गाउँमा सुविधा त पुगेको छ तर युवाहरु छैनन्
गाउँमा सुविधा त पुगेको छ तर युवाहरु छैनन्
रुकुम । पौरानिक शैलिका घर । फराकिला आँगन अनि गाउँको बिचैमा सुविधासम्पन्न मोटरबाटो । घर–घरमा खानेपानीका धारा । उच्च माध्यमिक तहसम्म अध्ययन गर्न गाउँमै विद्यालयहरु प्रशस्तै छन । स्वास्थ्य सुविधा, इन्टरनेटको सुबिधा । झट्ट हेर्दा लोभ लाग्दो देखिने रुकुम पुर्वका केहि गाउँहरुको अन्य पूर्वाधारले थप सम्पन्न हुदै गैरहेका छन् ।
नौ वर्ष अघि ७५ जिल्ला वाट ७७ जिल्ला हुदा रुकुम पुर्व छुट्टिई रुकुम पुर्वको रुकुमकोट सदरमुकाममा परिनत भएको छ । त्यस अघी ठुलो बजार आवजावत गर्न गाउँदेखि एक दिन पैदलयात्रा गरेर रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसिकोट जानु पथ्र्यो । एक गाग्री पानी लिन डेढ घण्टा लाममा बस्नु पथ्र्यो ।
अहिले त्यस्तो छैन । विकासका पूर्वाधार गाउँमा पुगेका छन् । तर गाउँमा भने युवाहरु छैनन् । अध्ययन, व्यापार, रोजगारीका लागी वैदेशिक यात्राका कारण कोहि पानामाको जंगल हुदै अमेरीका छिरे, कोहि पढ्न काठमाडौं र अन्य सहर छिरे गाउँका अधिकांश घरमा ज्येष्ठ नागरिक र महिला मात्र छन् ।
अब सदरमुकाम भयो केही परिवर्तन होला छोराछोरी गाउँमै रोजगारी पाउलान छोरा छोरी संगै बसौला भनेर सोचेका आमा बुवाहरु ऋाफ्ना सन्ततिसंग धित मरुन्जेल बस्न पाएका छैनन् । “दशकको अवधिमा भौतिक परिवर्तन यत्ति धेरै होला भनेर कल्पनानै गरेका थिएनौ । छोराछोरीले गाउँ छोड्लान भन्ने पनी सोचेका थियनौ ।”, सिस्ने गाउँपालिका– ६ वाहुनडेराका ७३ वर्षीय भुवनेश्वर उपाध्यायले भने ।
“हाम्रो पालामा विकास भनेको कस्तो हुन्छ होला भनेर सोच्ने गर्दथ्यौँ । अहिले विकास त आयो तर चाडबाड त परै जावस मर्ने बेला छोरा छोरी साथमा नहुदा उनिहरुलाई सम्झेर आखा रसाउछन् ।”, उनले भने । उवेला गाउँमा पक्कि घर थिएनन् । ढुङ्गाले छाएका घर देख्नै पनि मुस्किल थियो । अहिले त गाउँगाउँमा पक्की घर निर्माण गर्ने होड चलेको छ ।
अफ्ट्यारा भिर फोडेर खनेका सडकहरुमा मोटर गुडिरहेका छन् । तर गाउँबाट परदेश जाने क्रम रोकिएको छैन । “गएको दुइ÷चार वर्षमा मात्र सिस्ने गाउँपालिकाको रुकुमकोट उपत्यका भित्रका ५ र ६ वडाका मात्र लगभग ३ सय जना भन्दा बढि युवा अवैध वाटो अमेरीका गएका छन् । अझै त्यो बाहेक खाडि मुलुक र भारतमा मजदुरी गर्न जानेको कुनै लेखाजोखा छैन ।”, सिस्ने गाउँपालिका उपाध्यक्ष गोपाल रेउलेले भने ।
गाउँमा भौतिक विकाससँगै ग्रामीण जनताको जीवनशैली र चेतना परिवर्तन भएको छ तर युवा नहुँदा गाउँ शून्य भएको उनको भनाई छ । “सुविधाका हिसाबले गाउँ र सहरमा खासै फरक छैन । लगभग एक दशक अघिका गाउँ र अहिलेका गाउँमा धेरै कुरामा परिवर्तन आएको छ । सबैभन्दा ठुलो परिवर्तन नागरिकले सुविधा उपभोग गर्न पाएका छन् ।”, उपाध्यक्ष रेउलेले थपे–तर दुखको कुरो त्यो सुविधाबाट लाभान्वित हुनुपर्ने पुस्ता गाउँमा छैन ।”
यस्तो अवस्था रुकुमकोटको मात्रै होइन । जिल्लाका ३ वटै स्थानीय तहमा उस्तै छ । ५७ हजार ९ सय ६० जनसंख्या रहेको रुकुम पूर्व जिल्लाको पुथा उत्तरगंगाको ३ वटा वडा बाहेक सबै ठाउँलाई मोटरबाटोले छोएको छ ।
विकासका पूर्वाधारसँगै सर्वसाधारणको आयमा वृद्धि भएको र जीवन शैलीमा परिवर्तन देखिएको सिस्ने गाउपालीकाका अध्यक्ष कृष्ण रेग्मीको भनाई छ । विशेष सिस्ने गाउँपालिकाका धेरै युवा विदेश पलाएन भएका छन् । सिस्ने गाउँपालीका – ६ नं वडाबाट मात्रै सय जनाको हाराहारिमा युवाहरू अवैध बाटो भएर अमेरिका पुगेका छन् ।
सहरमा झैँ गाउँमा विकास पुगेपनि गाउँमै रोजगारीको अभावले गर्दा गाउँहरु युवा विहीन भएको सिस्ने गाउँपालीका – ६ का वडाध्यक्ष पुर्णजङ मल्लले बताए ।