ उनले भने, ‘अहिलेसम्म वरीपरिका डाँडाहरुमा हिउँ परेको छ । यस्तै भैरह्यो भने भोली (शुक्रबार) विहानसम्म त यही पनि हिउँ पर्छ होला । त्रिपाल र टिनका टहरामा बसिरहेका हामीलाई गाह्रो पर्ने भयो ।’
बारेकोट संगै जाजरकोट र रुकुम पश्चिमका भुकम्प प्रभावित नागरिकलाई पनि हिउँदे बर्षपछी चिसो बढ्दा गाह्रो परिरहेको छ । जाजरकोटको भेरी नगरपालिका–१ रिम्नाकी शसिला राणाले अस्थायी आवासको खाप–खापबाट चिसो हावा छिर्ने हुदाँ भित्र बस्दा पनि चिसो हुने गरेको दुःखेसो गरिन् । ‘भेरी नदीको छेउमा सिरेटो चल्छ । यसैपनि चिसो पानी पर्दा त कसरी समय कटाउने भन्ने पो हुन थाल्यो’ उनले भनिन् ।
भुकम्पपिडितको अस्थायी आवास निर्माणका लागी पहिलो किस्ता वापत सरकारले प्रति परिवार २५ हजार रुपैयाँ प्रदान गरिरहेको छ । तर भुकम्प गएको तिन महिना पुग्दासम्म पनि अस्थायी आवासको काम सकिएको छैन । यसकारण जाजरकोट र रुकुम पश्चिमका करिब ३४ हजार बढी भुकम्प पिडितहरु अझैपनि त्रिपालभित्रै बस्न बाध्य छन् । जिल्ला प्रशासन काार्यलय जाजरकोटका अनुसार बिहिबारसम्म यस जिल्लामा ४२ हजार ५ सय २४ लाभग्राही कायम भएकामध्ये १६ हजार ३ सय १८ ले अस्थायी आवासको काम सकेका छन् भने अझै २६ हजार २ सय ६ वटा अस्थायी आवास बन्न बाँकी छन् ।
त्यस्तै रुकुम पश्चिममा पनि हालसम्म २७ हजार ३६ लाभग्राही कायम भएका मध्ये १८ हजार ८ सय ६६ वटा अस्थायी आवास बनाईएको छ भने ८ हजार १ सय ७० वटा अस्थायी आवास अझैपनि बन्न बाँकी छन् ।
अहिलेसम्म पनि अस्थायी आवास बनाउन नसकेका भुकम्पपिडितहरु त्रिपालमुनी गुजारा गरिरहेका छन् । भेरी नदीको छेवैमा रहेको आठविसकोट नगरपालिका–१४ छेपारेकी पुतली परियारले टिन नहुदाँ टहरो बनाउन नसकेको बताईन् । ‘सरकारले दिएको २५ हजार रुपैयाँ पाएपनि घर बनाईदिने मान्छे छैन ।’ उनले भनिन्, ‘पैसाले मात्रै नहुने रहेछ । एउटा छोरो विदेश छ । यहाँ काम गरिदिने कोही छैन । यसकारण त्रिपालमै बसेका छौ ।’
यसरी जनशक्ति, स्रोतसाधन र अन्य बिभिन्न कारणले आफुहरुले अलिहेसम्म अस्थायी टहरो बनाउन नसकेको सानीभेरी गाउँपालिका–४ का लंकबहादुर चन्दको भनाई छ । हिउँद याम यसैपनि चिसो मौसम हो । यसैमाथी झरी पर्दा आफुहरुलाई सास्ती थपिएको उनको भनाई छ ।
चिसोकै कारण अहिलेसम्म जाजरकोट र रुकुम पश्चिममा गरी ३६ जनाको ज्यान गैसकेको छ भने यस्तो बेलामा गर्भवती तथा सुत्केरी महिला, बालबालिका, जेष्ठ नागरिक र दिर्घ रोगीहरुको स्वास्थ्य सुरक्षामा चुनौती थपिएको छ ।
त्रिपालले त चिसो छल्नै नसक्ने भन्दै आठविसकोट–१३ रुकुम पश्चिमका मैसर जैसीले अस्थायी आवासमा बसिरहेकाहरुलाई पनि यो बेला हम्मे–हम्मे परिरहेको दुःखेसो गरे । ‘त्रिपाल र टहरो दुबैमा पानी पसहाल्छ । अनि कसरी बस्ने यहाँ ।’ उनले भने, ‘आजभोली एकदिन पानी पर्दा त यसे हाल भयो । बर्खा लागेपछी कसो होला । सम्झेर पिर लाग्छ ।’