हिमाली भेगमा मौलिक शैलीका घरहरुको संरक्षणमा चुनौती

हिमाली भेगमा मौलिक शैलीका घरहरुको संरक्षणमा चुनौती

"3" Comments

रुकुम पूर्व । ढुङ्गैै–ढुङ्गाको फुक्का गारो, बिच्च–बिच्चमा काठ अनि कमेरो माटोलाई पिटेर बनाईएका बलिया छत सहितका दुई थारे मौलिक घर । भुईतलामा पशु–चौपाया, पहिलो तलामा आवास अनि छतमा छन् मकै राखिएका ढोक्राहरु । यसप्रकारका एकनासे घरले सजिएका छन् हिमाली जिल्ला रुकुम पूर्वको भुमे र पुथा उत्तरगंगा गाउँपालिकाका अधिकांश गाउँहरु।

पुथा उत्तरगंगा–१ मैकोटका ८० बर्षिय बद्री पुनले ७० बर्षअघि बनाएको आफ्नो घरको कोठाचोटा देखाए । उनले त्यसको वर्णन गरे । गाईवस्तु बाध्ने भुईतला जस्लाई मगरखाम भाषामा अर्बुं भनिन्छ । अनि त्यसपछीको पहिलो तला जसलाई अर्मीबास भनिन्छ र छतलाई चाही गगला भनिने पुनले बताए । गगलामा राखिएको मौलिक भकारी बारे उनले भने, ‘यो हाम्रो भाषामा ढोक्रा हो । यसमा बर्खे खेती खासगरी मकै राखिन्छ । असोजमा भित्र्याएको मकै यि ढोक्राहरुमा पुस देखी निकाल्न सुरु गरेको बैशाखसम्म सकिन्छ ।’

आफु १० बर्षको हुदाँ २०१८ सालतिर निर्माण गरेको यो घर अहिले पनि उस्तै नयाँ लाग्ने गरेको भन्दै पुनले नोष्टाल्जिक हुदै भने, ‘हाम्रा बा–आमाले यही घरमा आफ्ना लागी सपना देखे, हाम्रालागी भविष्यको योजना बुने । उनिहरु बितेर गए तर, घर अहिले पनि उस्तै छ ।’  हरेक मान्छेको जीवन कहानी ऊ हुर्केको घर संग जोडिएको हुन्छ । घरबारे बताउदैँ पुनले आफ्नो जीवनकथा पनि सुनाए । साथै उनले यसप्रकारका घरहरुको आयु करिब सय बर्ष हुने पनि जनाए ।

यहाँका यि घरहरुको आफ्नै मौलिक बनोट देख्न पाईन्छ । प्राय ठाउँमा यसप्रकारका थारे घरहरु रहेका छन् भने पुथाउत्तरगंगाको तक, सेरा, कोल र राङसी तथा भुमेको काक्री, लुकुम, खाबाङ, महत र मोरबाङ लगाएतका स्थानमा माटो गारोले बनेका आधा ढुंगाको छानो र आधा माटोका छत भएका घरहरु देख्न सकिन्छ । महतकी बिरमाया बुढाले भनिन्, ‘हाम्रा घरमा चाही ढुंगा-माटोको गारो लगाएर उठाउने अनि अगाडीको भागमा छत राखेर पछाडीको भागलाई चाही अरु एक तला उठाई ढुंगाको छानो हाल्छौं । तर यस्ता घरहरुको छतमा पनि ढोक्रा भने सबैको घरमा हुन्छ । एकैप्रकारको बनोट भएका घर र त्यसमाथी राखिएका ढोक्राले यहाँका गाउँहरु सुन्दर देखिन्छन् ।

पुथा उत्तरगंगा–२ पेल्माका कमल सिर्पालीले गाउँ नजिकै रहेका खानीबाट ढुंगा ल्याएर दियार सल्लाको काठ राखी घर बनाउने गरेको बताउदै भने, ‘छत बनाउदाँ मुल काठ राखेपछी चिर्पट फजारेर माटो राखिन्छ अनि माथीमाथी चाही कमेरे माटो राखेर काठको जोडदार मुङग्राले पिटेर बलियो छत तयार गरिन्छ । यसरी बनाईएको छत बर्सौसम्म टिक्ने सिर्पालीको भनाई छ । उनले थपे, ‘यो त दुई–तिन पुस्ता टिक्छ । जाडोमा न्यानो र गर्मिमा शितल हुने यि घरहरु नै हाम्रा सम्पती हुन् ।’

चिटिक्क संग बनेका मौलिक घरहरु सुन्दर पनि देखिने भन्दै पेल्माका डकर्मी बलमान पुनले घरको आकार हेरेर एउटा घर अहिले निर्माण गर्न ५ देखी ८ लाखसम्म खर्च हुने बताए । ‘पहिलो जस्तो काठ प्रसस्त पाउदैन । ज्याला पनि महंगो छ । यसकारण खर्च पनि बढेको छ । उनले भने, ‘बितेको एक दशकयता घर बनाउने खर्च लगभग दोब्बर नै भयो ।’ पछिल्लो समय घर निर्माणका लागी आवश्यक पर्ने ढुंगा–माटो र काठपातको पनि अभाव हुन थालेको भन्दै यस भेगका नागरिक नयाँ घर बनाउन सजिलो नभएको अनुभव सुनाउछन् । पुथा उत्तरगंगा–४ अर्जलका वडा अध्यक्ष सुरबहादुर विकले भने, ‘जनताको आम्दनी घट्दो र खर्च बढ्दो भएका कारण नयाँ घर बन्ने क्रम केही समययता कम भएको छ ।’

स्थानिय सामग्री र जनशक्तिको प्रयोग गरी बनाईएका मौलिक घर बनाउने शिल्पी भएका सिकर्मी र डकर्मीको सिप हस्तान्तरण हुन सकिरहेको छैन । भुमे–५ की भारती नेपालीले मौलिक सिप पुस्तान्तरण हुन नसक्दा मौलिकता मासिने जोखिम बढेको बताईन् । उनले भनिन्, ‘घर बनाउने मिस्त्री सजिलै पाउन गाह्रो छ । धेरै जसो बृद्ध भैसके । नयाँले सिक्न चाहेनन् ।’

मौलिकता जोगाउन धौ–धौ
मौलिक घर रुकुम पूर्वको ग्रामिण सुन्दरता हो । तर यस प्रकारका घरहरु बनाउने शैली भने विस्तारै फेरिदै जान थालेको छ । मैकोटका विष्णु पुनले एक दशकअघि आफुहरुले गाउँमा टिनको प्रयोगलाई निरुत्साहित गर्न गरेको प्रयासले स्थानिय सरकार आएपछी निरन्तरता नपाएको गुनासो गरे । ‘हाम्रा गाउँघर पुग्ने मान्छेलाई लोभ्याउने भनेका हाम्रा यि घरहरु पनि हुन् । तर अहिले त टिन अनि ईटा र सिमेन्टको समेत प्रयोग हुन थाल्यो । र टिनको छानो भएका घरहरु बन्न थाले ।’ उनले भने, ‘सरकारले बेलैमा यसको संरक्षणका लागी योजना नबनाउने हो भने केही बर्षमा नै यस्ता पुराना घरहरुको निशाना मात्रै बाँकी रहनेछ ।’ मौलिक शैलीको सट्टा नयाँ शैली अपनाउदाँ केही महंगो पर्ने भएपनि छिटो–छरितो हुने भएकाले यसप्रतिको आकर्षण बढिरहेको विष्णु पुनको भनाई छ ।

हिमाली भेगका यि परम्परागत घरको दोस्रो अर्थात अर्मिबासमा नै स–परिवारका लागि भान्सा र बास बस्ने ठाउँ हुन्छ । पहिलो संयुक्त परिवार हुदाँ पनि सबै एकै तलामा खाने र अगेना छेउछाउमै लहरै लागेर सत्ने घरको प्रकार हुने गरेको मैकोटका बिरेन्द्र बुढाले जनाए । समयक्रमको विकास संगै मान्छेहरु छुट्टाछुट्टै कोठा प्रयोग गर्ने शैली थालेपछी पनि परम्पपरात घरको आन्तरिक संरचनामा तलमाथी हुन थालेको बुढाको भनाई छ । ‘स–परिवार संगै खान–बस्न पछिल्लो पुस्तालाई असहज हुन थालेपछी कोठा–कोठा बनाउन थालियो ।’ उनले भने, ‘भित्र कोठा बनाएर पनि त मौकिल शैलीमै घर बनाउन सकिन्छ ।’

यहाँका अधिकांश गाउँका घरहरु एक–अर्का संग जोडिएका हुन्छन् । जसले गर्दा एउटा घरको छत अर्को घरको आगन हुन्छ । टाढाबाट हेर्दा सुन्दर देखिएपनी गाउँभित्र पस्दा भने नयाँ मान्छेर्लाई केही असहज हुने भन्दै मैकोटका युवा वुद्धिजीवी कर्मसही घर्तीले परम्परागत घर भएका गाउँहरुको संरचनामा केही फेरवदल आउन थालेको बताए । ‘नयाँ पुस्ताले नयाँ तरिकाले घर बनाएर बस्न चाहनु स्वभाविक हो । तर यसकै बिचबाट पनि मौलिकता कसरी बचाउन सकिन्छ भन्ने चाही चुनौतीका भएको छ ।’ उनले भने, ‘मौलिक घरको आर्किटेक्ट बचाउदै यसलाई समयानुकुल बनाउनुपर्छ ।’

बितेको एक दशकयता सडकको पहुच बढेसंगै घरको मौलिक संरचनामा असर पर्न थालेको पर्यटन अभियन्ता लजिम पुनले बताए । उनले भने, ‘सजिलो पनि भयो । कहाँ माटो खाजेर थारो बनाउनु भन्ने भएरै टिनको प्रयोग थालेको जस्तो लाग्छ ।’ साथै गउँघरमा पहिले जस्तो ढुंगा पाउन छाडेकाले पनि आयातित माल–मेटिरियलको प्रयोग गरेर घर बनाउन थालिएको लजिम पुनले थपे ।

विस्तारै गाउँबाट श्रमशक्ती पलायन हुन थालेपछी छिटो-छरितो अनि कम खर्चमा घर बन्ने देखेपछी टिनको प्रयोग बढेको भन्दै मैकोटकै भरतकुमार पुनले मौलिक शैलीका घर बनाउन स्थानिय सरकारले प्रोेत्सहान गर्नुपर्ने र आवश्यक अनुदान समेत दिनुपर्ने सुझाव दिन्छन् । ‘संरक्षण गर्ने भनेर मात्रै हुदैन । सर्वसाधारणले त जे सहज हुन्छ त्यही नै गर्छन् । जो अस्वभाविक हैन । यसलाई जोगाउने जिम्मेबारी सरकारको हो ।’ उनले भने ।

मौलिकता बचाउने बिषयमा आफुहरु चिन्तित भएको भन्दै पुथाउत्तरगंगा गाउँपालिका अध्यक्ष पुणिराज घर्तीले यसका लागी आफुहरुले ठोस योजना बनाएर लाग्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘मौलिक शैलीका घरहरुको संरक्षण गरेर पर्यटकिय आकर्षणलाई कायम राख्नुपर्छ भन्नेमा हामी दृढ छौ । अध्यक्ष घतीले भने, ‘यसका लागी के गर्न सकिन्छ हामी आवश्यक योजना बनाएर कार्यन्वयनमा लैजान्छौ ।’

लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुम पूर्व मगरखाम भाषीको बाहुल्यता भएको जिल्ला हो । यहाँको जीवनशैली र मौलिक भाषा, कला संस्कृती नै पर्यटनको प्रमुख आधार हो भन्दै पर्यटनकर्मी लजिम पुनले यसमा सरकार र सरोरकावालामा जागरण आउनुपर्ने कुराले जोड दिए । उनले भने, ‘पर्यटक प्रकृती संगै हाम्रो जीवनशैली संग अन्तरंग हुन आउने हुन् । यसको मौलिकता नमासिनेगरी समयानुकुल परिवर्तन गरेर अघि बढ्नुपर्छ । पछिल्लो पुस्तालाई समेत हाम्रो ईतिहास बारे जानकारी हुनुपर्छ ।’

ईकान्तिपुर डट कमबाट साभार ।


3 thoughts on “हिमाली भेगमा मौलिक शैलीका घरहरुको संरक्षणमा चुनौती

  1. Thanks for the auspicious writeup. It if truth be told was a leisure account it. Look complex to more added agreeable from you! By the way, how can we keep in touch?

  2. You really make it appear really easy together with your presentation but I in finding this topic to be actually something which I feel I’d never understand. It kind of feels too complex and very extensive for me. I am looking forward in your subsequent publish, I?¦ll try to get the cling of it!

Leave a Reply

Your email address will not be published. Required fields are marked *