रुकुम पूर्वमा एमालेका उम्मेदवार गौतमद्धारा ‘प्रतिवद्धता-पत्र’ सार्वजनिक (प्रतिवद्धता-पत्रको पुर्णपाठ सहित)

रुकुम पूर्वमा एमालेका उम्मेदवार गौतमद्धारा ‘प्रतिवद्धता-पत्र’ सार्वजनिक (प्रतिवद्धता-पत्रको पुर्णपाठ सहित)

"1" Comments

रुकुम पूर्व । एमाले रुकुम पूर्वका उम्मेदवार लिलामणी गौतमले आफ्नो ‘प्रतिवद्धता पत्र’ सार्वजनिक गरेका छन् । जिल्ला सदरमुकाम रुकुमकोटमा आज पत्रकार सम्मेलन मार्फत ‘समृद्ध र आत्मनिर्भर रुकुम पूर्व निर्माणका लागी’ भन्दै मुख्य उद्घोष सहित पत्र सार्वजनिक गरिएको हो ।

केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज खेममान खड्का, जिल्ला अध्यक्ष गोपाल रेउले र जिल्ला बिभिन्न तहका नेताहरुको बिशेष उपस्थितीमा गरिएको पत्रकार सम्मेलनमा प्रतिवद्धता पत्र सार्वजनिक गर्दै उम्मेदवार गौतमले सडक यातायातमा ग्रामिण क्षेत्रहरुमा सडक, पुल र यातायात पूर्वाधार सुदृढीकरण गर्दै संघ–प्रदेश-स्थानीय तहको समन्वयमा ठूला पूर्वाधार आयोजनाहरु भित्राई समयमै कायान्वयन गर्ने र मध्यपहाडी राजमार्गको निर्माण सम्पन्न गर्दै जिल्लाका सडक नपुगेका ठाउँमा सडक पुर्‍याउने र भएका सडकको स्तरोउन्नती गर्ने बताएका छन् ।

त्यस्तै शिक्षा क्षेत्रमा शिक्षण पेशालाई थप मर्यादित बनाउन शिक्षकहरूको वृत्ति विकास, पेशागत सुरक्षा र मर्यादाका लागि आवश्यक पहल कदमी लिने र भूमे गाउँपालिकाको लुकुममा बहुप्राविधिक शिक्षालय सञ्चालनमा ल्याउने र पुथाउत्तरगंगा गाउँपालिकामा स्थापना हुने क्याम्पसलाई स्रोतसाधन सम्पन्न बनाइने भनिएको छ ।

स्वास्थ्य क्षेत्रमा जिल्ला अस्पताल, आयुर्वेद स्वास्थ्य केन्द्र, प्राथमिक स्वास्थ्य केन्द्र, कोल लगायत जिल्लाका सबै स्वास्थ्य संस्थाहरूलाई प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्न आवश्यक भौतिक पूर्वाधार, जनशक्ति, नवीनतम प्रविधि, मेशिन उपकरणलगायतको व्यवस्था गर्ने । र दुर्गम क्षेत्रमा पूर्ण दरबन्दी सहित मापदण्ड बमोजिमको सुविधा सम्पन्न अस्पतालको विकास गरी स्वास्थ्य सुविधामा हरेक नागरिकहरुको सहज पहुँच पुर्‍याइने भनिएको छ ।

खानेपानी, सिचाइ तथा जलस्रोत, सूचना, संचार तथा विद्युतीकरण, उद्यम विकास तथा रोजगारी सिर्जना, कृषि, वन पैदावार तथा पशुपालन, मौलिक कला संस्कृतिको संरक्षण तथा पर्यटन, प्राकृतिक श्रोत व्यवस्थापन, विपद् व्यवस्थापन, युवा र खेलकुद, शहरी विकास, सुशासन प्रवद्र्धन र द्धन्द्धकालिन समयमा भएका यौनजन्य हिंसा पीडितका सवालमा काम गर्ने उल्लेख गरिएका छ ।

साथै महिला सशक्तीकरण र समानताको लागि विशेष मुद्दाहरुमा राजनीतिक सहभागिता र नेतृत्व, आर्थिक सशक्तीकरण, स्वास्थ्य र प्रजनन अधिकार, हिंसा विरुद्ध शून्य सहनशीलता, सामाजिक सुरक्षा र सम्मानजनक जीवन, संस्कृति, चेतना र सामाजिक रूपान्तरणका बिषयहरु समेटिएको छ ।

साथै गौतमले आफु रुकुम पूर्व निवासी नागरिकको प्रतिनिधिको रूपमा प्रतिनिधिसभाको सदस्यको हैसियतले गर्नुपर्ने धेरै कुराहरू भएता पनि सारसंक्षेपमा आफ्नो अवधारणा मात्र अघि सारेको बताए । ‘म रुकुम पूर्ववासी नागरिकको माग, आवश्यकता वा अपेक्षा सबै नसमेटिएका हुनसक्छन् ।’ उनले भने ‘म निर्वाचित भइसकेपछि जिल्लासीका बीचमा थप छलफल सरसल्लाहबाट मैले खेल्नुपर्न भूमिकाका लागि सदैव तत्पर रहेको छु ।’

प्रतिवद्धता-पत्रको पुर्णरुप यसप्रकार रहेको छ ।
समृद्ध र आत्मनिर्भर रुकुम पूर्व निर्माणको लागि नेकपा (एमाले), रुकुम पूर्वको 
“प्रतिनिधि सभा निर्वाचन २०८२ को प्रतिवद्धता पत्र” ।
आवधिक निर्वाचन मार्फत जनताद्वारा, जनताको लागि, जनताले नै राज्य सत्तामा पुग्ने प्रतिनिधिहरू छनोट गर्न पाउने व्यवस्था नै लोकतन्त्रको सौन्दर्य हो । नेपाली जनताले आफ्नो सार्वभौम अधिकारको विवेकसम्मत प्रयोग गरी आफ्नो प्रतिनिधि छनोट गर्ने समय पुनः आएको छ । यसै सन्दर्भमा २०८२ साल फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनमा नेपाली जनताको प्यारो पार्टी नेकपा(एमाले)को तर्फबाट म लिलामणि गौतम रुकुम पूर्व जिल्लामा रहेको एक मात्र निर्वाचन क्षेत्रवाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रूपमा यहाँहरूको बीचमा आएको छु । मलाई विश्वास छ, नेकपा(एमाले)द्वारा लोकतान्त्रिक गणतन्त्रको स्थापना र संस्थागत विकास, राष्ट्र, राष्ट्रियताको पक्षमा लिएका अडान, सामाजिक न्याय, सुशासन, विकास र समृद्धिका लागि गरेका कामहरूका आधारमा सूर्य चिह्नमा मतदान गरी विजयी गराउनुहुनेछ । रुकुम पूर्व वासी नागरिकको प्रतिनिधिको हैसियतले म शासक हैन “सेवक’ को रूपमा जिल्लाको विकास र समृद्धि साथै सामाजिक न्याय, समानता र सुशासनसहितको समृद्ध र आत्मा निर्भर रुकुम पूर्वको आकांक्षा पूरा गर्न मन, वचन र कर्मले सदा समर्पित भई लाग्ने प्रण गर्दछु ।
यस पटकको निर्वाचनमा रुकुम पूर्वका जनताले यथास्थितिबाट परिवर्तन खोजिरहेका छन् र त्यो परिवर्तनकारी चाहनाको नेत्तृत्व मैले गर्न सक्छु भन्ने आत्मविश्वास मैले लिएको छु । म आफूले थाहा पाउने उमेर देखिनै साविक रुकुम हँुदै हालको रुकुम पूर्वको हरेक सुख–दुःखको साक्षी रहँदै सँधै यहाँका नागरिकहरुकै साथमा छु । रुकुम पूर्वको पीडा र आवश्यकता के हो त्यो मलाई नजिकबाट थाहा छ र ती आवाजहरुलाई ग्रामीण वस्ती देखि राज्य सञ्चालनको भूमिकासम्म  लैजान सक्ने र समस्या समाधान गर्ने सामथ्र्य समेत राख्दछु । म सधैँ रूकुम पूर्वको सेवक बनेर हरेक नागरिकहरुको घर आँगनमा हुनेछु ।
रुकुम पूर्वका हरेक नागरिकहरुलाई समस्या पर्दा वा जनप्रतिनिधिको आवश्यकता महसुस हुँदा सबैले सहजै मलाई आफ्नै माटोमा देख्न र गुनासो राख्न पाउनु हुनेछ । म यही रुकुम पूर्वकै माटोमा जन्मिएर हुर्किएँ, दुर्गम बस्तीका पीडा के हुन् र त्यसलाई कसरी समाधान गर्न सकिन्छ मसँग त्यसको स्पष्ट मार्गचित्र रहेको छ ।
रुकुम पूर्व राज्य सञ्चालकको नजरमा नपर्दा विकास र अवसरवाट निकै टाढा छ । मैले रुकुम पूर्वको माटोको गन्ध बुुझेकोछु, ग्रामीण बस्तीका पीडा र जनताको सपनाहरुसँग नजिकवाट साक्षात्कार छु, रुकुम पूर्व कुनै साधारण भुगोल होइन, यो संघर्षको इतिहास र परिवर्तनको कथा हो, त्यही परिवर्तनको नेतृत्व मैले गर्न सक्छु भन्ने दृढ अठोट र यहाँका नागरिकहरुको चाहना बमोजिम मैले उम्मेदवारी दिएको छु ।
साथै, म नेकपा (एमाले) को तर्फवाट उम्मेदार हुदै गर्दा नेकपा(एमाले)ले राष्ट्रिय रुपमा अघि सारेका चुनावी घोषणा पत्रसँंगै रुकुम पूर्ववासी जनता सामु थप निम्न बमोजिम प्रतिबद्धता समेत गर्दछु ।
१. सडक यातायात
– ग्रामिण क्षेत्रहरुमा सडक, पुल र यातायात पूर्वाधार सुदृढीकरण गर्दै संघ–प्रदेश–स्थानीय तहको समन्वयमा ठूला पूर्वाधार आयोजनाहरु भित्राई समयमै कायान्वयन गरिनेछ ।
– जिल्लाको विकासका महत्वपूर्ण आधारमध्ये जिल्लाभित्र पर्ने मध्य पहाडी राजमार्गको सम्पन्नता, शहिद मार्गको यथाशीघ्र निर्माण सम्पन्न, देउखोला-कुमा—नायगाड-सिस्ने हुदै डोल्पा सडक संञ्जाल विस्तार, देउखोला—जामा—त्रिवेणी—तकसेरा सडक निर्माण कार्यको सम्पन्नता, चुनवाङ्ग—रुकुमकोट सडक स्तरउन्नति तथा कालो पत्रे, भुमे र सिस्ने रिङ्ग रोडको स्तरउन्नति तथा कालो पत्रे, सेरा—दमचन—ढोरपाटन सडक विस्तार लगायत जिल्लाका अन्य सडक सञ्जालले छुन नसकेका वडा र बस्तीहरुमा यो ५ वर्ष भित्रमा सडक यातायातको पहँुचमा ल्याई सुरक्षित र भरपर्दो रुपमा बाह््रै महिना सडक यातायात सञ्चालन गर्ने व्यवस्था गरिने छ ।
– पाँगा पोखरा हुदै छिपखोला सम्म बनेको सडकलाई प्वाङ हुँदै सिस्ने सम्म विस्तार गरिने ।
(नोट: पुथा उत्तरगंगा, सिस्ने र भुमे गाउँ पालिकामा नयाँ ट्रयाक खोल्नै पर्ने तथा खोलिएका ट्रयाकहरुको स्तरोन्नति र सम्पन्न गर्ने गरी विस्तृत कार्ययोजना निर्माण गरिएको छ ।)
– देउखोला कुमा नायगाड, त्रिवेणी,काँसतरा, गर्खानी, बालुवा, गरह, रन्मा, दोमई, सेरा बालुवा, स्यालापाँखा खाराबाङ्गलगायतका स्थानहरूमा पक्की सडक पुल निर्माण गरिने छ ।
२. शिक्षा
– शिक्षण पेशालाई थप मर्यादित बनाउन शिक्षकहरूको वृत्ति विकास, पेशागत सुरक्षा र मर्यादाका लागि आवश्यक पहल कदमी लिने ।
– शैक्षिक संस्थाहरूमा आवश्यक भौतिक पूर्वाधार, खेल मैदान, पुस्तकालय, प्रयोगशाला लगायत व्यवस्था गर्न आवश्यक स्रोतको लागि पहल गर्ने ।
– विभिन्न समयमा शिक्षक आन्दोलन मार्फत राज्य सामु प्रस्तुत जायज मागहरुको सम्वोधनका लागि निर्णायक पहल कदमी लिइने छ ।
– भूमे गाउँपालिकाको लुकुममा बहुप्राविधिक शिक्षालय सञ्चालनमा ल्याइने छ ।
– पुथा उत्तरगंगा गाउँपालिकामा स्थापना हुने क्याम्पसलाई स्रोतसाधन सम्पन्न बनाइनेछ ।
– व्यावहारिक तथा प्राविधिक शिक्षाको विकासमा र विस्तारमा जोड दिइने छ ।
– शैक्षिक संस्था नक्शांकनका आधारमा वास्तविक शैक्षिक संस्था कायम र दरबन्दी संख्या कायम गरिने साथै हरेक वर्ष Online Evidence Based Performance Evaluation Tracking System को विकास गर्ने ।
३. स्वास्थ्य
– जिल्ला अस्पताल, आयुर्वेद स्वास्थ्य केन्द्र, प्राथमिक स्वास्थ्य केन्द्र लगायत जिल्लाका सबै स्वास्थ्य संस्थाहरूलाई प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्न आवश्यक भौतिक पूर्वाधार, जनशक्ति, नवीनतम प्रविधि, मेशिन उपकरणलगायतको व्यवस्था गर्ने ।
– दुर्गम क्षेत्रमा पूर्ण दरबन्दी सहित मापदण्ड बमोजिमको सुविधा सम्पन्न अस्पतालको विकास गरी स्वास्थ्य सुविधामा हरेक नागरिकहरुको सहज पहुँच पुर्‍याइने ।
– हाल निर्माणाधीन पालिका अस्पतालहरूलाई समयमा सम्पन्न गर्नका लागि आवश्यक पहल गर्ने ।
– सडक दुर्घटना र आकस्मिक बिरामीलाई भुमेको काँक्री स्वास्थ्य चौकिलाई स्तरोन्नति गरि ट्रमा सेन्टरको रुपमा विकास गर्ने ।
– सार्वजनिक स्वास्थ्य सेवालाई सर्वसुलभ र आम जनताको पहुँचमा ल्याउनका लागि स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रूपमा लागू गर्न नीतिगत पैरवी गर्ने ।
– जेहेन्दार र क्षमतावान विद्यार्थीहरूलाई मेडिकल फिल्डमा अध्ययन गर्नको लागि १ पालिका १ छात्रवृत्ति कार्यक्रम लागू गर्न पहल गर्ने ।
– स्वास्थ्य चौकी मैकोटमा सुत्केरी भान्छा घर निर्माण गरिनेछ ।
– दुर्गम बस्तीमा गुणस्तरीय स्वास्थ्य सेवा पहुँच मातृ तथा शिशु मृत्युदर घटाउन आवश्यक थप बर्थिङ सेन्टरहरुको स्थापना र स्थापना भएका बर्थिङ सेन्टरहरुको स्तरोन्नति गरिनेछ ।
— बर्थिङ्ग सेन्टर रहेका सबै स्वास्थ्य संस्थाहरुमा सुत्केरी प्रतिक्षा घरहरुको स्थापना गरी व्यवस्थित र सुविधा सम्पन्न बनाइने छ ।
४. खानेपानी, सिचाइ तथा जलस्रोत
– “एक घर, एक धारा” को अवधारणा बमोजिम प्रत्येक घरमा स्वच्छ खानेपानी सुविधा उपलब्ध गराउन मुहान संरक्षण, ग्राभिटी तथा लिफ्ट खानेपानी आयोजनाहरू संचालन गरिने छ ।
– जिल्लाका तिनै पालिकाहरुमा हाल सञ्चालनमा रहेका खानेपानी योजनाहरू यथासक्य सम्पन्न गर्न आवश्यक पहल गर्ने ।
– सिँचाइ प्रणालीहरूको स्तरोन्नति गर्ने, सिँचित क्षेत्र विस्तारका लागि सतह सिँचाई र लिफ्ट सिँचाइ आयोजना मार्फत जिल्लाका सिंचाईयोग्य कृषि भूमिमा बाह्रैमास सिँचाइ सुविधा पुर्‍याउने ।
— पानीको परम्परागत स्रोतबाट सिँचाइको सम्भावना नभएका कृषियोग्य क्षेत्रहरूमा आकासे पानी संकलन, पोखरी निर्माण र अन्य वैकल्पिक माध्यमबाट सिँचाई सुविधा पुर्‍याउने ।
५. सूचना, संचार तथा विद्युतीकरण
– सबै गाउँमा भरपर्दो सूचना तथा संचारका लागि “नो नेटवर्क” जोनहरूमा उच्च क्षमताका टावर थपेर फोर जी सेवाको पहुँचलाई सुनिश्चित गर्ने / इन्टरनेट पुर्‍याउने ।
– सबै गाउँमा भरपर्दो, सुरक्षित, गुणस्तरीय र नियमित विद्युत सेवा उपलब्ध गराउनका लागि आवश्यक प्रविधि तथा पूर्वाधार सुधार गर्ने ।
– ग्रामिण जलविद्युत् उत्पादनका लागि स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न लगानीमैत्री वातावरण निर्माणका लागि पहल गर्ने । जलविद्युत् आयोजनाहरुमा “हाम्रो पानी, हाम्रै लगानी” स्थानीय जनताको लगानी सुनिश्चित गर्ने र रोयल्टीको ठूलो हिस्सा स्थानीय विकासमा खर्च गर्ने नीतिगत पहल गर्ने ।
– जिल्लाका ३१ वटै वडाहरुमा केन्द्रीय विद्युत प्रसारण लाइन विस्तार गरिनेछ ।
६.उद्यम विकास तथा रोजगारी सिर्जना
– युवा उद्यमशीलता र रोजगारीको ग्यारेन्टी गरिनेछ ।
– अनुकूल नीतिगत सहजीकरण, वित्तीय पहुँचको सुनिश्चितता, वित्तीय संस्थाको निश्चित रकम अनिवार्य रूपमा युवा उद्यमशीलता तथा नवप्रवद्र्धनका लागि “युवा स्वरोजगार कोष” मार्फत बिना धितो ऋणको व्यवस्था गर्ने ।
– कृषि उद्यम मार्फत रोजगारी सिर्जना तथा कृषकहरूको जीवनस्तर सुधारका लागि स्थानीय तहमा एक विशिष्टीकृत उत्पादनसँगै कृषकलाई आवश्यक पर्ने खरिद तथा बिक्री सेवा केन्द्रहरू स्थापना गर्न नीतिगत सहजीकरण गर्ने ।
– वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, व्यवस्थित र उच्च प्रतिफलयुक्त बनाउन, ठगी नियन्त्रण गर्न र वैदेशिक रोजगारदाताबाट लागत व्यहोर्ने (शून्य लागत) प्रणाली कार्यान्वयन गर्न जोड दिने ।
– गरीब तथा विपन्न वर्गलाई वैदेशिक रोजगारीमा जानको लागि आवश्यक पर्ने रकम सरकारको जमानीमा पाउने व्यवस्था मिलाउने ।
– छरिएर रहेका व्यावसायिक तथा तालिम तथा प्रशिक्षणलाई प्रभावकारी बनाउन एकीकृत तथा आवासीय प्रशिक्षण केन्द्र स्थापना गर्ने ।
– परम्परागत सीपलाई समय सापेक्ष आधुनिकीकरण गरी बजारमा प्रतिस्पर्धी बनाउन थप तालिम, आधुनिक मेसिन र सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने ।
– भूमेको झुम्लाबाङ्गमा रहेको फलाम खानीलाई आधुनिक प्रविधि प्रयोग गरी  सञ्चालनमा ल्याउन र स्थानीयलाई रोजगारी दिन पहल गर्ने ।
७. कृषि, वन पैदावार तथा पशुपालन
– कृषि, जडीबुटी र पशुपालनमा आधारित आत्मनिर्भर रुकुम पूर्व बनाई जिल्लाको अर्थतन्त्रमा टेवा पुर्‍याइने छ ।
– कृषिमा युवाहरूको आकर्षण वृद्धि गर्न कृषि पूर्वाधार (सडक, ऊर्जा, सिंचाई, यातायात सेवा, संकलन केन्द्र, चिस्यान केन्द्र (गोदाम घर) कृषि प्रविधि, कृषि उपजको भण्डारण, प्रशोधन, ढुवानी र उत्पादित वस्तुको बजार सुनिश्चित गर्ने ।
– प्रतिस्पर्धी र तुलनात्मक लाभको आधारमा एउटा वडा दुई मुख्य उत्पादनलाई जोड दिई “सुपरजोन” र “विशेष उत्पादन जोन” विकास गरी कृषिका व्यावसायीकरण गर्ने ।
– महिलाहरुको सीप प्रवद्र्धन गर्दै आधुनिक राडीपाखी तथा अल्लो प्रशोधन तथा उद्योग विकास गरिने ।
– उत्तरी क्षेत्रका बस्तीहरुमा भेडा तथा च्यांग्राको व्यवसायिक पालन कार्यक्रम ।
– स्थानीय तहले तय गरेको कृषि तथा पशुपंक्षी पकेट बमोजिम आधुनिकीकरणमा सहयोग तथा कृषि एम्बुलेन्स व्यवस्था गरी बजारीकरणमा सहयोगका लागि पहल गर्ने ।
– जिल्लालाई पूर्ण रुपमा प्रांगारिक क्षेत्र घोषणा गरी उत्पादित कृषि उपजको लेबलिङ ब्रान्डिङ ट्यागमा पहल गर्ने ।
८.मौलिक कला संस्कृतिको संरक्षण तथा पर्यटन
– रुकुम पूर्वलाई सांस्कृतिक तथा प्राकृतिक पर्यटन प्रवद्र्धन गर्दै उत्कृष्ट पर्यटकीय हबको रुपमा विकास गरिने छ । जस्को लागि ग्रामीण भेगमा होमस्टेहरुको स्थापना सञ्चालन गरिने छ ।
– मगर संस्कृति को जगेर्ना र पहिचान सहित पुरातकित्व र ऐतिहासिक स्थलहरुको संरक्षण गरिने छ ।
– स्थानीय समुदायको अतिथि–सत्कार, मौलिक परिकार, भूमे नाच, लोकगीत–नृत्य, अन्य चाडपर्व र सांस्कृतिक संस्कृतिको संरक्षण गर्दै सांस्कृतिक पदमार्ग निर्माण गर्ने ।
– बहुसांस्कृतिक ग्राम डबली स्थापना धार्मिक पर्यटकीय हब गुम्बा, मन्दिर, चर्च र धार्मिक स्थलहरुको जिर्णोद्धार गरी अन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने गुरु योजना बनाउने ।
– भूमे पर्व र लुकुमको झाँक्री नाच लगायत जिल्लाका अन्य महत्वपूर्ण चाडपर्वहरुलाई राष्ट्रिय पहिचान दिलाउने ।
– मगर खाम भाषाको संरक्षणका लागि स्थानीय पाठ्यक्रममा समावेश गर्न प्रोत्साहन गर्ने ।
– स्थानीय मौलिक परिकारलाई संरक्षण संवद्र्धन गर्नको लागि महोत्सव आयोजना गर्न आवश्यक स्रोत जुटाउने साथै स्थानीय पाठ्यक्रममा समावेश गर्ने ।
– परम्परागत जातीय भेषभूषाको संरक्षणका लागि विद्यालय तथा कार्यालयहरूमा आफ्नो जातीय भेषभूषाको समेत प्रयोग गर्न पाउने व्यवस्था मिलाउने ।
– रुकुमकोट, नायगाड,गुप्तादह तोरीद्वारी हुँदै डोल्पाको शेफोक्सुण्डो जोड्ने पदमाार्ग, तकसेरा, रन्मा हुँदै सुनदह जोड्ने पदमार्ग, मैकोटदेखि पुपालदह सम्म जोडने पदमार्ग, सेरादेखि चौंरीखर्क सम्म जोड्ने पदमार्ग, पातिहाल्ने देखि चौंरीखर्कसम्म जोड्ने पदमार्ग,बिर्गुम देखि फागुने सम्म जोड्ने पदमार्गहरुको निर्माण गरिनेछ ।
– सिस्ने ३ पोखरा तातोपानी, डिम्मुरगैरा तातोपानी, पेल्मा तातोपानीको दिगो व्यवस्थापनको पहल गर्ने  ।
– कला घरको स्थापनाः बाजा तथा नाचको संरक्षण जस्तैः पञ्चे बाजा, डम्फू, खैजडी नाच लगायत वाद्यवादनहरूको संरक्षण संवद्र्धनका लागि कलाघरको स्थापना गर्ने ।
– जनजाति संस्कति तथा पहिचान जोडिएका तकसेरा, महत, काँक्री, लुकुम, कोल, मैकोट बस्तीको भौतिक स्वरुप नबिग्रिने गरी ढल, शौचालय, बाटा,े विकास गरिने र नयाँ बन्ने घरहरुको पुरानो मौलिक स्वरुप नबिग्रिने गरी भूकम्प प्रतिरोधी मापदण्ड कायम गरिने ।
– जनजाति संस्कति तथा पहिचान जोडिएका तकसेरा, महत, काँक्री, लुकुम, कोल, मैकोट बस्तीको भौतिक स्वरुप नबिग्रिने गरी ढल, शौचालय बाटो विकास गरिने र नयाँ बन्ने घरहरुको पुरानो मौलिक स्वरुप नविग्रिनेगरी भूकम्प प्रतिरोधी मापदण्ड कायम गरिने ।
– नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्षको माध्यमबाट पर्यटन प्रवद्र्धनको लागि पहल गरिनेछ ।
९. प्राकृतिक श्रोत व्यवस्थापन
– जडिबुटी संरक्षण तथा संवद्र्धन गरिनुका साथै संभाव्यता अध्ययनका आधारमा बढी मूल्य जाने जडीबुटी खेतीको विस्तार गरिने साथै प्रशोधन केन्द्रको स्थापना
– नाङ्गा खाली रहेका पाखाहरुमा क्ष्लतभलकष्खभ एबिलतबतष्यल एचयनचबm सञ्चालन गरिने
– यार्सागुम्बा, गुच्ची च्याउ, सतुवा, कटुकी, बिख्मा, पदमचाल लगायतका बहुमूल्य जडिबुटीहरुको उचित संरक्षण, संवद्र्धन, संकलन तथा बजारीकरणमा आवश्यक पहल गरिने छ ।
– ढोरपाटन शिकार आरक्ष तथा बफरजोन क्षेत्रका समुदाय बीचको विवाद समाधानको लागि यथोचित पहल गरिने छ ।
१०. विपद् व्यवस्थापन
– धेरै चट्याङ पर्ने उच्च हिमाली तथा पहाडी क्षेत्रमा अनिवार्य अर्थिङ जडान गर्ने र जसको लागि सरकारको तर्फबाट अनुदान दिने व्यवस्था मिलाउने ।
– जलजन्य विपद् जोखिम न्यूनीकरणका लागि स्वचालित मौसमी पूर्वानुमान प्रणाली जडान गर्ने ।
– नदी कटान, भू–क्षय, पहिरो रोकथामका लागि आवश्यक पहल गर्ने ।
– विपद् पूर्वतयारी, विपद् प्रतिकार्य र समुदायमा आधारित स्थानीय विपद् उत्थानशील योजनाहरूलाई प्रभावकारी रूपमा लागू गर्न नीतिगत तथा स्रोतको व्यवस्था गर्ने ।
११. युवा र खेलकुद
– खेलकुदको विकासका लागि जिल्लामा प्रदेश स्तरीय खेलकुद आयोजना गर्न सक्ने १ वटा स्टेडियम र प्रत्येक पालिकामा जिल्लास्तरीय खेलकुद आयोजना गर्न सक्ने एक पालिका एक स्टेडियम निर्माणमा जोड दिने ।
– सम्भावना बोकेका प्रतिभाशाली खेलाडीहरूलाई राष्ट्रिय–अन्तरराष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्न जिल्लामा १ वटा आवासीय प्रशिक्षण केन्द्र स्थापना गर्ने ।
– एल्टिच्युड ट्रेनिङ सेन्टरः पुथा उत्तरगंगाको अग्लो भूगोललाई उपयोग गर्दै खेलाडीहरुको अभ्यासका लागि हाई एल्टिच्युड खेल मैदान निर्माण गर्ने ।
– विद्यालय तहदेखि नै खेलकुद, कला साथै योग र ध्यानमा जोड दिँदै प्रत्येक विद्यालयमा एकजना खेलकुद प्रशिक्षक तयार गर्न शिक्षकलाई तालिमको व्यवस्था गर्ने ।
१२. शहरी विकास
– गाउँबाट बसाइँ सराइँको बढ्दो क्रमलाई रोक्नका लागि एक स्थानीय तह एक ग्रामीण सहरका रूपमा विकास गर्न शहरी पूर्वाधार निर्माण गर्ने ।
– सिस्नेको रुकुमकोट, भूमेको लुकुम र पुथा उत्तरगंगाको तकसेरामा गुणस्तरीय, सुरक्षित र आकर्षक शहरको रूपमा विकास गर्न गुरूयोजना सहित शहरी पूर्वाधार निर्माणमा तीन तहको सरकारको लगानी र सहकार्य गर्ने ।
– मैकोट, तकसेरा, लुकुम, महत लगायतका सुन्दर बस्तीहरुलाई मौलिकता झल्कने आकर्षक बस्तीको रुपमा विकास गर्ने ।
१३. सुशासन प्रवद्र्धन
– सुशासन, पारदर्शिता र जनउत्तरदायी प्रतिनिधित्वको ग्यारेन्टि गरिने छ ।
– सार्वजनिक सुनुवाइ, सामाजिक लेखापरीक्षण र जवाफदेही राजनीतिक संस्कारको विकास गरिने छ ।
–  कृत्रिम बौद्धिकताको प्रयोगलाई व्यवस्थित र सुरक्षित बनाउन नीगिगत र संरचनागत व्यवस्था गर्ने ।
– राष्ट्रिय डाटा सार्वभौमिकता, गोपनीयता तथा साइबर सुरक्षालाई सुदृढ बनाउन पहल गर्ने ।
– ई–शासन, भ्रष्टाचार न्यूनीकरण, विधिको सरकार, विद्युतीय सरकारमार्फत शासकीय प्रबन्ध, नीतिगत एवं कानुनी सुधार गर्ने ।
– तथा लैंगिक समानता, सामाजिक न्याय समावेशितालाई स्थानीयकरण एवं मूलप्रवाहीकरण गर्ने ।
– विकास स्रोत, साधन र अवसरमा सबै वर्ग, लिंग, समुदायको पहुँच र लाभका लागि सन्तुलित, समावेशी र दिगो विकास अवधारणामा जोड दिने ।
– एकल महिल, दलित, सीमान्तकृत, अपाङ्गता भएका व्यक्ति र पछाडि परेका वा पारिएका नागरिकहरुको समावेशी विकासमा जोड दिईने छ ।
– जेष्ठ नागरिकका लागि सम्मानजनक जीवन यापनमा ध्यान दिँदै सवै वडाहरुमा जेष्ठ नागरिक दिवा सेवा केन्द्रहरु तथा जेष्ठ नागरिक मिलन केन्द्रहरुको स्थापना गरिने छ ।
– न्याय प्रणाली प्रभावकारी र पारदर्शी बनाउने ।
– अपर्याप्त र बाधक रहेका ऐन नियम लगायत खरिद ऐन, शिक्षा ऐन, स्वास्थ्य ऐन, निजामती सेवा ऐन निर्माण गर्न प्राथमिकता दिने ।
– न्याय प्रणाली प्रभावकारी र पारदर्शी बनाउने ।
१४.द्धन्द्धकालिन समयमा भएका यौनजन्य हिंसा पीडितका सवाल
– गोपनीयता कायम गरी यौन हिंसा पीडितको पहिचान गर्दै शान्ति सम्झौतामा उल्लेख भए अनुसार सबै पीडितको शारिरिक र मानसिक उपचार तथा मनोपरामर्श निःशुल्क गर्ने ।
– न्याय प्रक्रिया पारदर्शी बनाउने ।
– संक्रमणकालीन न्याय टुङ्गाउन शान्ति सम्झौताको वाचा र अन्तरराष्ट्रिय कानूनको पालना गर्दै सत्य निरुपण तथा मेलमिलाप आयोगमा परेका उजुरीलाई सम्बोधन गर्ने ।
– योजना निर्माण देखि कार्यान्वयन तह सम्म पीडितको सहभागिता सुनिश्चित गर्र्नेे ।
– यौन हिँसा पीडितलाई सामाजिक र आर्थिक रुपमा सम्मान जनक परिपूरण गर्ने ।
१५. महिला सशक्तीकरण र समानताको लागि विशेष मुद्दाहरु
(क) राजनीतिक सहभागिता र नेतृत्व
– संघ, प्रदेश र स्थानीय तहका सबै निकायमा महिलाहरुको अर्थपूर्ण सहभागिता र नेतृत्व सुनिश्चितता गर्ने ।
– नीति निर्माण तहमा महिलाका लागि नेतृत्व विकास, तालिम तथा क्षमता बिकाशका कार्यक्रम ।
– राजनीतिक दलभित्र महिला सहभागितालाई निर्णयायक भूमिकासम्म पुर्‍याउने ।
(ख) आर्थिक सशक्तीकरण
– महिलाका लागि विशेष रोजगारी, स्वरोजगार र उद्यमशीलता कार्यक्रम ।
– सस्तो ब्याजदरमा कर्जा, बीउ–पूँजी र बजार पहुँच ।
– घरेलु तथा श्रम–आधारित कामको आर्थिक मूल्याङ्कन ।
– वैदेशिक रोजगारीमा जाने महिलाको सुरक्षा र सीप अभिवृद्धि ।
(ग) शिक्षा, सीप र प्रविधि
– सबै छोरीका लागि निःशुल्क, गुणस्तरीय र अनिवार्य शिक्षा ।
– प्राविधिक, व्यावसायिक तथा डिजिटल सीपमा महिलालाई प्राथमिकता ।
– उच्च शिक्षा र अनुसन्धानमा महिला छात्रवृत्ति ।
– विद्यालय र कलेजमा सुरक्षित, लैंगिकमैत्री वातावरण निर्माण ।
(घ) स्वास्थ्य र प्रजनन अधिकार
– महिलाका लागि निःशुल्क प्रजनन, मातृ तथा मानसिक स्वास्थ्य सेवा ।
– सुरक्षित मातृत्व, पोषण र महिनावारी स्वच्छता कार्यक्रम ।
– दुर्गम क्षेत्रमा महिला स्वास्थ्यकर्मीको पहुँच ।
– महिला स्वास्थ्य सम्बन्धी सेवा सहज, गोप्य र सम्मानजनक बनाउने ।
(ङ) हिंसा विरुद्ध शून्य सहनशीलता
– लैंगिक हिंसा, घरेलु हिंसा, यौन दुव्र्यवहार तथा मानव बेचबिखन विरुद्ध कडा कानुनी कार्यान्वयन ।
– पीडित महिलाका लागि निःशुल्क कानुनी सहायता, मनोसामाजिक सहयोग र सुरक्षित आवास निर्माण ।
– छिटो न्यायका लागि विशेष संयन्त्रको ब्यबस्था ।
– लैगिंक हिंसा बिरुद्धका सचेतना तथा क्षमता विकाशका कार्यक्रम ।
(च) सामाजिक सुरक्षा र सम्मानजनक जीवन
– एकल, अपांगता भएका, ज्येष्ठ तथा जोखिममा रहेका महिलाका लागि लक्षित सामाजिक सुरक्षा कार्यक्रम ।
– श्रमिक महिलाका लागि सुत्केरी बिदा, बीमा र सुरक्षित कार्यस्थल ।
– महिलाको श्रम, योगदान र सम्मान सुनिश्चित ।
(छ) संस्कृति, चेतना र सामाजिक रूपान्तरण
– लैंगिक समानतामूलक शिक्षा र जनचेतना अभियान ।
– पाठ्यक्रम र सञ्चार माध्यममा महिलाको सकारात्मक छवि ।
– विभेदकारी सामाजिक प्रथाको अन्त्य ।
अन्तमा, म रुकुम पूर्व निवासी नागरिकको प्रतिनिधिको रूपमा प्रतिनिधिसभाको सदस्यको हैसियतले गर्नुपर्ने धेरै कुराहरू भएता पनि सारसंक्षेपमा आफ्नो अवधारणा मात्र अघि सारेको छु । यसर्थ, रुकुम पूर्ववासी नागरिकको माग, आवश्यकता वा अपेक्षा सबै नसमेटिएका हुनसक्छन् । निर्वाचित भइसकेपछि पुनः यहाँहरूको बीचमा थप छलफल सरसल्लाहबाट मैले खेल्नुपर्न भूमिकाका लागि सदैव तत्पर रहेको व्यहोरा समेत सविनय जानकारी गराउँदछु ।
पुनः यहाँहरूको अमूल्य मतको अपेक्षासहित हार्दिक अभिवादन ।
लिलामणि गौतम 
प्रतिनिधि सभा सदस्य पदको उमेदवार
रुकुम पूर्व
मितिः २०८२/१०/२२

One thought on “रुकुम पूर्वमा एमालेका उम्मेदवार गौतमद्धारा ‘प्रतिवद्धता-पत्र’ सार्वजनिक (प्रतिवद्धता-पत्रको पुर्णपाठ सहित)

  1. धेरै राम्रो प्रतिबद्धता बधाई छ
    १. रोजगार तथा स्वरोजगार
    २. शिक्षा र सीप बिकास
    ३. स्वास्थ्य तथा मानसिक स्वास्थ्य
    ४. सुशासन र युवा सहभागीता
    ५. खेलकुद कला र संस्कृति
    ६. सडक र खानेपानी
    ७. संचार र बिधुत सरसफाइ र जन्ता परिवर्तन नमस्कार धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *