सरकारले रूकुम पूर्वमा फलाम खानी उत्खनन् गर्न टेन्डर खुलाउने

सरकारले रूकुम पूर्वमा फलाम खानी उत्खनन् गर्न टेन्डर खुलाउने

"0" Comments

रुकुम पूर्व । रूकुम पूर्वमा रहेको फलाम खानी उत्खनन् गर्न सरकारले टेन्डर खुलाउने भएको छ । जिल्लाको भूमे गाउँपालिका–३ स्थित झुम्लाबाङ क्षेत्रमा फलाम खानी भएको तथ्य खुलेपछि उत्खननको लागि प्रक्रिया अघि बढाउन थालिएको हो ।

उक्त क्षेत्रमा ठूलो मात्रामा फलाम खानी भएको प्रारम्भिक अध्ययनका आधारमा विभागले गत वर्षदेखि ६ वर्ग किलोमिटर क्षेत्रलाई आधार बनाएर सर्भे गर्ने तथा परीक्षण गर्ने काम गरेको थियो ।

विभिन्न चरणमा गरिएको अध्ययन र नमूना परीक्षणबाट खानी रहेको पुष्टि भएपछि उत्खननको लागि टेन्डर आह्वान गर्न थालिएको विभागले जनाएको छ । लगानी सम्मेलनको पूर्वसन्ध्यामा विभागले देशकै ठूलो फलाम खानी उत्खननको लागि टेन्डर खुलाउने भएको हो ।

सरकारले वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनमा यो खानी क्षेत्र सोकेस गर्दैछ । खानी तथा भूगर्भ विभागले उल्लेख गरिएको स्थानमा ठूलो खानी रहेको र सम्बन्धित खानीमा फलामको मात्रा तुलनात्मक रूपमा धेरै देखिएपछि थप प्रक्रिया अघि बढाउन थालेको जनाएको छ ।

विभागका सिनियर डिभिजनल जियोलोजिस्ट नारायण बाँस्कोटाका अनुसार ६ वर्ग किलोमिटरलाई मात्रै आधार बनाउँदा २० करोड टन फलाम रहेको अनुमान गरिएको छ । विभागले ड्रिलिङ नगरी (खानी क्षेत्रको माथिल्लो भागको) ११ सयभन्दा बढी नमूना संकलन गरेर परीक्षण गरिरहेको छ । यी नमूनामध्ये एक सयको परीक्षण सकिसकेको उनले जानकारी गराए । यस आधारमा फलामको मात्रा राम्रो देखिएको पुष्टि विभागले गरेको छ ।

एक सय नमूना परीक्षणको क्रममा ४५ प्रतिशत औसत ’टोटल फी’ देखिएको छ । यो भनेको सम्बन्धित क्षेत्रमा रहेको फलामे ढुंगामा रहेको फलामको मात्रा हो । बाँस्कोटाले नेपालको परीक्षणमा ४५ प्रतिशतको टोटल फी धेरै राम्रो भएको बताए । उनका अनुसार नवलपरासीको धौवादीमा ३५÷३६ प्रतिशत मात्रै टोटल फी छ ।

भारतको सबभन्दा ठूलो फलाम खानी क्षेत्र झारखण्डमा ५० प्रतिशतसम्म यस्तो मात्रा छ। ३० प्रतिशत माथिको मात्रा देखियो भने खानी सञ्चालन गर्न उपयोगी मानिन्छ । जिल्लाको खानीको हकमा माथिल्लो भागमा नै ४५ प्रतिशतभन्दा धेरै फलामको मात्रा देखिएको कारणले बीच भागमा अझ धेरै फलामको अनुपात हुन सक्ने सम्भावना देखिन्छ ।

नेपालमा धेरै ठाउँमा फलाम खानी रहेको प्रारम्भिक अनुमान रहे पनि विस्तृत अध्ययन गर्न सकेको छैन। फलामखानी खोजतलासी गर्नका लागि हालसम्म २५ वटा लाइसेन्स जारी गरिएको छ । त्यस्तै, फलामखानी उत्खननको लागि एउटा मात्रै लाइसेन्स दिइएको छ । सेतोपाटी

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *