अस्थायी टहराका निर्माणका लागी असम्बन्धित व्यक्तिले पनि लिए पहिलो किस्ता
अस्थायी टहराका निर्माणका लागी असम्बन्धित व्यक्तिले पनि लिए पहिलो किस्ता
रुकुम पश्चिम । गत कार्तिक १७ गतेको भूकम्पका प्रभावितहरुले अस्थायी टहरा बनाउनेक्रम लगभग अन्तिम चरणमा पुगेको छ । वास्तविक पीडितहरु सुरक्षित स्थायी आवासको प्रतिक्षाामा छन् । तर, घर क्षति नै नभएकाहरुले समेत टहरा निर्माणका लागि पैसा लिएर लाभग्राही कायम हुन खोजिरहेको पाईएको छ ।
गत कात्तिक १७ गतेको भूकम्पपछि रुकुम पश्चिममा हालसम्म ३२ हजार ९ सय ९६ लाभग्राही कायम भएको तथ्यांक जिल्ला प्रशासन कायालयले प्रस्तुत गरेको छ । यसमध्ये अस्थायी आवास निर्माणका लागि पहिलो किस्तावापत रकम बुझ्नेको संख्या ३१ हजार २२ छ । हालसम्म ३० हजार ९ सय २४ वटा अस्थायी टहरा निर्माण भएको उक्त तथ्यांकमा उल्लेख छ ।
भूकम्पका कारण बस्ने ठाउँ नै नभएको भनेर लाभग्राहीले स्वःघोषणा गरेपछि अस्थायी टहरा बनाउन सरकारले पहिलो किस्ता वापत २५ हजार रुपैयाँ दिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए । तर, घरमा सामान्य क्षति भएकादेखि बस्नलायक घर भएकाहरुले पनि बिभिन्न बहानामा टहरा बनाएका छन् । उनीहरु अब दोस्रो किस्ता लिने ध्याउन्नमा छन् ।
आफुहरुको मुल घर नभएर गोठ भत्किएको बताउदैं मुसीकोट नगरपालिका–१२ जुम्लाबाङकी झुपा ओलीले त्यही घर भत्काएर दोस्रो किस्ताका लागी प्रक्रियामा जाने बताईन् । उनले भनिन्, ‘मुल घरमा सामान्य क्षती छ । गोठ चाही भत्किएको छ । यसकारण २५ हजारका लागी फारम भरेका हौ ।’ यसरी निर्माण गरेका टहरामा घाँसपात अन्य प्रयोजनका लागी प्रयोग गरिएको छ ।
तर वास्तविक भूकम्पपीडितहरुले भने दोस्रो किस्ता र सुरक्षित स्थायी आवासको प्रतिक्षा गरिरहेको मुसीकोट नगरपालिका–१४ लारिबाङका भुकम्पपीडित ओपिराम खत्री बताउछन् । ‘पहिलो किस्ता त जसोतसो पाईयो । अब दोस्रो किस्ता र स्थायी घर बनाउने त कहिले हो कहिले ।’ उनि भन्छन्, ‘टहराको बास कष्टकर छ । हामीसँग पैसा छैन । सकारले दिनेबारे केही जानकारी छैन ।’
त्यस्तै सानीभेरी गाउँपालिका–३ ज्यामिरेकी भुकम्पपीडित पार्वती डाँगीले भने आफुहरु चर्किएकै घरमा बसिररहेको बताईन् । ‘यत्रो परिवार अनि अन्नपात र सरसामान टहरामा अटाउदैन । अनि टहरामा आजकाल एकदम गर्मी पनि हुन्छ । यसकारण हामी त चर्किएकै घरमा बसिरहेका छौं ।’ उनले भनिन् ।
रुकुम पश्चिममा अस्थायी आवास निर्माणका लागि स्थानीय विपत कोषबाट अहिलेसम्म कुल ७७ करोड ५५ लाख ५० हजार रुपैयाँ लाभग्राहीसम्म पुगेको प्रशासन कार्यालयले बताएको छ ।
यो रकम लिनेमध्ये के सबै लाभग्राही कायम हुन लायक हुन् कि होईनन् भनेर गहिरिएर अनुमगन गर्नबाट भने पालिकाहरु चुकेका छन् । मुसीकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले लाभग्राहीले गरेको स्वःघोषणाका आधारमा नै पहिलो किस्ता दिएको बताए । ‘पहिलो किस्ता दिदाँ हतार पनि भयो । मापदण्ड पुगेकाहरु बाहेकले पाए–नपाएको बारे हामी अनुगमन गरेर वास्तविक लाभग्राहीका लागी मात्रै रकम पठाउछौं ।’ प्रमुख केसीे भने, ‘यदी असम्बन्धित व्यक्तिले लाभ लिएको भए कानुन अनुुसार नै अघि बढिन्छ ।’
पहिलो किस्तावापतको रकम बुझेकाहरुलाई बिभिन्न बहानामा दोस्रो किस्ता पनि दिने र लाभग्राही कायम गराएर अन्य सुविधा पनि उपलब्ध गराउन भैरहेको प्रयास बारे केही गुनासोहरु आएको प्रजिअ पन्तले बताए । ‘स्वःघोषणाको नाममा हुदंै नभएको तथ्यांक प्रस्तुत गरेर कसैले लाभ लिएको छ भने, ति लाभग्राहीको सुचीबाट त हट्छन् ।’ उनले भने, ‘तिनलाई सरकारी बाँकी सरह असुल उपर गर्नको लागी स्थानिय तहले छिटोभन्दा छिटो ताकेता गर्न अनुरोध गर्दछु ।’
स्वःघोषणा गरेकाहरुले टहरा बनाएको र जोखिमपूर्ण घर भत्काएको खण्डमा मात्रै दोस्रो किस्ता जाने र असली लभग्राही कायम हुने भनिएको छ ।
भूकम्पपीडितका नाममा अरुले पनि फाईदा लिन हानथाप गर्दा वास्तविक भूकम्पपीडितलाई झन् मर्का त पर्ने गैरसरकारी स.स्था महासंघ रुकुम पश्चिमका सचिव गोकर्ण खड्काले बताए । यस संगसंगै राज्यस्रोतको दुरुपयोग हुने र गलत प्रवृत्तिको विकास हुने अवस्था पनि आउछ । यसतर्फ सम्बन्धित पालिकाहरु र सरोकारवालाले ध्यान दिन जरुरी रहेको खड्काको भनाई छ ।
स्थानिय सरकार र प्रशासनको चरम लापरबाही उपज भएको परिणाम हो । सम्बन्धित सवैलाई आवश्यक कारबाही गरिनुपर्छ ।