रुकुम पूर्वका मतदाताको घर–आगनमा एमाले उम्मेदवार गौतम, अरु पनि जनभेटघाटमै व्यस्त

रुकुम पूर्वका मतदाताको घर–आगनमा एमाले उम्मेदवार गौतम, अरु पनि जनभेटघाटमै व्यस्त

"0" Comments

रुकुम पूर्व । प्रतिनिधीसभा सदस्य निर्वाचनको दिन फागुण २१ नजिकिदैं गर्दा रुकुम पूर्वमा बिभिन्न दल तथा उम्मेदवारहरुले आफ्नो चुनाबी प्रचार–प्रसारलाई तिब्र बनाउदैं लगेका छन् । यसै क्रममा नेकपा एमाले रुकुम पूर्वका उम्मेदवार लिलामणी गौतमका साथै नेपाली कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस र राट्रिय स्वतन्त्र पार्टी लगाएतका उम्मेदवारहरु पनि मतदाता भेट्न उनीहरुको घर-आगनमा पुग्ने क्रम जारी छ।

गत माघ २३ गते पुथाउत्तरगंगा गाउँपालिका-१ मैकोटमा एमालेको जिल्ला सचिवालय कमिटीको बैठकबाट चुनाबी प्रतिवद्धता-पत्र सार्वजनिक गर्नुका साथै जिल्ला र पालिका स्तरिय निर्वाचन परिचालन कमिटी बनाएर मैकोटबाटै चुनाबी प्रचार–प्रसार तथा जनभेटघाट सुरु गरिएको बताईएको छ ।

जिल्ला ईन्चार्ज खेममान खड्काको संयोजकत्वमा जिल्ला स्तरिय निर्वाचन परिचालन कमिटी एवम् पुथाउत्तरगंगामा बागलाल बुढा, भुमे गाउँपालिकामा आशा स्वर्णकार र सिस्ने गाउँपालिकामा फत्यकुमारी ओलीको संयोजकत्वमा पालिका स्तरिय निर्वाचन परिचालन कमिटीको जिम्मेवारी पनि मैकोट बैठकबाट प्रदान गरी चुनाबी अभियानलाई अघि बढाउने निर्णय भएको जिल्ला अध्यक्ष गोपाल रेउलेले बताए ।

यसपछी एमाले रुकुम पूर्वले उम्मेदवार सहितको मतदाता भेटघाटको कार्यक्रमलाई तिब्रता दिएको छ । गत माघ २४ गते पुथाउत्तरगंगा गाउँपालिकाका वडा नं. ५ हुकाम, ६ डिम्मुरगैरा, १३ भल्का, पद्मी र विरगुमका गाउँवस्तीमा पुगेको टोलीले २४ गते रुकुमकोटमा पुगेर पत्रकार भेटघाट गरी चुनाबी प्रतिवद्धता पत्र सार्वजनिक गर्नुका साथै आफ्नो योजना बारे जानकारी दिएको थियो ।

यसपछी माघ २५ गते सिस्ने गाउँपालिका कमिटीको बैठक वडा नं. ३ पोखरामा २६ गते भुमे गाउँपालिका कमिटीको बैठक वडा नं. ३ सिमामा र २७ गते पुथाउत्तरगंगा गाउँपालिका कमिटीको बैठक तकसेरामा आयोजना गरी तिनवटै पालिका अन्तरगतका वडा र टोल स्तरमा चुनाबी परिचालन कमिटी बनाई प्रचार–प्रसारमा लाग्ने निर्णय गरेको र यसै अनुसार नै अहिले मतदाता भेटघाटको काम भैरहेको उम्मेदवार लिलामणी गौतमले जानकारी दिए । पालिका स्तरका बैठकहरु सकेपछी २७ गतेदेखी सुरु भएको जनभेटघाट पुथाउत्तरगंगा गाउँपालिका बिभिन्न वडाका टोल तथा वस्तीहरु हुदैं शुक्रबार पुथाउत्तरगंगा– ८ चारगाउँको गराली पुगेको गौतमको भनाई छ ।

‘हाम्रो टोलीले लगभग पुथाउत्तरगंगा गाउँपालिकाका सबै वडाको जनभेटघाट सम्पन्न गरेको छ । म सहितको टोली पुग्न नसकेको ठाउँमा समानुपातिक उम्मेदवार बागलाल बुढाको टोली पुगेको छ ।’ चुनाबी यात्राबारे जानकारी दिदैं गौतमले भने, ‘यसपछी हामी भुमे र सिस्ने गाउँपालिकाका मतदाताहरुलाई भेट्नका लागी उहाँहरुको घरदैलोमा पुग्ने योजनामा छौं । हाम्रो टोली सकेसम्म धेरै मतदातामाझ पुगेर मत माग्ने र उहाँहरुका भनाईहरु सुन्ने योजनामा छौं ।’

पुथाउत्तरगंगाका मतदातालाई भेटेपछी आफु निकै उत्साहित भएको बताउदैं उम्मेदवार गौतमले एमालेप्रतिको जनविश्वास देखेर यसपल्टको निर्वाचनबाट आफुले जित्ने दावी समेत गरेका छन् । आफु रुकुमको माटोमा हुर्के–बढेको स्थानिय भएकाले यहाँका सम्भावना र जनमनका माग एवम् आवश्यकताबारे जानकार रहेको भन्दै उनले आफ्नो जितको दावेदारी प्रस्तुत गरेका हुन् ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल समेत उम्मेदवार भएको रुकुम पूर्वमा दाहालको टोलीले पनि जिल्ला स्तरको चुनाबी प्रचार–प्रसारलाई व्यापक बनाईरहेको र शुक्रबार देखी दाहाल सहित मतदाता समक्ष पुग्ने बताईएको छ । साथै नेपाली कांग्रेसका उम्मेदवार कुसुमदेवी थापाको टोलीले पनि जिल्लाका बिभिन्न टोलहरुमा पुगेर मतदाताहरु समक्ष पुगिरहेको जनाएको छ । भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लखन थापा र अन्य उम्मेदवाहरु पनि घरदैलोमा व्यस्त रहेका छन् ।

एकमात्र निर्वाचन क्षेत्र रहेको रुकुम पूर्वबाट जम्मा ११ जना दलिय उम्मेदवारले यसपल्टको निर्वाचनमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुम पूर्वमा कुल ३४ हजार ७ सय ७२ मतदाता रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *