मासिदै मौलिकता, हराउदै प्राकृतिक सुन्दरता
मासिदै मौलिकता, हराउदै प्राकृतिक सुन्दरता
रुकुम पश्चिम । जिल्लाका बिभिन्न प्राकृतिक, धार्मिक एवम् ऐतिहासिक सम्पदामाथी सिमेन्ट र कंक्रिटको बढ्दो प्रयोगले त्यसको मौलिक सुन्दरतामा ह्रास आउन थालेको छ ।
मुसीकोट नगरपालिका वडा नंं. ५ मा अवस्थित कर्णाली क्षेत्रका महत्वपुर्ण धार्मिक तिर्थ स्थल मध्येको एक रुकुम पश्चिमको डिग्रे शाईकुमारी भगवती माताको मन्दिरप्रतिको आस्था र विश्वास यस क्षेत्रका सर्वसाधारणका लागी अपार छ । तर यो मन्दिर पहिले जस्तो भने छैन ।
बितेको एक दशकयता तिब्र विकासको चपेटामा यो मन्दिर पर्यो । यहाँको मुल मन्दिरको वरीवरी यसरी सिमेन्टको र कंक्रिटको प्रयोग गरियो कि जसले यो स्थालको मौलिक सन्दरता नै लगभग गायव भैसकेको छ । बर्ष ७८ का स्थानिय टोपीलाल शर्मा आफुहरुले पहिले देखेको र अहिले देखेको डिग्रे मन्दिर निकै फरक भएको बताउछन् । आफुहरुले थाहा पाउदाँ पहिला यही एउटा मुल मन्दिर भएको बताउदै शर्मा भन्छन् ‘त्यो बेला त मन्दिरको सुन्दरता नै फरक थियो । अब त्यस्तो रहे ।’
जथाभावी सिमेन्टको प्रयोग र मापदण्ड विपरित मनपरी संरचना थप्दा यतिबेला यो मन्दिर परिसर झट्ट ह्र्दा राम्रो देखिएपनि यसले यहाँको खास सुन्दरतामा भने नकरात्मक असर पारेको छ । यसमा शर्मा संगै अघिल्लो पुस्तालाई चिन्ता छ । तर योजनाविहिन भौतिक निर्माणले यस क्षेत्रको ऐतिहासिकता र गरिमामाथी ठेस पुर्याएको छ ।
यसरी विकासका नाममा विनासको मार्गतर्फ गैरहको डिग्रे मन्दिर मात्रै हैन । मुसीकोट नगरपालिका भित्रका अरु धेरै संरचनामा पनि यसरी नै जथाभावी निर्माण तथा पुनःनिर्माणको काम भैरहेको छ ।
मध्यपहाडी र राप्ती लोकमार्गको संगम स्थाल मुसीकोट ६ मा पर्ने शितलपोखरी पनि पुणः निर्माणको नाममा लोप हुनने अवस्थामा पुगेको छ । वरीपरीबाट आएको पानी जम्मा भएर बनेको यो सानो तर चिटिक्कको पोखरी अहिले नाम मात्रैको छ ।
यसलाई संरक्षण गर्ने र पानी भरेर पर्यटकिय स्थाल बनाउने भनेर तिन बर्षअघि नगरपालिकाको अगुवाईमा पुनःनिर्माणको काम त गरियो तर यहाँ पानी जम्मा हुन सकेन जसले गर्दा यतिबेला नामले शितलपोखरी भनिएपनि पोखरी भने देख्न सकिन्न । यसमा पनि स्थानियले दुःख जनाएका छन् ।
त्यस्तै मध्यपहाडी लोकमार्गको छेवैमा रहेको सुन्दर गाउँ हो साँख । यहाँको महत्वपुर्ण निधी हो गाउँको मध्य भागमा रहेको दह । साँख दहका नामले परिचित यो पनि सिमेन्ट र कंक्रिटले मानव निर्मित जस्तै बन्न थालेको छ ।
बितेको दुईबर्षयता दह संरक्षणका नाममा चारैतिर सिमेन्टको पर्खाल लगाईएपछी यसले पनि आफ्नो मौलिक स्वरुप गुमाउने अवस्थामा पुगेको छ । साँखका जेष्ठ नागरिक पुर्णबहादुर बुढालाई यो काम चित्त बुझेको छैन ।
चारैतिरको बर्खे भल जम्मा भएर बनेको यो दह वरीपरी पर्खाल लगाएपछी भल जम्मा हुन कम हुदाँ पानी घट्दो क्रममा छ भने दह पनि पहिले जस्तो सुन्दर नभएको बुढाको भनाई छ । अहिले विकास भनेर विनास गरेको आरोप लगाउदै बुढा प्रश्न गर्छन् ‘सिमेन्ट लगाउने बाहेकको अरु पनि त विकल्प थियो होला नी, तर किन यसो गरियो ?’
मुसीकोटकै नगरपालिका कै वडा नं. ५ को ऐतिहासिक मुसीकोट दरवार क्षेत्रमा पनि विकासका नाममा ठुलो बजेट थोपरिएको छ । साविक जिल्ला विकास समिति र जिल्ला वन कार्यालय देखी हालको प्रदेश र स्थानिय सरकारले बिभिन्न संरचना बनाउने नाममा यहाँ ठुलो लगानी गरेपनि यस स्थालको खास ऐतिहासिकता भने जोखिममा परेको छ ।
कुनैबेला स्थानियका लागी घुमघामको केन्द्र बन्ने गरेको मुसीकोट दवरवार क्षेत्रमा रमाउनेको संख्या घटेको छ तर लगानी भने बढ्दो छ । अहिले सम्म के–कति लगानी गरियो भन्ने यकिन तथ्यांक नभेटिएपनि यहाँ गरिएको लगानीले यहाँको ऐतिहासिकता जोगाउन नसकेको स्थानिय तिलकबहादुर मल्ल बताउछन् ।
तत्कालिन बाईसे–चौबिसे राजाको दरबारका लागी मुसी नामकी एक चेलिलको रोजाईमा परेपछी यहाँ दरबार बनाईएको भन्ने ऐतिहासिक कथ्य रहेको छ । अहिले यहाँ मुुसीको काल्पनिक प्रतिमा राखिएको छ भने, शिव मन्दिर तथा अन्य विभिन्न संरचना बनाईएको छ । तर यहाँको खास ऐतिहासिकताको भने संरक्षण हुन सकिरहेको छैन ।
यसका साथै मुसीकोट नगरपालिका– १ खलंगाको बजारमा रहेको कालिका मान्दिर र परिसर क्षेत्रमा पनि अत्याधिक सिमेन्ट र संक्रिटको प्रयोग गरिएको छ । यसले गर्दा यहाँको मौलिक स्वरुप र सुन्दरतामा गम्भिर असर परेको स्थानिय कर्णबहादुर ओलीलले बताए । बिना योजना जथाभावी यसरी सिमेन्ट लगाउदाँ मन्दिर क्षेत्र कुरुप बनेकोमा ओलीको चिन्ता छ ।
मुसीकोटका उल्लेखित ऐतिहासिक एवम् धार्मिक पर्यटकिय स्थालमा विकासका नाममा भएका अबाञ्छित गतिविधीबारे मुसीकोट नगरपालिकाले आगामी दिनमा यस्तो हुन नदिने बताएको छ । नगर प्रमुख महेन्द्र केसीले अघिल्लो सरकारद्धारा योजना विहिन तरिकाले गरिएका यस्ता कामलाई निरन्तरता नदिने बताएका छन् ।सम्पदाहरुको संरक्षण र विकास गर्ने काममा विगतमा केही ढंग नपुगेकै स्विकार्दै नगर प्रमुख केसी भन्छन्, ‘अगामी दिनमा हामी यसलाई सुधार गरेर अगाडी बढ्छौ ।’ नगर क्षेत्रभित्र रहेका पर्यटकिय स्थालहरुलाई आवश्यक विकास र विस्तार गरी प्रचार-प्रसार गर्न गुरुयोजना बनाएर त्यसका आधारमा काम गर्ने नगरपालिकाको योजना रहेको पनि नगर प्रमुख केसीले बताएका छन् ।
कर्णाली क्षेत्रका ठुला तालहरु मध्येको एक रुकुम पश्चिमकै स्यापू ताल पनि भौतिक विकासको अतिक्रमणबाट अछुतो रहन सकेको छैन । तालको चारैतिर सडक पु¥याउने हुटहुटीले चलाइएको डोजरका कारण तालको सुन्दरतामा त असर गरेको छ नै संगसंगै जोखिम पनि बढाएको छ ।
जिल्लाको प्रमुख पर्यटकिय सम्पदाका रुपमा रहेको यो तालको प्राकृतिक सुन्दरतालाई कायम राखेर संरक्षण गर्न नसकेको स्थानिय दरीभान पुरीको भनाई छ । यस बिषयमा गाउँपालिका अध्यक्ष जनककुमार बाठाले पनि विगतको सरकारलाई नै यसको दोस देखाउदै आगामी दिनमा दिगो र प्रभावकारी योजना बनाएर लाग्ने प्रतिवद्धता जनाएका छन् ।
हाम्रा प्राचिन एवम् ऐतिहासिक धरोहर र सम्पदा संरक्षणमा भन्दा यसमा सरकारी लगानी गरेर फाईदाँ लिने गलत अभ्यास सुरु भएपछि रुकुममा मात्रै होईन देशभरी नै पछिल्लोपल्ट यस प्रकारका गैरकाननुनी कामहरु भैरहेको सम्पदा विज्ञ आलोक तुलाधर बताउछन् । प्राचिन स्मारक ऐन २०१३ अनुसार कुनैपनि सम्पदामाथी आत्यावश्यक भएमा विज्ञको सुझाव लिएर मत्रै गर्न मिल्ने व्यवस्था भएको तुलाधरको भनाई छ । नेपालमा विस्तारै सम्पदा संरक्षणमा चेतनाको विकास भएको भन्दै तुलाधरले यसलाई अब शहरबाट गाउँसम्म पुर्याउन जरुरी रहेको कुरामा जोड दिएका छन् । उनि भन्छन्, ‘हामीसंग भएका ऐन, काुनन र निती, निर्देशिकाभित्र रहेर नै यस्ता गतिविधीहरु गरिनुपर्छ । यसमा स्थानिय सरकारको जागरण जरुरी छ ।’
त्यस्तै सम्पदा संरक्षणका अभियन्ता तथा पत्रकार दामोदर न्यौपानेले पनि सम्पदा संरक्षणको बिषय निकै महत्वपुर्ण बिषय भएकाले यसमा स्थानिय सरकार र सरोकारवाला गम्भिरताका साथ लाग्नुपर्ने बताउछन् । न्यौपानेका अनुसार कुनैपनि प्राचिन एवम् प्राकृतिक सम्पदामाथी सिमेन्ट र कंक्रिट जस्ता पनः प्रयोग नहुने निर्माण सामग्रीको प्रयोग गरेर त्यसको मौलिक निर्माण प्रविधी, स्वरुप र सामग्री बिगार्न पाईदैन ।
प्राचिन स्मारक ऐन २०१३ संग नबाझिनेगरी स्थानिय सरकारले स्थानिय कानुन समेत बनाउन पाउने व्यवस्था भएपनि रुकुम पश्चिमका कुनैपनि स्थानिय तहले यसप्रकारका कानुन बनाएका भने छैनन् ।