रुकुमको धार्मिक तथा सांस्कृतिक धरोहर डिग्रे मन्दिर गीतमा, बसन्त र मेलिनाको स्वरमा ‘बिग्रे म त बिग्रे’

रुकुमको धार्मिक तथा सांस्कृतिक धरोहर डिग्रे मन्दिर गीतमा, बसन्त र मेलिनाको स्वरमा ‘बिग्रे म त बिग्रे’

"0" Comments

रुकुम पश्चिम। रुकुम पश्चिमको धार्मिक तथा सांस्कृतिक पहिचान बोकेको ऐतिहासिक डिग्रे भाइ कुमारी भगवती मन्दिर अब नेपाली लोकसंगीतमा पनि समेटिएको छ। जिल्लाको प्रसिद्ध धार्मिकस्थल डिग्रे मन्दिर र त्यहाँ लाग्ने ऐतिहासिक मेलालाई सांगीतिक रूपमा प्रस्तुत गर्दै नयाँ गीत ‘बिग्रे म त बिग्रे’ सार्वजनिक भएको छ।

गीतकार सागर रोकायको शब्द तथा गायक बसन्त थापाको संगीतमा तयार भएको गीतमा बसन्त थापा र लोकप्रिय गायिका मेलिना राईको स्वर रहेको छ। सागर रोकाय अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले रुकुमको धार्मिक आस्था, स्थानीय संस्कृति र प्रेमभावलाई लोकसंगीतसँग जोड्ने प्रयास गरेको छ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–५ थर्पुमा अवस्थित श्री डिग्रे भाइ कुमारी भगवती मन्दिर ऐतिहासिक तथा धार्मिक आस्थाको पवित्र धरोहरका रूपमा परिचित छ। मनले चिताएको पूरा हुने र मनले आँटेको सफल हुने जनविश्वास बोकेको यस मन्दिरमा हरेक वर्ष भदौमा धार्मिक मेला लाग्ने गर्दछ।

डिग्रे मेलामा रुकुम पश्चिमसहित रुकुम पूर्व, सल्यान, जाजरकोट, रोल्पा, दाङ, सुर्खेत तथा छिमेकी जिल्लाहरूबाट हजारौँ श्रद्धालु भक्तजन सहभागी हुने गर्दछन्। धर्म, संस्कृति, परम्परा र मौलिक पहिचानको अनुपम संगम मानिने डिग्रे मेला स्थानीय समुदायको आस्था र एकताको प्रतीकसमेत हो।

यसै धार्मिक तथा सांस्कृतिक महत्त्वलाई गीतमार्फत उजागर गर्ने प्रयास गरिएको छ। गीतले डिग्रे मन्दिर र मेलाको पहिचानलाई सांगीतिक माध्यमबाट थप व्यापक बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। विशेषगरी देश तथा विदेशमा रहेका रुकुमेलीहरूलाई आफ्नो जन्मभूमिको धार्मिक तथा सांस्कृतिक सम्पदासँग जोड्ने माध्यमका रूपमा पनि यसलाई लिन सकिन्छ।

गीतको भिडियोमा कलाकार प्रभात पाल ठकुरी र करिश्मा केसीले अभिनय गरेका छन्। विशाल घिमिरेको कथा तथा निर्देशनमा तयार भएको भिडियोमा स्थानीय परिवेश, प्रेमभाव र सांस्कृतिक पक्षलाई दृश्यात्मक रूपमा प्रस्तुत गरिएको छ।

गीतको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ एचबीएन किस्मतले गरेका छन् भने रेकर्डिङ कुमार विश्वकर्माले गरेका हुन्। १डीबी एचडी नेक्स्ट लेभल स्टुडियोमा रेकर्ड गरिएको गीतको अडियो तथा भिडियो निर्माण सागर रोकाय अफिसियलले गरेको हो।

नेपाली लोकसंगीतमा स्थानीय भूगोल, संस्कृति, परम्परा र पहिचानलाई गीतमार्फत प्रस्तुत गर्ने क्रम बढिरहेका बेला ‘बिग्रे म त बिग्रे’ले रुकुमको एउटा महत्त्वपूर्ण धार्मिक सम्पदालाई सांगीतिक अभिव्यक्ति दिएको छ। गीतले मनोरञ्जनसँगै डिग्रे मन्दिरको धार्मिक महत्त्व, ऐतिहासिक मेला र रुकुमको सांस्कृतिक पहिचानलाई नयाँ पुस्ता तथा बाह्य दर्शकमाझ चिनाउन योगदान पुर्‍याउने अपेक्षा गर्न सकिन्छ।

डिग्रे भाइ कुमारी भगवती मन्दिर केवल एउटा धार्मिकस्थल मात्र नभई रुकुमेलीहरूको आस्था, विश्वास, परम्परा र सामूहिक पहिचानसँग जोडिएको सम्पदा हो। यस्तो सम्पदालाई गीत–संगीतमार्फत उजागर गर्ने सिर्जनात्मक प्रयासले स्थानीय कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्न सक्छ।

गित हेर्न तथा सुन्न यहाँ क्लिक गर्नुहोस्; 


Leave a Reply

Your email address will not be published. Required fields are marked *