साइबर क्राइम र कानुनी व्यवस्था
साइबर क्राइम र कानुनी व्यवस्था
- अधिवक्ता टेकबहादुर खड्का
सामान्यतया कम्प्युटर, मोबाइल र इन्टरनेटको प्रयोगमार्फत फेक आइडी बनाउने, सामाजिक सञ्जाल प्रयोग गरी गाली गर्ने, वेभसाइट ह्याक गर्ने, फोटो इडिट गरी स्वरूप परिर्वतन गर्ने, अश्लील फोटो / भिडियो पठाउने, सञ्जालमार्फत जिस्काउने, अपमान गर्ने, कल बाइपास, गैह्र कानूनी इमेल, एस.एम. एस.धम्कीदिने जस्ता कार्यलाई साइबर अपराध भनिन्छ ।
त्यस्तै गरी इन्टरनेटको प्रयोग गरी गरिने चरित्र हत्या, हिंसा फैलाउने कार्य, यौनजन्य हिंसा, धोकाधडी, क्रेडिट कार्ड तथा एकाउन्ट चोरी, अर्काको कम्प्युटर, विद्युतीय उपकरण तथा नेटवर्कमा पुर्याउने क्षति लगायत अवैधानिक कार्यलाई पनि साइबर अपराध मानिन्छ ।
केही घटनाहरु :
• एकजना केटाले फोनबाट अश्लिल सन्देश पठाउने, मेसेन्जरमा अश्लिल फोटो भिडियो पठाउने, कल गर्ने र फेसबुकमा नक्कली आइडी खोलेर अश्लिल फोटो पोष्ट गरेकाले निजलाई कडा कारवाही गरी क्षतिपूर्ति समेत भराईपाउँ भनी पीडित महिलाको उजुर परेकोमा प्रतिवादीले गरेको इन्कारी बयान, सोको समर्थनमा साक्षीले गरेको बकपत्र र पीडित स्वयं अदालतमा होस्टाइल भई बकपत्र गरेकीले प्रतिवादीले सफाई पाएको ।
• एकजना केटाले केटीको टाउकोमा अर्कैको नग्न शरिर जोडी यौनजन्य कुरा लेखी पसलको भित्तामा टाँस गरेकाले निजलाई कडा कारवाही गरिपाउँ भनी पीडितको उजुरी परेकोमा प्रतिवादीले कसूर गरेको पुष्टि भएकाले निजलाई सजाय हुने गरी फैसला भएको ।
• भर्खरै विवाह गरेको एक जोडीको विवाहको केही महिनामा नै सम्वन्धमा खटपट शुरु भयो । त्यसको कारण के रहेछ भने श्रीमतीको पहिलाको प्रेमीले फेसबुकमा ती महिलाको आपत्तिजनक तस्वीर पोष्ट गरेकाले ।
उजुरी कहाँ र कसरी गर्ने ?
साइबर क्राइमको उजुरी सीआईबी र महानगरीय प्रहरी अपराध महाशाखा, काठमाण्डौ तथा जुन सुकै जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गर्न सकिन्छ । अन्य उजुरी दर्ता गर्न प्रहरी कार्यालयमै पुग्नुपर्ने व्यस्था भएतापनि साइबर अपराधबारे उजुरी दिन कार्यालयमै पुग्नु पर्छ भन्ने छैन ।
प्रहरीमा अनलाईनमार्फत् पनि उजुरी वा निवेदन दिन सकिने व्यवस्था गरेको छ। उजुरी दिदा प्रमाणको रुपमा स्क्रीन सर्ट, परिचयपत्र, लिंक, भिडियो, अडियो, फोटो लगायत प्रमाण निवेदनसँगै पठाउनुपर्ने हुन्छ। यसबाहेक साइबर व्युरोले उपलब्ध गराएको फोन नम्बरमा घटनाको बारेमा जानकारी दिई नाम टिपाएर उजुरी गर्न सकिने हुन्छ ।
पछिल्लो समय साईबर अपराधका घटना ह्वात्तै बढेपनि प्राय उजुरी मेलमिलापमै टुंगिने गरेका छन्। अन्य अपराधको जसरी साइबर क्राइममा जुनसुकै जिल्ला अदालतमा मुद्दा दर्ता हुने व्यवस्था भएको छ । पहिले काठमाडौं जिल्ला अदालतमा मात्र साइबर क्राइमको मुद्दा दर्ता हुन्थ्यो ।
साइबर ब्युरो तथा प्रहरी कार्यालयमा लिखित, मौखिक वा इमेलबाट उजुरी परेपछि प्रहरीले उपलब्ध प्रमाणका आधारमा सुक्ष्म अनुसन्धान शुरु गर्दछ । प्रहरीले साइबर अपराध अनुसन्धान गर्नकै लागि साइबर ब्युरोको स्थापना गरी डिजिटल फरेन्सिक ल्याब सुधारको प्रयास सुरु गरेको छ ।
अपराधीले कतै न कतै डिजिटल प्रविधि प्रयोग गरेको हुन्छ भने प्रहरी पनि मोवाइलको लोकेसन, कल डिटेल या सामाजिक सञ्जालका क्रियाकलापको चेकजाँच गरी प्रारम्भिक अनुसन्धान सुरु गर्दछ । आरोपित व्यक्ति संलग्नता देखिए निजलाई पक्राउन गरी थप अनुसन्धान प्रकृया अगाडि बढाउँछ र प्रारम्भिक अनुसन्धान पश्चात सरकारी वकिलको कार्यालय मार्फत जिल्ला अदालतमा साइबर क्राइमको अभियोग दर्ता हुन्छ ।
अदालतमा अभियुक्तको बयान तथा पीडितको बकपत्र लगायतका बाँकी प्रमाण बुझ्ने कार्य पुरा गरे पछि अदालतले फैसला सुनाउने गर्दछ।
दण्ड सजाय कति हुन्छ ?
नेपालमा विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ प्रयोग गरेर साइबर अपराधको मुद्दा चलाउने गरिएको छ । अपराध पुष्टि भएमा अपराधको प्रकृति हेरी बढीमा तीन लाख रुपैयासम्म जरिवाना र पाँच बर्षसम्म कैद सजायको व्यवस्था गरिएको छ । अपराधको प्रकृति र कसूरको गाम्भिर्यतालाई हेरेर कैद तथा जरिवाना हुन्छ ।
पीडितलाई पुग्न गएको क्षतिलाई विचार गरेर कसूरदारबाट पीडितलाई मनासिब क्षतिपूर्ति भराईदिने व्यवस्था पनि कानूनमा गरिएको छ । उजुरी गर्ने म्याद कति हुन्छ? साइबर क्राइम सम्बन्धी कसूर ठहर्ने कुनै कार्य भएमा त्यस्तो कसूर भए गरेको थाहा पाएको मितिले ३५ दिनभित्र उजुरी गरिसक्नुपर्ने हुन्छ ।