नेकपा (एमाले) रुकुम पुर्वको आसन्न अधिवेशन र नेतृत्व निमार्णका शर्तहरु
नेकपा (एमाले) रुकुम पुर्वको आसन्न अधिवेशन र नेतृत्व निमार्णका शर्तहरु
नेपालको समकालिन राजनीतिक परिवेशमा क्रान्तिकारी विचार र लोकतान्त्रिक विधिले सुसज्जित नेपाल कम्युनिष्ट पार्टी (एमाले) रुकुम (पुर्व) को नवौं जिल्ला अधिवेशन २०८० चैत्र २९ र ३० गते पर्यटकिय महत्वको क्षेत्र रुकुमकोटमा हुन गइरहेको छ । पार्टीको दशौ महाधिवेशनले निर्दिेष्ट गरेको विधानमा व्यवस्था गरिए अनुसार हरेक ३÷३ वर्षमा पार्टीको स्थानिय तहहरुको अधिवेशन गर्नुपर्ने प्राव्धान रहेको छ । पार्टीको जिल्ला अधिवेशनमा भए–गरेका कामकाजहरुको उपलब्धी, सिमा–कमजोरीहरु र सम्भावना बारे समिक्षा गरेर दस्तावेजीकरण गरि संस्थागत गर्ने, आर्थिक गतिविधिहरुको पारदर्शिता एवं जवाफदेहिता प्रस्तुत गरेर वित्तिय अनुशासन कायम गर्ने विषय अधिवेशनको महत्वपूर्ण कार्यभार हो ।
पार्टी संगठनको कमिटी प्रणालीलाई जीवन्त बनाएर काम र परिणामको संथागत गर्ने मात्र नभई नेतृत्व टिम निमार्ण र विकासका लागि स्वच्छ प्रतिस्पर्धात्मक परिक्षण गर्ने नियमित प्रकृयाको रुपमा पनि अधिवेशनलाई बुझ्न सकिन्छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को रुकुम (पुर्व)को जिल्ला अधिवेशनमा नेतृत्वको टीम निमार्ण गरेर पदीय जिम्मेवारी व्यवस्थापन गर्ने सैद्धान्तिक, वैचारिक र व्यवहारिक शर्त के–के हुन सक्छन् भन्ने बारे यस आलेखमा उठान गर्न खोजिएको छ ।
(क) पार्टीको मार्गदर्शक, सिद्धान्त र विचारप्रतिको निष्ठा एवं प्रतिबद्धता
नेपाल कम्युनिष्ठ पार्टी (एमाले)को मार्गदर्शक सिद्धान्त माक्र्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादलाई आत्मसातीकरण गरेर आफ्नो जीवन व्यवहारमा तथा पार्टी–संगठनमा लागु गर्ने चारित्रिक विशेषता बोकेको र सोही अनुरुप बैचारिेक स्तर उठाएको पात्रलाई नेतृत्वको प्रमुख जिम्मेवारीमा ल्याउन पार्टीको नै पहिलो शर्त रहेको छ । जिल्ला अधिवेशनमा सहभागी हुने पार्टीका नेता–कार्यकर्ताहरुले असाध्यै सुझबुझका साथ छलफल बहस चलाएर नेतृत्व निर्माणमा प्रभावकारी भूमिका खेल्न आवश्यक छ ।
पार्टीको मार्गदर्शक सिद्धान्त र बिचार प्रतिको निष्ठा नेतृत्वको ब्यक्तिगत आचरणमा देखिएको हुन्छ भने संस्थागत निर्णयको काम–कारवाहीमा सक्रियता सहितको इमान्दार खटन–पटनमा प्रतिबद्धता देखिएको हुन्छ । पदीय जिम्मेवारीलाई नितान्त ब्यक्तिगत स्वार्थपूर्तिका लागी पार्टीका मूल्य–मान्यताहरुसंग सौदाबाजी गर्ने, प्रतिकुल अवस्थामा जिम्मेवारीबाट पञ्छिने र अनुकुल अवस्थामा मरिहत्ते गर्दै उछिनापाछिन गर्ने जस्ता प्रवृत्तिगत कार्यशैलीले पार्टीप्रतिको निष्ठा र प्रतिबद्धतालाई नै उपहास गरिरहेको हुन्छ । संकटमा आत्तिने, आलोचना गर्दा तात्तिने र जिम्मेवारीको अवसर प्राप्त गरिसकेपछि मात्तिने स्वभाव–शैलीले पनि पार्टी÷ संगठनलाई गम्भीर असर पु¥याइरहेको हुन्छ । तसर्थ नेतृत्व निर्माणको महत्वपूर्ण शर्त सैद्धान्तिक निष्ठा र ब्यवहारिक प्रतिबद्धता सहितको परिपक्कतालाई मापन गरेर बनाउने कुरामा बिशेष ध्यान दिनुपर्ने हुन्छ ।
(ख) समन्वयकारी भूमिका, संस्थागत परिचालन र ब्यक्तिगत सक्रियता
कम्युनिष्ठ पार्टीको सांगठनिक संरचना र कार्यपद्दति जनवादी केन्द्रीयताको आधारमा निर्माण गरिएको हुन्छ । नेपाल कम्युनिष्ठ पार्टी (एमाले)को सिद्धान्त तथा राजनीतिक एजेण्डामा क्रान्तिकारी र बिधिमा लोकतान्त्रिक चरित्र भएको हुँदा नेपालका समकालिन राजनीतिक पार्टीहरुमा सबैभन्दा अब्बल र ब्यवस्थित छ । पार्टीको क्रान्तिकारी बिचार र लोकतान्त्रिक बिधिलाई पार्टी भित्र र बाहिर सहि ढंगले लागु गरिनुपर्दछ ।
पार्टी भित्रको सन्तुलन मिलाउन खोज्दा बाहिर राजनीतिक पहलकदमी गुम्नसक्ने र बाह्य राजनीतिक पहलकदमी लिंंदैगर्दा पनि कतिखेर पार्टीभित्रको अन्तरबिरोध बढ्दै जाने खतराप्रति पनि नेतृत्वले सचेततापुर्वक बिशेष ध्यान दिनैपर्ने हुन्छ । पार्टीभित्र मन मिल्ने ब्यक्तिहरुसंग मात्र छलफल चलाएर गुटको अध्यास गर्ने, बिमति राख्ने साथिहरुसंगको संवाद र सहकार्यलाई बेवास्ता गर्ने कुराले पनि पार्टीको काममा गति र परिणाममा प्रगति हुन सक्दैन ।
भनिन्छ झुटले ब्यक्तिलाई, गुटले पार्टीलाई र फुटले देशलाई सिध्याउछ । तसर्थ कुनैपनि तहको पार्टी नेतृत्वले सत्यता, सामुहिकता र एकतालाई टेवा पुग्नेगरि समन्वयकारी भूमिका खेलेर धेरैको बिश्वास जित्ने, सामुहिक निर्णयलाई ब्यक्तिगत उत्तरदायित्व बहन गरेर टीम परिचालन गर्न आफ्नो सक्रियता देखाउने कुरामा नै समय, श्रम र बिवेक लगानी गर्नुपर्ने हुन्छ ।
(ग) इतिहासको सन्तुलित समिक्षा, सम्मान र अग्रगामी सोंच सहितको योजना
माओवादी जनयुद्धको उद्गम स्थल रुकुम (पुर्व) मा अवस्थित नेपाल कम्युनिष्ठ पार्टी (एमाले)का नेता–कार्यकर्ताहरुको लागी यो बिषयको उठान गर्दै–गर्दा बैचारिक बहस पेचिलो बन्नसक्छ । किनकी आजको ने.क.पा.(एमाले) ने.क.पा.(माओवादी) केन्द्रसंगको एकताबाट बनेको नेपाल कम्युनिष्ट पार्टी गठन, त्यसभित्रको अस्वस्थ अन्तरसंघर्ष, फुट र फुटपछि पनि माओवादी घटकका केही नेता–कार्यकर्ताहरुको एमालेमै रहेर ने.क.पा.को निरन्तरता आदी राजनैतिक घट्नाक्रमहरुले ने.क.पा. (एमाले) जनताको बहुदलीय जनवादको मार्गदर्शक सिद्धान्त बाहेक उही पुरानै अवस्थामा छैन भन्ने कुरालाई पार्टीभित्र सबैले मनन गर्न जरुरी छ ।
पार्टीको दशौं महाधिवेशनले निर्दिष्ट गरेको राजनीतिक कार्यदिशा अनुसारको पार्टीको बिभिन्न तहका सांगठनिक संरचना र नेतृत्व निर्माण एवं पदीय जिम्मेवारी ब्यवस्थापन गर्दै गर्दा तत्कालिन माओवादी जनयुद्धका बिमति, तत्कालिन राज्य र माओवादी पक्षबाट दोहोरो चपेटामा पर्दा एमालेका नेता–कार्यकर्ताहरुले भोग्नुपरेको दर्दनाक पिडाहरु पनि आफ्नै ठाउँमा छन् । तर अहिले बिगतको द्वन्दकालिन अवस्थाको चित्रण गरेर माओवादीलाई मात्र दोषारोपन गरेर शान्ति प्रकृयापछि पार्टीका नेता–कार्यकर्ताहरुले पार्टी–संगठन निमाण र बिस्तारमा भएको आफै भित्रको कमी–कमजोरीहरुलाई बेवास्ता गर्न पनि मिल्दैन ।
अर्कोकुरा माओवादी जनयुद्धको बिषयलाई लिएर एकतामा आएका साथिहरुले अहिलेको एमाले पार्टी पंक्तिभित्र अस्वस्थ ढंगले बहस चलाउन पनि हुदैन । दोषारोपन अरुलाई गरेर आफ्ना कमजोरी र असक्षमतालाई लुकाउनतिर होइन कि पार्टीभित्र हुने गरेका कमी–कमजोरीहरुको सन्तुलित समिक्षा गरेर इतिहासमा भएका उल्लेखनीय योगदानको सम्मान, त्रुटीबाट गम्भीर शिक्षा लिंदै आजको आवश्यकतामा टेकेर भविष्यको योजना तय गरिनु पर्दछ ।
उपसंहार
मूलतः ने.क.पा.(एमाले) रुकुम (पुर्व) को नवौं जिल्ला अधिवेशनले सैद्धान्तिक, बैचारिक, राजनैतिक रुपमा स्पष्टता, सांगठनिक रुपले नविनता सहितको बलियो एकता र कार्यक्रमिक रुपले नयाँ गतिशिलताका लागी पहिलो चरणको सफलता हासिल गर्नेछ भन्ने आशा एवं बिश्वासका साथ आयोजक देखि अतिथि हुँदै छनौट भएका प्रतिनिधिहरुले मानसिक र भौतिक रुपले जिल्ला अधिवेशनको तयारीमा तिव्र रुपले लाग्न आवश्यक छ ।
जिल्ला अधिवेशनमा निर्वाचित नयाँ पदाधिकारीहरुले अहिलेसम्मका उपलब्धीहरुको जगमा टेकेर पार्टीले निदिष्ट गरेको डिजाइन अनुसार कुशल कालीगढको रुपमा काम गर्दै पार्टीलाई बिशाल र मजबुत बनाउनका लागी आफ्नो बिवेक, सीप, श्रम लगानी गर्न नयाँ उत्साह एवं जाँगरका साथ लाग्नुपर्नेछ ।
भनिन्छ क्षमताले पद खोज्दैन तर पदले चाँही अनिवार्य क्षमता खोज्दछ भने कसैलाई जतापनि पद हुने कसैलाई कतैपनि जिम्मेवारी नहुने अवस्था आउन दिनु हुदैन । तसर्थ जिम्मेवारी लुछाचुँडी गरेर होइन सबैको भूमिका र अस्तित्वलाई स्वीकार गर्दै बाँडीचुडी गरेर ब्यवस्थापन गर्दा नै सहज र सफल हुनेछ । तब मात्रै नवौं जिल्ला अधिवेशन साँच्चीकै अनुकरणीय एवं उदाहरणीय बन्नेछ ।