रुकुमको एउटा यस्तो गाउँ : जहाँ छन् घरघरै सरकारी जागिरे

रुकुमको एउटा यस्तो गाउँ : जहाँ छन् घरघरै सरकारी जागिरे

"0" Comments

रुकुम पश्चिम । जिल्ला सदरमुकाम नजिकैको गाउँ हो माछमी । पहाडको फेदीमा र सानीभेरी नदीको समिपमा रहेको मझौला फाट निकै उर्वर छ । बिभिन्न खाद्यान्न बाली र तरकारीको राम्रो उत्पादन हुने यो गाउँको अर्को परिचय हो, निजामती गाउँ ।

मुसीकोट नगरपालिका–३ मा पर्ने माछमीका ८३ बर्षिय घनु खत्रीका ४ छोरा र एक छोरी छन् । उनिहरु सबै सरकारी जागिरमा छन् । जेठा छोरा रमेश अर्थ मन्त्रालयमा सह-सचिब, माईला दिलिप राजश्व उप–सचिव, साईला कृष्णमान रुकुम अदालतमा करारमा जागिरे र कान्छा दिपक राजश्वमै शाखा अधिकृतका रुपमा कार्यरत छन् । साथै छोरी शुसिला पनि नापी विभागमा नायव सुब्बाका रुपमा काम गरिरहेकी छिन् ।

घनुको परिवार त एक उदाहरण हो । करिब १ सय १० घरधुरी रहेको माछमीका लगभग एक सय बढी घरमा कोही न कोही कुनै न कुनै पदमा स्थाई जागिरे छन् ।

सदरमुकाम नजिकै भएकाले पढ्नुपर्छ भन्ने चेतका कारण लोकसेवामा भिडेर सरकारी जागिर खाने चलन बढेको घनु खत्री बताउछन् । छोराछोरीलाई विद्यालय पठाउनुपर्छ भन्ने त्यो बेलाको चेतनाकै कारण उनिहरुले बुझ्दै गएर लोकसेवाको परिक्षा दिई जागिरे भएको घनुको बनाई छ । उनि भन्छन्, ‘हामीले त घाँस–दाउरा र खेती–किसानी गर्यौं । तर छोराछोरीलाइ पढाउनुपर्छ भन्ने थाहा पाएर स्कुल पठायौं । जागिर खोज्ने क्रममा उनिहरु सरकारी जागिरे भए । अहिले खुसी लाग्छ ।’

आजभन्दा ३३ बर्षअघि अर्थात २०४६ सालमा लोकसेवामा नाम निकालेर जनस्वास्थ्य कार्यालय जाजरकोटमा मुखिया पदबाट सरकारी सेवामा प्रवेश गरेका घनुका जेठा छोरा रमेशले पनि सदरमुकाम नजिक भएकाले पढ्नुपर्छ भन्ने चेतनाको विकास भएकैले आफुहरु त्यो बेला नियमित स्कुल जान पाएको र जागिरको खोजी गर्दा लोकसेवा आयोगको विज्ञापन अनुसार प्रतिस्पर्धामा भाग लिएर निजामती सेवामा प्रवेश गरेको बताउछन् ।

मुखियापछी २०५२ मा लेखापाल, २०५५ मा शाखा अधिकृत, २०६५ मा उप-सचिव हुदै २०७२ देखी हाल नेपाल सरकारको सह-सचिव रहेका रमेशले जागिरे जीवन सुरु गर्दाताकाको सम्झना गर्दै भन्छन्, ‘त्यो बेला गाउँमा नपढेकाहरुले खेती–किसानी गर्थे भने, एसएलसी सम्म पास गरेकाहरु चाही कोही निजामती सेवा त कोही शिक्षक हुन खोज्थे । विस्तारै त्यो क्रम गाउँभरी फैलियो । र जागिर खान पढ्नुपर्छ भन्ने भएर सबैले पढ्न थाले र जागिर पनि गर्न थाले ।’

एकले अर्काको सिको गर्दै जागिरमा लागेका माछमीका अधिकांशको रोजाई सरकारी सेवा हुन गयो । सदरमुकामका बिभिन्न सरकारी कार्यालयमा सहयोगी देखी कोही हुलाकी त कोही मुखिया, कोही खरदार त कोही सुब्ब अनि कोही चाही कार्यालयका हाकिम समेत हुन थालेपछी यो चलन विस्तारै छिमेकी गाउँहरु सन्चौर, रातामाटा र खलंगा अनि सेरिगाउँसम्म पनि फैलियो ।

केही बर्षअघि सम्म सदरमुकामको भुमी सुधार कार्यालयमा सहयोगीका रुपमा जागिर गरेका स्थानिय नदिराम खत्रीले पनि आफ्ना ४ छोरा र २ छोरीलाई जागरि गर्दै पढाए । नदिरामका ६ सन्तान अहिले सबै निजामती सेवामा छन् । जेठा खिमबहादुर कोष तथा लेखा नियन्त्रक भएर गतबर्षमात्रै सेवा निवृत्त भए भने, माईला नयन लेखापाल, साईला देवबहादुर र कान्छा रामबहादुर लेखा अधिकत पदमा कार्यरत छन् । त्यस्तै जेठी छोरी शारदा शिक्षिका छिन् भने कान्छी चाही नायव सुब्बाका रुपमा काम गरिरहेकी छिन् ।

आफ्ना सन्तान बिभिन्न पदमा देशका बिभिन्न कार्यालयमा रहेर सरकारी सेवा गरिरहेकोमा नदिराम गर्व गर्छन् । उनि भन्छन्, ‘त्यो बेला अहिले जस्तो सजिलो थिएन । दिनभरी घरबारीको काम गरेर रातभरी दियालोको झर्कोमा छोराछोरीले पढे । मेहनत गरेर सरकारी जागिरका लागी नाम निकाले ।’  छोराछोरी कमाउने भएपछी आफुले कार्यालय सहयोगीबाट राजीनामा दिएको बताउने नदिरामलाई अहिलेको यो विकास र परिवर्तण देखेर गदगद लाग्छ । त्यो बेला अहिलेको जस्तो सुविधा भएको भए आफ्ना सन्तानले झनै प्रगती गर्थे कि भन्ने आफुलाई लाग्ने गरेको नदिराम बताउछन् ।

त्यसैगरी माछिमीकै शेरबहादुर खड्काका चार भाई छोरा र एक छोरी गरी पाँच सन्तान छन् । जसमध्ये जेठा छोरा भुपेन्द्र खरदार, माईला छोरा नायब सुब्बा र साईला छोरा रविन नेपाली सेनामा कार्यरत् छन् । कान्छा छोरा र छोरीले पनि लोकसेवाको तयारी गरिरहेका छन् । कृषी पेशा गरिरहेका शेरबहादुरले आफ्नो चाहना अनुसार नै छोराछोरीहरु सरकारी सेवामा लागेकोमा खुसी व्यक्त गरेका छन् ।

निजामती सेवामा लागेर सरकारी जागिर गर्नुका पछाडी सबैका आ–आफ्नै कथा छन् । तत्कालिन समयमा घरखर्च टार्न सानै भएपनी सरकारी जागिर गर्नुपर्छ भन्ने मान्यताको विकास भएका कारण आफुहरु सरकारी सेवामा लागेको पूर्व कार्यालय सहयोगी स्थानिय रामबहादुर खड्का बताउछन् । घर देखी नजिकै जिल्ला सदरमुकाम भएका कारण यहाँका बिभिन्न सरकारी अड्डामा आफुजस्ता धेरैले सरकारी जागिर गरेको उनको भनाई छ ।

अग्रजहरु सबैले पढेर सरकारी जागिर खानुपर्छ भन्ने भएपछी सरकारी सेवामा प्रवेश गरेको हाल नापी विभागमा नायब सुब्बका रुपमा कार्यरत् शसिला केसी बताउछिन् । ‘बुबाआमाहरु खोतीपाती मै व्यस्त हुदाँ घाँस–दाउराका लागी उहाँहरुले गरेको जस्तो दुःख गर्न पनि नपर्ने र ईज्जत पनि हुने भएर हामी सरकारी जागरिप्रति आकर्षित भयौं।’ शुसिलाले भनिन् ‘सबैले सानो ठुलो नभनेर सरकारी जागिर चाही गर्नुपर्छ है भन्ने भएपछी हामीमा स्वभाविक दवाबका बढ्यो र गाउँभरी नै पढाईको माहोल बढ्दै गयो ।’

बेलैमा जागरि खाएर देश–विदेश पुगेका कारण यहाँ शिक्षाको स्तरपनि अरु ठाउँको तुलनामा धेरै छ । यसकारण सबैका घर–आगन सफा र चिटिक्क छन् । सरकारी सेवामा नलागेका र सेवा निवृत्त भएकाहरुलाई आगनको फुलबारी देखी खेतबारीको तरकारी र खाद्यान्नको कामले भ्याईनभ्याई हुन्छ । सिंचाई सुविधाको सहज पहुचमा भएको माछमी गाउँको माटो उर्वर छ भने यहाँका प्रायजसो मान्छे सबै सिर्जनशिल र मेहनती छन् ।

समयक्रमको विकास संगै विस्तारै सरकारी जाजगिरप्रति पछिल्लो पुस्ताको आकर्षण भने घट्दै जान थालेको छ । बढ्दो महंगी र भड्किलो जीवनशैलीका कारण अहिलेको पुस्ता सरकारी जागिर भन्दा व्यापार व्यवसाय अथवा वैदेशिक रोजगरातर्फ आकर्षित हुन थालेको स्थानिय युवा नवराज खड्का बताउछन् ।

बितेको तिनबर्ष लगातार खरदार र नायब सुब्बाको तयारी गरेर नाम ननिस्किएपछी अहिले आफुले पढ्न नै छोडेको उनको भनाई छ । नवराज भन्छन्, ‘घरमा जसरी पनि सरकारी जागिर गर्नुपर्छ भन्ने दबाब थियो । सकेको तयारी पनि गरियो तर, सफल हुन सकिन । अब त खरदार र सुब्बाको तलबले घर बाहिर खटिदा दैनिक खर्च नै नचल्ने अवस्था आयो यसकारण सरकारी जागिर खाने आशा मरेर गयो ।’ अब सरकारी जागिर भन्दा कुनै व्यापार–व्यवसायमा लाग्ने नवराजको योजना छ ।

अहिले भने गाउँमा नवराज जस्ता धेरै युवाहरु सरकारी जागिरमा भविष्य देख्दैनन् । सह–सचिव रमेश केसीले सरकारी जागिर गरेर धनी हुने सपना देख्नेहरुले यस क्षेत्रमा हात नहाल्दा नै राम्रो हुने सुझाव दिन्छन् । ईज्जत र प्रतिष्ठाका साथ देश र जनताको सेवा गर्ने हो भने सरकारी जागिर नै एउटा महत्वपुर्ण ठाउँ भएको दाबी रमेशको छ । उनि भन्छन्, ‘जागिरका क्रममा सरकारले तोकेको जिम्मेवारी र खटाएको ठाउँमा गएर प्रमुख जिल्ला अधिकारी देखी बिभिन्न महत्वपुर्ण पदमा रहेर सेवा गरियो । यो मेरा लागी ठुलो अवसर हो । यस क्रममा बिभिन्न तिता–मिठा अनुभवहरु संगाल्न समेत पाईयो । समग्रमा म र मेरो परिवार यसबाट पुर्ण सन्तुष्ट छौ ।’

पछिल्लो समय सरकारी सेवामा रहेर जनताको सेवा होईन शाषण गर्ने मनसाय राख्ने कर्माचारी पनि थुप्रै भएको र यसले गर्दा सरकारी सेवाको वद्नाम भएको तर्फ संकेत गर्दे हाल लेखा अधिकृतमा कार्यरत रामबहादुर केसीले आफ्नो गाउँबाट सरकारी जागिरमा रहेको कुनैपनि व्यक्तिले त्यस्तो अवान्छित काम नगरेको दावी गर्छन् । सबैले आफुले पाएको जिम्मेवारी इमान्दारितका साथ निभाएको बताउदै रामबहादुर पनि आफुहरु जागिर खाएर पैसा कमाउने भन्दा पनि सेवाभावले काममा डटेको बताउछन् ।

लोकसेवा आयोगले निर्धारण गरेको मापदण्ड तथा पाठ्यक्रमका बिषयमा अरुलाई जानकारी गराउदै सरकारी सेवामा कसरी प्रवेश गर्न चाहनेका लागी सहजिकरणको भुमिकामा पनि यहाँका अग्रज निजामती कर्माचारीहरु लागि परेका छन् । सरकारी जागिर भन्दा अरु क्षेत्रमा सम्भावना र भविष्य देखेर बरालिन लागेका पछिल्लो पुस्तालाई अघिल्लो पुस्ताले नाम, ईज्जत देशको सेवा गर्ने सवर्ण अवसरका रुपमा रहेको निजामती सेवामै लाग्न सुझाव दिन्छन् ।

मुसीकोट–३ का वडा अध्यक्ष दशरथ केसीले माछिमी गाउँका प्रायः जसो लेकसेवाको प्रतिस्पर्धा मार्फत सरकारी जागरिमा जोडिएको बिषय सबैका लागी प्रेरणाको बिषय भएको बताएका छन् । उनले अगामी दिनमा पनि यसलाई निरन्तरता दिन र नयाँ पुस्तालाई पनि सरकारी सेवामा आवद्ध बनाउन स्थानिय सरकारले उनिहरुलाई लोकसेवा तयारी गर्ने गराउने कुरामा सहयोग गर्ने योजना रहेको बताए । उनले भने, ‘सरकारी सेवामा यो गाउँको योगदानलाई कायम राख्न र देशमै बसेर जनताको सेवा गर्ने यो अवसरमा पछिल्लो पुस्तालाई जोड्नका लागी हामी योजना बनाएर लाग्छौ ।’

यही बिषयमा स्थानिय वुद्धिजीवी तथा पुर्व शिक्षक भिमबहादुर खत्रीले पनि निजामती सेवा प्रवेश गरेर माछिमीले हिजो देखी बनाएको परिचयलाई कायम राख्न जरुरी ठान्छन् । सरकारले निजामती कर्माचारीलाई समयानुकुल सेवा–सुविधामा वृद्धी गरेर यसप्रती आकर्षण बढाउन जरुरी रहेको उनको भनाई छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *