प्रधानमन्त्री कृषि आधानिकरण परियोजनाद्धारा कृषकलाई अनुदान
प्रधानमन्त्री कृषि आधानिकरण परियोजनाद्धारा कृषकलाई अनुदान
रुकुम पश्चिम । प्रधानमन्त्री कृषि आधानिकरण परियोजनाले कृषकलाई अनुदानमा मौरीका घार उपलव्ध गराएको छ । व्यवसाय मौरी पालन गर्दै आएका रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका– १ पालाकोटका महेन्द्र मल्ललाई परियोजनाले अनुदानमा मौरीका घार उपलव्ध गराएको हो ।
मल्लले २ सय ७५ वटा मौरीका आधुनिक घार अनुदानमा पाएका हुन् । परियोजनाले कृषकलाई अनुदान स्वरुप ३ लाख ५८ हजार ७ सय ५० रुपैंया अनुदान दिएको थियो भने ५० प्रतिशत अनुदान भने कृषक आफैले व्यहोर्नु पर्ने छ । प्रधानमन्त्री कृषि आधानिकरण परियोजना कार्यन्वयन इकाइ सल्यानका प्रमुख भिम पाण्डेका अनुसार सुपर सहितको मौरी घार खरिद भनेर माग आएका किसानलाई मौरीका घार खरिदको लागि अनुदान उपलव्ध गराइएको हो ।
‘मौरी पाल्न चाहने र मौरी पाल्दै आएका किसानलाइ मौरीका घार चाहेमा परियोजनाले १५ लाख सम्म अनुदान दिन सक्छ, हामिले महेन्द्र मल्ललाई साढे तिन लाख भन्दा बढि अनुदान दिएका छौ, उहाँ रुकुम पश्चिममा राम्रो मौरी पालन गर्ने किसान पनि हो ।’, प्रमुख पाण्डेले भने ।
कृषि तथा पशुपञ्छि उद्यमशिलता कार्यक्रम अन्तरगत किसानलाई अनुदान दिने गरिएको प्रमुख पाण्डेको भनाइ छ । किसानलाई कृषि पेसाबाट आत्मनिर्भर गराउन पनि परियोजनाले अनुदान रकम उपलव्ध गराउने गरेको प्रमुख पाण्डले बताए । सोहि कार्यक्रम अनुसार बाँफिकोटका महेन्द्रले पनि मौरी घार खरिदमा अनुदान पाएका हुन् ।
महेन्द्रले अहिले बाँफिकोट गाउँपालिका– १ पालाकोट, तासुकाडा र रुकुम पूर्वको सिस्ने गाउँपालिकामा गरेर तिन ठाउँमा मौरी पाल्दै आएका छन् । मौरीको चरन भएको क्षेत्रमा मौरीको घारहरु राखेको उनको भनाई छ । ‘पालाकोट, तासुकाडा र रुकुम पुर्वको सिस्ने गाउँपालिका– ३ पोखरा मौरी पालनको हिसाबले निकै राम्रो क्षत्र हो, मैले तिनवटै ठाउँमा मौरीका घार राखेको छु, यो क्षेत्र चिउरी धेरै भएकाले पनि मौरीको चरनको समस्या छैन ।’, मल्लले भने ।
मल्लले व्यवसायरुपमा मौरी पाल्न थालेको ५ वर्ष भयो । एक बर्षमा मह बेचेर १८ लाख कमाएको मल्लले बताए । तिन बर्ष मौरीमा रोगको प्रकोप र मह उत्पादनमा केहि गिरावट आएको भए पनि वितेका दुइ बर्षमा भने राम्रो मह उत्पादन गरेर राम्रो आम्दानी गरेको उनको भनाई छ । अहिले २ सय घारबाट मह उत्पादन भैरहेको उनले बताए ।
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाले सल्यान र रुकुम पश्चिममा गरेर १६ वटा कार्यक्रम सञ्चालन गरिरहेको छ । मौरीसंगै तरकारी खेति, माछापालन, बार्खापालनमा पनि परियोजनाले काम गरिरहेको छ । परियोजनाले आफुहरुले गरेका कामको अनुगमण पनि गर्ने गरेको परियोजनाको भनाइ छ ।