साउदी अरबमा रक्सी बनाएर बेचेको आरोपमा ‘सयौँ’ नेपालीहरू जेलमा
साउदी अरबमा रक्सी बनाएर बेचेको आरोपमा ‘सयौँ’ नेपालीहरू जेलमा
साउदी अरब नेपालको एउटा प्रमुख श्रम गन्तव्य हो र त्यहाँ झन्डै चार लाख नेपालीहरू रहेको बताउने गरिन्छ। रियादस्थित नेपाली राजदूतावासका प्रथम सचिवले बीबीसीसँग कुरा गर्दै बढी आम्दानी हुने लोभले नेपालीहरू मदिरा सेवन र बेचबिखनसँग सम्बन्धित कसुरमा पर्ने गरेको बताए।
नेपाली श्रम अधिकारीहरूले साउदी अरबसहितका श्रम गन्तव्य प्रस्थान गर्नुअघि दिइने अभिमुखीकरण कार्यक्रमहरूमा ती देशमा गर्न नहुने गतिविधिहरूबारे जानकारी गराउने गरिएको भन्दै यसलाई अझ सशक्त बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।
रक्सीले कति नेपालीलाई जेलमा पुर्याएको छ?
रियादस्थित नेपाली राजदूतावासले साउदी अरबको जेल प्रशासनले उपलब्ध गराएको आँकडालाई उद्धृत गर्दै ४८० जना जति नेपाली उक्त खाडी देशका जेलहरूमा रहेको जनाएको छ। वास्तविक सङ्ख्या त्यो भन्दा बढी हुनसक्ने उल्लेख गर्दै राजदूतावासका प्रथम सचिव टोपनारायण गिरीले ८० देखि ८५ प्रतिशत नेपालीहरू मदिरा सेवन, ओसारपसार र उत्पादनको कसुरमा जेलमा रहेको बताए ।
उनी भन्छन्, ‘घरेलु मदिरा उत्पादन, विक्री वितरण, ओसारपसार र सेवन गरेको आरोप जेलमा रहेको धेरैलाई लागेको छ। सबैलाई साउदी अरबमा मदिरा गैरकानुनी हो भन्ने थाहा छ। तर थाहा हुँदा हुँदै पनि पक्राउ परिएन भने छोटो समयमा टन्न पैसा कमाई हुन्छ भन्ने लोभले यो निरुत्साहित भइरहेको छैन।’ सात दशकदेखि मदिरामाथि प्रतिबन्ध लगाएको साउदी अरबमा मदिरा राख्ने वा बेचबिखन गर्नेलाई जरिवाना गराउने देखि जेलमा थुन्ने र कोर्रा हान्नेसम्मको सजाय तोकिएको छ।
ज्यानुअरीको अन्तिम साता साउदी अरबले गैर मुस्लिम कूटनीतिज्ञहरूका निम्ति मदिरा बिक्री गर्ने अनुमति दिन लागेको घोषणा गरेको थियो। बीबीसीले नेपालीले प्राप्त गरेको विवरणमा कैयौँ नेपालीहरूलाई मदिरा उत्पादनसहितको कसुरमा सजाय दिइएको र कैयौँमा सजाय सुनाउन बाँकी नै रहेको उल्लेख छ ।
के नेपालीले साँच्ची नै साउदी अरबमा रक्सी उत्पादन गर्छन्?
पक्राउ परेका नेपालीहरूमाथि बेचबिखनको लागि मदिराको उत्पादन गर्ने गरेको आरोप लगाइएको छ। तर मदिराबारे त्यति कठोर नीति अँगालेको साउदी अरबमा नेपाली श्रमिकहरूले कसरी मदिरा उत्पादन गर्न सकिरहेका भन्ने प्रश्न कैयौँले सोध्ने गरेको पाइन्छ।
त्यसको जबाफमा नेपाली राजदूतावासका सूचना अधिकारीसमेत रहेका गिरीले भने, ‘वहाँहरूले ठ्याक्कै यहीँ गरेर ल्याएको हामीलाई भन्नुहुन्न। तर हामीले सुने अनुसार नेपालमा घरेलु रक्सी उत्पादन गर्ने मर्चा भन्ने जुन हुन्छ, त्यसलाई वहाँहरूले पिठो लगायतमा राखेर ल्याउनुहुन्छ। यहीँ पाइने अन्न गहुँ, चामल अनि खजुर पनि राखेर रक्सी उत्पादन गर्नुहुन्छ भन्ने हामीले सुनेका छौँ।’
कम्पनीमा काम गर्दा प्राप्त हुने न्यूनतम तलबभन्दा धेरै आम्दानी हुने भएकाले कैयौँ नेपालीहरू पक्राउ पर्दा समेत रक्सी उत्पादन गर्ने वा बेचबिखन गर्न निरुत्साहित गर्न नसकिएको उनको भनाइ छ। उनले भने, “पक्राउ परिएन भने छोटो समयमा नै धेरै पैसा कमाइन्छ भन्ने लोभले मानिसहरू यसमा लागिरहेका छन्।”
नेपाली मात्र नभएर भारतीय, बाङ्गलादेशी र अन्य मुलुकका आप्रवासी कामदारहरू पनि मदिरा सेवन गरेको आरोपमा जेलहरूमा रहेको बताइन्छ। भारतीय विदेश मन्त्रालयले साउदी जेलमा रहेका आफ्ना नागरिकको सङ्ख्या २२ सय रहेको जनाएको छ। केही समय पहिले दमाम केन्द्रीय कारागारमा रहेका भारतीय बन्दीमध्ये अधिकांश मदिरा र लागु औषध सम्बन्धित कसुरमा जोडिएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका थिए।
नेपाली अधिकारीहरू पनि गैरकानुनी घोषित मदिराको उत्पादन र बेचबिखनमा साउदी अरबमा गिरोह नै लागेको हुनसक्ने ठान्छन्। नेपाली राजदूतावासका प्रथम सचिव गिरीले भने, ‘यस्तो कामहरू सङ्गठित रूपमा गर्ने गिरोह नै छ भन्ने कुरा सुनिन्छ। नेपालीहरू लहलहैमा लागेको र आफैँले नेतृत्व गर्ने गरेको भन्ने पनि छ। जेल परेर निस्किएका मानिसहरूले यस्तो छ भनेर सुनाउने गर्छन्।”
वैदेशिक रोजगार विभाग के भन्छ?
वैदेशिक रोजगारीमा जाने नेपालीहरूलाई श्रम स्वीकृति दिने र विदेश प्रस्थान गर्नुअघि उनीहरूको अभिमुखीकरणलाई नियमन गर्ने जिम्मेवारी पाएको वैदेशिक रोजगार विभागले साउदी अरबको उक्त समस्याबारे आफू जानकार रहेको प्रतिक्रिया दिएको छ।
विभागका निर्देशक कविराज उप्रेतीले बीबीसीसँग भने, “वैदेशिक रोजगारीमा जानुअघि हाम्रोमा दुई दिनको अभिमुखीकरण तालिम हुन्छ, त्यसमा जान लागेको देशको संस्कृति, त्यहाँ प्रतिबन्धित कामबारे जानकारी गराइन्छ। अहिले जुन समस्या देखियो त्यसलाई सम्बोधन गर्न अभिमुखीकरण थप बलियो बनाउनुपर्छ।”
रियादस्थित नेपाली राजदूतावासका गिरीले भने, “साउदी अरबमा मदिरा पूर्णतया प्रतिबन्ध छ। यहाँ यस्तो खालको गतिविधि गर्यो भने दुख पाइन्छ, परिवारको सदस्यले पनि दुख पाउँछन्, पैसा पनि खर्च हुन्छ भन्नेमा सजग बनाउन सकियो भने यस्तो घटना अलिक कम होला।”
साउदी सरकारले आफ्नो मुलुकमा वैध रूपमा ३ लाख २० हजार भन्दा बढी नेपाली रहेको बताउने गर्छ। तर अवैध रूपमा पनि हजारौँ नेपालीहरू उक्त खाडी देशमा भएको हुनसक्ने नेपाली अधिकारीहरू सुनाउँछन्।
बीबीसी न्यूज नेपालीबाट..
hello!,I like your writing so so much! percentage we be in contact extra about your article on AOL? I require a specialist in this area to unravel my problem. Maybe that’s you! Looking ahead to peer you.