विपतकै कारण चार हजार मेट्रिक टन खाद्यान्न अपुग

विपतकै कारण चार हजार मेट्रिक टन खाद्यान्न अपुग

"0" Comments

रुकुम पश्चिम  । जिल्लामा यो आर्थिक वर्षमा खाद्य सुरक्षित जिल्ला रहेन । गत कात्तिक १७ गते जाजरकोट जिल्लाको रामीडाडा केन्द्र विन्दु बनाएर गएको भूकम्प र भदौ १७ गते चलेको हावाहुरीको कारण खाद्यान्न क्षेत्रमा ठुलो क्षति भए पछि यो वर्ष जिल्लामा खाद्य सङ्कट हुने देखिएको हो ।

गत भदौ १७ गते चलेको हावाहुरीका कारण जिल्ला भर ४ हजार मेट्रिक टन मकै नष्ट भएको थियो । त्यस्तै भुकम्पको कारण घरहरु भत्किदा घरमा भण्डारण गरेर राखेको ५५ मेट्रिक टन खाद्यान्न पुरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । विपतकै कारण कृषि क्षेत्रमा पुर्याएको क्षतिका कारण जिल्लामा यो आर्थिक वर्षमा चार हजार मेट्रिक टन खाद्यान्न अपुग हुने जिल्ला कृषि विकास कार्यालयका प्रमुख मिनबहादुर केसीले जानकारी दिए ।

‘केही मकै भदौ महिनामा आएको हावाहुरीका कारण क्षति भएको छ, केही भूकम्पका कारण घरहरु भत्किदा पुरिएर निकाल्न नसक्दा क्षति भएको छ, गत कात्तिकमा गएको भूकम्प प्रभावित क्षेत्रमा कृषि खेती हुने स्थानहरुमा पनि अस्थायी आवास निर्माण भएकाले खाद्य सङ्कट हुने देखिएको हो ।’, प्रमुख केसीले भने ।

‘विगतका वर्षहरुमा जिल्लामा उत्पादन भएको कृषि उपज खाएर पनि २५ सय मेट्रिक टन बचत हुने गरेको उनले बताए । ‘विगतका वर्षहरुमा जिल्लामा उत्पादन भएको कृषि उपजहरु जिल्लामै खपत भएर पनि निर्यात हुने गरेको थियो, यो आर्थिक वर्षमा भने चार हजार मेट्रिक टन खाद्यान्न अपुग हुने अनुमान गरिएको छ । जिल्लामा उत्पादन भएको खाद्यान्नले यो वर्ष पुग्ने छैन ।’ प्रमुख केसीको भनाइ छ ।

भूकम्पकै कारण जिल्लामा कृषि क्षेत्रमा ६५ लाख रुपियाँको क्षति भएको थियो । भूकम्पका कारण मकै, दलहन बाली र मौरीका घारमा क्षति पुगेको थियो । ‘भदौमा हावाहुरीबाट जोगिएको थोरै भए पनि मकै भण्डारण गरेका थियौ, त्यो पनि भूकम्पले घर भत्किदा पुरियो, निकाल्न सकिएन, खेतीयोग्य जमिनमा हामीले टहरा निर्माण गरेका छौँ, यो वर्ष के खाने भन्ने पीर छ ।’, आठविसकोट नगरपालिका– १४ का स्थानीय दिनेश शर्माले भने ।

राहत स्वरुप दिएको चामल पनि सकिएको छ । केही दिन अगाडि भित्र्याएकोे गहुँको भरमा भूकम्प पीडितहरु रहेका छन् । सिँचाइ हुने ठाउँमा राम्रो गहुँ उत्पादन हुने भए पनि हिउँदे बालीको रुपमा रहेको गहुँ जिल्लामा अन्य बाली भन्दा कम फल्ने गरेको बाँफिकोट गाउँपालिका– २ वडा अध्यक्ष प्रकाश खत्रीले जानकारी दिए ।

‘राहत स्वरुप दिएको खाद्यान्न सकिएको छ । घरमा रहेको सबै अन्न पुरिएको थियो । परिवार पाल्नको लागि भए पनि पैसा कमाउन भारत जान बाध्य भएका छौँ । केही पैसा कमाउन पाए अन्न किनेर खानु हुन्थ्यो, दलबहादुर दमाईले भने ।

कर्णाली प्रदेशको सुर्खेत, सल्यान, रुकुम पश्चिम र दैलेख जिल्ला खाद्यान्नमा आत्मनिर्भर रहेकामा यो पटक रुकुम पश्चिममा खाद्य अपुग हुने भएको छ । जिल्लालाई खाद्यान्नमा आत्मनिर्भर बनाउनको लागि आधुनिक कृषि खेतीलाई बढवा दिनुपर्ने सरोकारवालाहरुको भनाइ छ । चैतमा हुने धान उत्पादनलाई बढवा दिने, उन्नत जातको मकै लगाउने र अन्य बाली लगाउन कृषकहरुलाई प्रोत्सान गर्नु पर्ने कृषक गोर्कण खड्काल बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *