साइप्रसको कम्युनिस्ट पार्टीको शतवार्षिकी समारोहमा एमाले नेता ज्ञवालीको सम्बोधन, समाजवाद र अन्तर्राष्ट्रिय ऐक्यबद्धतामा जोड
साइप्रसको कम्युनिस्ट पार्टीको शतवार्षिकी समारोहमा एमाले नेता ज्ञवालीको सम्बोधन, समाजवाद र अन्तर्राष्ट्रिय ऐक्यबद्धतामा जोड
साइप्रसको राजधानी निकोसियामा नोभेम्बर ७, २०२६ मा आयोजित कार्यक्रममा सम्बोधन गर्दै नेता ज्ञवालीले AKEL को एक शताब्दी लामो राजनीतिक संघर्ष, राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, पुनःएकीकरण, सामाजिक न्याय र मानव मुक्तिप्रतिको प्रतिबद्धताको प्रशंसा गरे।
उनले वर्तमान विश्व गहिरो भू–राजनीतिक, आर्थिक र प्राविधिक परिवर्तनबाट गुज्रिरहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय सम्बन्धमा शक्तिको प्रभुत्वभन्दा अन्तर्राष्ट्रिय कानुन, सार्वभौमसत्ता र संवादलाई प्राथमिकता दिनुपर्ने बताए। शान्ति शक्तिशाली राष्ट्रहरूको विशेषाधिकार नभई प्रत्येक राष्ट्रको मौलिक अधिकार भएको उनको भनाइ थियो।
पुँजीवादको संकट र समाजवादको विकल्प
समकालीन पुँजीवादले विश्वमा सम्पत्ति र उत्पादन क्षमता बढाए पनि त्यसको लाभ समान रूपमा वितरण गर्न नसकेको ज्ञवालीले बताए। विश्वको आर्थिक संरचनाले सीमित धनाढ्य वर्गको हित संरक्षण गरिरहेको र ठूलो जनसंख्या गरिबी, बेरोजगारी, महँगी तथा सामाजिक असुरक्षाबाट प्रभावित भइरहेको उनको भनाइ थियो।
जलवायु संकट, प्राकृतिक स्रोतको अनियन्त्रित दोहन र वातावरणीय विनाशलाई पनि वर्तमान आर्थिक प्रणालीका गम्भीर चुनौतीका रूपमा प्रस्तुत गर्दै उनले प्रविधि र कृत्रिम बौद्धिकता मानव कल्याणका लागि प्रयोग हुनुपर्ने बताए।
ज्ञवालीले समाजवादलाई विगतको संघर्षको स्मृतिमा सीमित नराखी वर्तमान विश्वका असमानता, शोषण र आर्थिक संकटको विकल्पका रूपमा विकास गर्नुपर्ने धारणा राखे। मार्क्सवादलाई जड सिद्धान्तका रूपमा नभई प्रत्येक देशको विशिष्ट इतिहास, संस्कृति र परिस्थितिअनुसार सिर्जनात्मक रूपमा प्रयोग गर्नुपर्ने उनको भनाइ थियो।
अति दक्षिणपन्थी प्रवृत्तिविरुद्ध वामपन्थी एकता आवश्यक
सम्बोधनका क्रममा उनले विश्वमा अति दक्षिणपन्थी लोकरिझ्याईँ, अधिनायकवाद र नवफासीवादी प्रवृत्तिको पुनरुत्थान लोकतन्त्र, मानव अधिकार र अन्तर्राष्ट्रिय शान्तिका लागि चुनौती बन्दै गएको बताए।
यस्ता प्रवृत्तिको सामना गर्न वामपन्थी शक्तिहरूले श्रमिक, युवा, किसान, महिला, बुद्धिजीवी तथा सीमान्तकृत समुदायसँग आफ्नो सम्बन्ध थप सुदृढ बनाउनुपर्ने उनले उल्लेख गरे।
राजनीतिक आन्दोलनले जनताको दैनिक जीवनसँग जोडिएका रोजगारी, उचित ज्याला, आवास, शिक्षा, स्वास्थ्य सेवा र सामाजिक सुरक्षाका मुद्दालाई प्राथमिकतामा राख्नुपर्ने उनको धारणा थियो।
नेपालको लोकतान्त्रिक अभ्यास र एमालेको अनुभव प्रस्तुत
ज्ञवालीले सम्बोधनका क्रममा नेपालको राजनीतिक परिवर्तन र नेकपा एमालेको अनुभवसमेत अन्तर्राष्ट्रिय प्रतिनिधिहरूसमक्ष प्रस्तुत गरे।
उनले एमाले मार्क्सवाद र जनताको बहुदलीय जनवादबाट निर्देशित रहेको उल्लेख गर्दै राजनीतिक बहुलवाद, संवैधानिक शासन, बहुदलीय प्रतिस्पर्धा र सामाजिक न्यायलाई एकीकृत गर्ने नेपाली मौलिक अवधारणाका रूपमा जनताको बहुदलीय जनवादलाई व्याख्या गरे।
नेपालमा निरंकुश शासनविरुद्धको संघर्ष, २०६२–६३ को जनआन्दोलन, राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा एमालेले अग्रणी भूमिका निर्वाह गरेको उनले बताए।
ुसमृद्ध नेपाल, सुखी नेपालीु को राष्ट्रिय आकांक्षालाई उल्लेख गर्दै आर्थिक विकाससँगै सामाजिक न्याय, समावेशीकरण, सामाजिक सुरक्षा र कमजोर वर्गको संरक्षण सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए।
नेपालले पछिल्ला वर्षहरूमा राजनीतिक अस्थिरता र हिंसात्मक अवरोधको सामना गरेको उल्लेख गर्दै उनले लोकतन्त्रमा शान्तिपूर्ण विरोध, असहमति र संवैधानिक जवाफदेहिताको सुनिश्चितता हुनुपर्ने बताए।
युवा पुस्ताका आकांक्षालाई लोकतान्त्रिक संस्थाहरूमार्फत सम्बोधन गर्नुपर्ने उल्लेख गर्दै उनले लोकतान्त्रिक संस्थाहरूको विनाशलाई क्रान्ति मान्न नसकिने र राजनीतिक परिवर्तनको माध्यम हिंसा हुन नहुने धारणा राखे।
नेपालको परराष्ट्र नीतिमा सार्वभौम समानता र असंलग्नताको पक्षपोषण
ज्ञवालीले नेपालको परराष्ट्र नीति सार्वभौम समानता, भौगोलिक अखण्डता, अहस्तक्षेप, असंलग्नता र पारस्परिक लाभका सिद्धान्तमा आधारित रहेको स्पष्ट पारे।
राष्ट्रहरू आकार, आर्थिक अवस्था र सैन्य शक्तिका आधारमा फरक भए पनि सार्वभौम मर्यादाका दृष्टिले समान रहेको उल्लेख गर्दै उनले साना तथा विकासोन्मुख राष्ट्रले आफ्नो विकासको बाटो आफैँ तय गर्न पाउनुपर्ने बताए।
भू–राजनीतिक स्वार्थका कारण कुनै पनि देशको आन्तरिक असन्तुष्टिलाई राजनीतिक अस्थिरता निम्त्याउने माध्यम बनाउन नहुने उनको भनाइ थियो।
अन्तर्राष्ट्रिय वामपन्थी एकतामा जोड
सम्बोधनको अन्त्यमा ज्ञवालीले विश्वव्यापी वामपन्थी आन्दोलनलाई नयाँ परिवेशअनुसार पुनर्गठित र सुदृढ बनाउन अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए।
शान्ति, श्रमिक अधिकार, लोकतान्त्रिक स्वतन्त्रता, सामाजिक सुरक्षा र जलवायु न्यायका पक्षमा वामपन्थी तथा प्रगतिशील शक्तिहरूले प्रतीकात्मक ऐक्यबद्धताभन्दा व्यावहारिक संयुक्त पहल गर्नुपर्नेमा उनले जोड दिए।
