एक इन्चले बाँचेको जिन्दगी र अधुरो क्रान्तिको पीडा: माओवादी आन्दोलनको एउटा जीवित साक्षीको आत्मस्मरण
एक इन्चले बाँचेको जिन्दगी र अधुरो क्रान्तिको पीडा: माओवादी आन्दोलनको एउटा जीवित साक्षीको आत्मस्मरण
– पुष्प बादी बसन्त
माओवादी आन्दोलनलाई मैले टाढाबाट समर्थन गरेको होइन । त्यो आन्दोलन मेरो जीवनको एउटा अध्याय मात्र पनि होइन, मेरो जीवनको ठूलो हिस्सा हो । मैले त्यस आन्दोलनमा विचार मात्र लगानी गरेको थिइनँ, आफ्नो जवानी, पसिना, आँसु, रगत र जीवन नै समर्पण गरेको थिएँ ।
हामीले त्यो बाटो रोज्दा जीवन कति लामो हुन्छ भन्ने हिसाब गरेका थिएनौँ । भोलि बिहान बाँचिन्छ कि बाँचिँदैन भन्ने निश्चित थिएन । मृत्यु हरेक मोडमा उभिएको हुन्थ्यो। गोलीको आवाज, बारुदको गन्ध, घाइते साथीहरूको चित्कार र सहयोद्धाहरूको सहादत आज पनि स्मृतिमा ताजै छन् । कति पटक मृत्यु मेरो अगाडि आइपुग्यो । कति पटक जीवन र मृत्युबीचको दूरी एक इन्च मात्र रह्यो। त्यो गोली अलिकति यताउता लागेको भए सायद आज म यो संसारमा हुने थिइनँ। मेरो नाम पनि कुनै सहिदको सूचीमा हुन्थ्यो। तर म बाँचेँ ।
त्यसैले आजको मेरो जीवन सामान्य जीवन होइन। यो मृत्युको मुखबाट फर्केर पाएको अतिरिक्त जीवन हो। म यसलाई ‘नाफाको जिन्दगी’ भन्छु ।
तर आज यही नाफाको जिन्दगी लिएर पछाडि फर्केर हेर्दा मनमा एउटा गहिरो प्रश्न उठ्छ -हामीले जुन परिवर्तनका लागि जीवन दाउमा लगायौँ, त्यो परिवर्तन कहाँ पुग्यो ?
हामीले बन्दुक सत्ता बदल्न मात्र उठाएका थिएनौँ । हामीले समाजको चरित्र बदल्न, वर्गीय शोषण अन्त्य गर्न, जातीय विभेद मेटाउन, सामन्ती संस्कार भत्काउन र श्रमजीवी जनताको राज्यसत्ता स्थापित गर्न संघर्ष गरेका थियौँ। हामीले यस्तो समाजको सपना देखेका थियौँ, जहाँ मानिसको मूल्य उसको जात, वर्ग, लिङ्ग, धर्म र सम्पत्तिले होइन, उसको श्रम, क्षमता र मानवीय सम्मानले निर्धारण गरोस् ।
तर आज आन्दोलनको यात्रालाई नियाल्दा मनमा अनेकौँ प्रश्न उठ्छन् । हामी बाँचेका सहयोद्धाहरू आज किन आन्दोलनबाट विचलित हुँदै गयौँ ? हिजो मृत्युसँग डर नमान्नेहरू आज किन निराश छन् ? हिजो एउटै उद्देश्यका लागि भोक, प्यास, दुःख र अभाव सहनेहरू आज किन अलग-अलग दिशामा छरिएका छन् ? किन कतिपय सहयोद्धाले आफ्नै बलिदानको औचित्यमाथि प्रश्न गर्नुपर्ने अवस्था आएको छ ?
के उनीहरूमा विचारको कमी थियो ? के उनीहरूको त्याग कमजोर थियो ? होइन ! उनीहरूलाई सही दिशामा लैजानुपर्ने नेतृत्वले समयअनुसार आन्दोलनको वैचारिक, राजनीतिक र सांस्कृतिक रूपान्तरण गर्न नसकेको त होइन ? आन्दोलन किन टुटफुटको सिकार भयो ?
एउटै झण्डामुनि उभिएका हामी आज किन अनेकौँ समूहमा विभाजित भयौँ ? वर्गमुक्तिको सपना देखेका हामी किन व्यक्ति, गुट र पदको वरिपरि घुम्न थाल्यौँ? विचारको बहस किन व्यक्तिगत प्रतिष्ठाको लडाइँमा बदलियो ? सामूहिक नेतृत्व र सामूहिक निर्णयको संस्कार किन कमजोर हुँदै गयो ?
यी प्रश्नको जवाफ केवल कार्यकर्ताले होइन, नेतृत्वले पनि दिनुपर्छ । अझ गम्भीर प्रश्न त यो छ – हिजो सामन्तवाद अन्त्य गर्न हिँडेको आन्दोलनभित्रै नयाँ सामन्ती प्रवृत्ति कसरी जन्मियो ? जनताको मुक्तिका लागि बनेका पार्टीहरूभित्रै किन केही व्यक्तिको निर्णय अन्तिम सत्य बन्न थाल्यो ? त्याग र योगदानभन्दा पहुँच, चाकरी, गुट र आर्थिक शक्तिले किन प्राथमिकता पाउन थाल्यो ? हिजो जनताको सेवक बन्ने शपथ खाएका कतिपय नेता किन सुविधाभोगी, शक्तिकेन्द्रित र आलोचनाबाट असहिष्णु बन्दै गए ?
के हामीले सामन्तवादको राजनीतिक संरचना त भत्कायौँ, तर त्यसको संस्कार आफ्नै व्यवहारमा बोकेर हिँड्यौँ ? हिजो वर्गविहीन समाजको सपना देख्नेहरू आज पार्टीभित्रै नयाँ वर्गीय दूरी निर्माण गर्ने अवस्थामा पुग्नु आन्दोलनको गम्भीर आत्मसमीक्षाको विषय होइन र ? म कसैको व्यक्तिगत योगदान अस्वीकार गर्न चाहन्नँ । नेतृत्वको इतिहासमा भएका सकारात्मक योगदानलाई पनि मेटाउन चाहन्नँ । तर नेतृत्वको आलोचना गर्नु आन्दोलनप्रतिको बेइमानी होइन। बरु आन्दोलनलाई सही दिशामा फर्काउने इमानदार प्रयास हो । किनकि क्रान्ति गर्नेहरूलाई देवता बनाउनु हुँदैन, उनीहरूका विचार र व्यवहारको परीक्षण गर्नुपर्छ। नेतृत्वलाई प्रश्न गर्न नपाइने आन्दोलनले अन्ततः जनताको आवाज सुन्न छाड्छ ।
आज मलाई सबैभन्दा बढी पीडा सहिदहरूको सम्झनाले दिन्छ । ती आमाहरूको अनुहार सम्झन्छु, जसले छोराछोरीलाई आन्दोलनमा पठाए । ती श्रीमतीहरू सम्झन्छु, जसले जीवनसाथी गुमाए । ती बालबालिका सम्झन्छु, जसले बाबुआमाको काख गुमाए । ती सहयोद्धाहरू सम्झन्छु, जो फेरि फर्केर आउने सपना अधुरै छाडेर गए । उनीहरूले के पद मागेका थिए ? के सुविधा खोजेका थिए ? के कुनै नेताको व्यक्तिगत महत्त्वाकांक्षा पूरा गर्न जीवन दिएका थिए ?
कदापि होइन ! उनीहरूले त न्यायपूर्ण समाजको सपना देखेका थिए। तर आज प्रश्न छ – ती सपनाको उत्तराधिकारी बनेका हामीले उनीहरूको बलिदानको सम्मान गर्न सक्यौँ कि सकेनौँ ?
म आज पनि माओवादी आन्दोलनको इतिहासलाई केवल असफलताको कथाका रूपमा हेर्न चाहन्नँ । यसले नेपाली समाजमा ल्याएको राजनीतिक चेतना, गणतन्त्र, समावेशिता र सामाजिक परिवर्तनका उपलब्धिलाई अस्वीकार गर्न मिल्दैन । तर उपलब्धिको नाममा कमजोरी लुकाउन पनि मिल्दैन। शान्ति प्रक्रियापछि अधुरा रहेका वर्गीय, जातीय, लैङ्गिक र क्षेत्रीय मुक्तिका एजेन्डालाई किन कमजोर बनाइयो भन्ने प्रश्नको उत्तर खोज्नैपर्छ ।
अब आवश्यकता विगतको गौरवगान मात्र होइन, निर्मम आत्मसमीक्षा हो । आन्दोलन किन विभाजित भयो, नेतृत्व किन दिशाहीन भयो, कार्यकर्ता किन निराश भए, पार्टीहरूभित्र नयाँ सामन्ती प्रवृत्ति किन मौलायो र जनताको विश्वास किन कमजोर हुँदै गयो भन्ने विषयमा खुला बहस हुनुपर्छ ।
म मृत्युबाट एक इन्चले बाँचेको मान्छे हुँ । त्यसैले मलाई आफ्नो विगतको त्यागको कुनै पश्चात्ताप छैन। तर बाँचेको जीवनलाई केवल पुराना सम्झनाहरूमा सीमित राख्न पनि चाहन्नँ ।
मेरो मनमा अझै एउटा सपना जीवित छ – श्रमजीवी वर्गको मुक्ति, जातीय विभेदको अन्त्य, महिला र दलितको वास्तविक अधिकार, युवाको सम्मान र समानतामा आधारित समाज निर्माण । हिजो हामीले बन्दुक बोकेर परिवर्तन खोज्यौँ, आज विचार, संगठन, चेतना र इमानदार संघर्षबाट परिवर्तनको अधुरो यात्रा पूरा गर्नुपर्छ।
मेरा लागि क्रान्ति कुनै नेताको नाम होइन, कुनै पार्टीको चुनाव चिह्न होइन, कुनै पद प्राप्तिको माध्यम होइन । क्रान्ति त अन्यायविरुद्ध उठ्ने चेतना हो, उत्पीडितको मुक्तिको संकल्प हो र आफूभित्रको सामन्ती सोचसमेत बदल्ने साहस हो ।
आज म आफैँलाई सोध्छु – एक इन्चले बाँचेको यो जिन्दगी आखिर केका लागि ? मेरो जवाफ छ – जुन सपनाका लागि हजारौँले जीवन दिए, त्यो सपना बिर्सन होइन; त्यसको अधुरोपनमाथि प्रश्न गर्न, कमजोरीविरुद्ध आवाज उठाउन र न्यायपूर्ण समाज निर्माणको पक्षमा अन्तिम साससम्म उभिन । म बाँचेको छु, तर मेरो एउटा हिस्सा अझै ती सहिदहरूसँगै छ । मेरो शरीरमा जीवन बाँकी छ, तर मनमा उनीहरूले देखेको समाजको सपना अझै अधुरै छ ।
इतिहासले हामीलाई एउटा प्रश्न अवश्य सोध्नेछ, तिमीहरू मृत्युबाट त बाँचेछौ, तर के सहिदहरूले देखेको सपना पनि बचाउन सक्यौ ? यो प्रश्नको जवाफ भाषणले होइन, हाम्रो विचार, व्यवहार र संघर्षले दिनुपर्नेछ । सहिदको रगतले लेखिएको इतिहासलाई नेतृत्वको स्वार्थ, गुटको राजनीति र नयाँ सामन्ती संस्कारको बन्धक बन्न दिनु हुँदैन । एक इन्चले मृत्युबाट बाँचेको, माओवादी आन्दोलनको एक जीवित साक्षी ।
