रुकुम पूर्वको जिल्ला ट्राफिक कार्यालय टिनको टहरामा
रुकुम पूर्वको जिल्ला ट्राफिक कार्यालय टिनको टहरामा
रुकुम पूर्व । जिल्ला ट्राफिक कार्यालय रुकुम पूर्वले टिनबाट निर्माण गरिएको टहराबाट सेवा दिइरहेको छ । जिल्लाभरको सवारी सुरक्षाको महत्वपुर्ण जिम्मेवारी सम्हालेको ट्राफिक प्रहरी कार्यालयले टहराबाट सेवा दिईरहेको हो ।
कार्यालयको आफ्नै भवन नहुदाँ जिल्ला सदरमुकाम सिस्ने गाउँपालिका ५ स्थित कमल दह नजिकै डाडाँमा टिनको अस्थायी टहरामा कार्यालय र डियुटी स्टेशन छ । दुई बर्षअघि जिल्ला प्रहरी कार्यालय नजिकै भाडाको घरमा ट्राफिकको कार्यालय रहेको भएपनि त्यसपछी भने यही टहराबाट सेवा दिईरहेको ट्राफिक प्रमुख प्रहरी सहायक निरिक्षक मधु श्रेष्ठले बताए ।
‘मुस्किलले दुईवटा कोठा हुने यो टहरोमा भान्सा, कार्यालय र आवास छ ।’ उनले भने, ‘हामीलाई असुरक्षा त छ नै साथसाथै ट्राफिकको जिल्ला कार्यालय हो भन्न पनि लाज लाग्ने अवस्था छ ।’
स्थानिय सरकारले यही ठाउँमा ट्राफिकका लागी जग्गा उपलब्ध गराउछौं भनेपछी तत्काल अस्थायी रुपमा बसौं, पछी आफ्नै भबन बनाउन सुरु गरौला भनेर साविकको ठाउँबाट कार्यालयलाई यहाँ सारिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरिक्षक हरी भट्टराईले बताए । ‘यो जग्गा हाल व्यक्तिको नापीको जग्गा हो ।
तर सिस्ने गाउँपालिकाले यसलाई सरकारीकरण गर्ने र ट्राफिक कार्यालयको नाममा गरिदिने आश्वासनका दिएपछी टहरामा कार्यालय बनाईएको हो । यो प्रयास सफल हुन सकेको छैन ।’ उनले भने, ‘आशै–आशमा दुई बर्ष बिते यसरी त कसरी सेवा दिन सकिएला र ! यसकारण उपयुक्त विकल्पको खोजी जरुरी छ ।’
सडकमा डियुटी गर्नुपरेपनी अघिपछी कार्यालयमा आएर बस्दा बरु डियुटीमै ठिक जस्तो लाग्ने ट्राफिक प्रहरी सहायक हवल्दार दिनेश केसीले बताए । टहरामा बस्दा गर्मीमा निकै गर्मी र जाडोमा निकै जाडो हुने गरेको भन्दै उनले थपे, ‘हावा आउदाँ त टहरो नै उडाउला झै हुन्छ । हामी त डराएर बाहिर निस्किने गरेका छौ ।’
जिल्ला प्रहरी कार्यालयबाट करिब ३ सय मिटर टाढा उजाड डाडाँमा टिनको टहरामथी रहेको यो कार्यालय नजिकै मसान घाट समेत रहेको ट्राफिक प्रमुख श्रेष्ठको भनाई छ । ‘हामी पनि त मान्छे हौ । डर लाग्छ अनि डियुटी स्टेशन र कार्यालय सुरक्षित भए हुन्थ्यो भन्ने लाग्छ । तर यस्तो ठाउँमा बस्नुपरेको छ ।’ उनले दुःखेको गरे ।
प्रहरी सहायक निरिक्षकको नेतृत्वमा १० जनाको दरवन्दी रहेको जिल्ला ट्राफिक कार्यालयमा हाल १३ जना कार्यरत रहेको प्रमुख श्रेष्ठले जानकारी दिए । ‘हामी यहाँ ८ जना छौं । टहरामा आचकोच बसेर बसिरहेको छौ ।’ उनले भने, ‘गर्मिमा दिउँसो टन्टलापुर घामले पोल्छ, राती धेरैजना एकै ठाउँमा सुत्नुपर्दा उकुसमुस हुन्छ ।’
टहरामा रहेको ट्रफिक कार्यालयलाई भाडा तिरेरै उपयुक्त ठाउँमा सार्न सकिने जिल्ला प्रहरी प्रमुख डिएसी माधवराज खरेलले बताए । ‘यसरी त सेवा प्रवाह गर्नै सकिदैन । भाडा तिरेरै भएपनि उपयुक्त ठाउँमा ट्राफिक कार्यालय राख्नुपर्छ भन्ने कुरामा हामी गम्भिर छौ ।’ उनले भने, ‘यसमा हाम्रो तालुक निकाय र सरोकारवालको पनि सहयोग र सक्रियता जरुरी छ ।’
संघियतापछी साविक रुकुमबाट पूर्व भाग छुट्टै जिल्ला बनेपछी सदरमुकाम विवादका कारण धेरै सरकारी कार्यालयको आफ्नै भवन छैन । जसका कारण सार्वजनिक सेवा प्रवाहमा यसप्रकारको अपठ्यारो छ । जिल्ला प्रहरी कार्यालय समेत साविक ईलाका प्रहरी कार्यालयका लागी बनाईएको भवनमा रहेको भन्दै डिएसपी खरेलले आफुहरु पनि नजिकैको विद्यालयको भवनमा बस्नुपरेको बताए ।