चीनमा विद्या भण्डारीलाई उच्च सम्मान, नेपाललाई राजनीतिक सन्देश
चीनमा विद्या भण्डारीलाई उच्च सम्मान, नेपाललाई राजनीतिक सन्देश
काठमाडौं । गत १० जेठको राति काठमाडौंबाट बेइजिङ उडेको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेतृत्वको टोली एक साता लामो भ्रमण सकेर स्वदेश फर्किंदैछ । चीन भ्रमणका क्रममा पूर्वराष्ट्रपति भण्डारीले शनिबार महत्वपूर्ण र उच्च तहको भेटवार्ता गरिन् । केही दिनदेखि गान्सु प्रदेशमा रहेकी भण्डारीले चीनका उपराष्ट्रपति हान चेङसँग शनिबार भेटवार्ता गरेकी हुन् ।
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का शीर्ष नेता चेङसँगको भेटवार्ता निश्चित थिएन, सम्भावित सूचीमा मात्र थियो । चीन सरकारका दोस्रो बरियताका चेङ सीपीसीका शीर्ष पंक्तिका नेता हुन् । सात सदस्यीय स्थायी कमिटीका पूर्वसदस्य चेङ सीपीसीमा आठौं बरियताका नेता हुन् ।
उनै चेङले पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्नुलाई चिनियाँ पक्षबाट यो भ्रमणलाई उच्च महत्व दिएको रूपमा बुझ्नुपर्ने कूटनीतिज्ञहरू बताउँछन् । ‘पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अहिले न सरकारको प्रतिनिधित्व गर्नुहुन्छ, न एमाले नेताकै,’ एक कूटनीतिज्ञ भन्छन्, ‘तर चीनमा अहिले उहाँलाई नेपाल सरकारका प्रतिनिधि र एमाले नेताको हैसियत दिए जस्तो देखिन्छ ।’
परराष्ट्र मामलाका जानकार एवं एमाले नेता विष्णु रिजाल चीनले यो भ्रमणलाई उच्च महत्व दिएको बताउँछन् । यद्यपि, उनको तर्क फरक छ । ‘यो भ्रमणलाई चीनले उच्चस्तरको सम्मान दिएको पक्कै हो । तर यो सम्मानलाई नेपाल राष्ट्र, नेपाली जनता र गणतन्त्रका लागि दिइएको सम्मानका रूपमा बुझ्नुपर्छ,’ एमालेका विदेश विभाग पूर्वउपप्रमुख रिजाल भन्छन् । एमाले नेताहरूले भण्डारी नेतृत्वको टोलीले पाएको सम्मान र महत्वलाई पूर्वराष्ट्रपतिका हैसियतमा बुझ्नुपर्ने प्रष्टोक्ति दिइरहेका छन् ।
महासचिव शंकर पोखरेलले ११ जेठमा सम्पन्न ५२औं सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै भण्डारीको भ्रमण एमाले नेताको हैसियतमा नभएको बताएका थिए । ‘उहाँलाई पूर्वराष्ट्रपतिकै हैसियतमा निमन्त्रणा भएको छ र स्वाभाविक रूपमा पूर्वराष्ट्रपति नेकपा एमाले आन्दोलनको एक नेता भएको नाताले उहाँको टिममा पार्टी सम्बद्ध साथीहरू पनि सामेल हुनुहुन्छ,’ उनको भनाइ थियो ।
तर, महासचिव पोखरेलले भने जस्तो विद्या भण्डारी एमाले पृष्ठभूमिकी नेता भएकाले अरु नेताले चीन जान पछ्याएको जस्तो चाहिँ देखिँदैन । किनकि, यो भ्रमणमा एमालेका विदेश विभाग प्रमुख रहेका पार्टी सचिव रघुवीर महासेठ आफैं छन् भने चिनियाँ विदेश मन्त्रालयको कार्यक्रमहरूमा भाग लिनेगरी वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी चीन गएका हुन् ।
भ्रमण टोलीमा रहेका बाँकी सदस्य भने भण्डारी निकट नेताहरू छन् । भ्रमण टोलीमा रहेका नेता कर्ण थापा त विद्या भण्डारीलाई एमालेको भावी अध्यक्ष बनाउनुपर्ने पक्षमा चर्को वकालत गर्ने नेता हुन् । चीन भ्रमणकै क्रममा एमाले स्थायी कमिटी सदस्य थापाले सीपीसी र चीनले नेपालका भावी नेताका रूपमा विद्या भण्डारीलाई महत्व दिएको टिप्पणी गरेका छन् । उनका अनुसार सीपीसी र एमालेबीचको सम्बन्धदेखि नेपालमा वाम शक्ति एकीकृत गर्न पनि विद्या भण्डारी अगाडि बढ्नुपर्ने सन्देश चीनका तर्फबाट प्राप्त भएको छ । कतिपय नेताहरू चीनले कम्युनिष्ट एकताका लागि मात्र नभएर एमालेकै उत्तराधिकारीका रूपमा पनि विद्या भण्डारीलाई महत्व दिएको हुनसक्ने बताउँछन् ।
कतिपय कूटनीतिज्ञ भने कर्ण थापाको टिप्पणीप्रति सहमत देखिँदैनन् । ‘चीनले कसैलाई पनि अगाडि बढ्नूस्, हाम्रो साथ छ भन्दैन । कूटनीतिक भाषा नै हुन्छ । यद्यपि, चीनले केही सन्देश दिनकै लागि यो भ्रमण गराएको चाहिँ अब लुकेन,’ ती कूटनीतिज्ञ भन्छन् ।
भ्रमणका क्रममा तय कार्यक्रम र विद्या भण्डारीले पाएको महत्व हेर्दा पनि चीनले नयाँ सन्देशकै रूपमा यो भ्रमण गराएको बुझ्न सकिन्छ । किनकि, भ्रमणका कार्यक्रम सद्भाव वा अवलोकनहरूमा मात्र सीमित थिएन । बरु बेइजिङ पुग्नासाथ विद्या भण्डारी प्रमुख वक्ता रहनेगरी राजनीतिक संवाद कार्यक्रम राखिएका थिए । लगत्तै सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओसँग विद्या भण्डारीको भेटवार्ता भयो । केही सेसन रघुवीर महासेठ, कर्ण थापा र दामोदर भण्डारीहरूका निम्ति पनि तय गरिएका थिए ।
एमाले विदेश विभाग सदस्य गोपाल खनाल भने पूर्वराष्ट्रपतिको यो भ्रमण पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै सहमति र सल्लाहमा भएकाले हतारमा विश्लेषण नगर्न आग्रह गर्छन् । ‘भ्रमण टोलीका सदस्यहरू प्रधानमन्त्रीकै सल्लाहमा तय भएको हो । फेरि सीपीसी र एमालेबीचको सम्बन्ध राम्रो छ । त्यसैले केही हुनै लाग्यो कि भनेर विश्लेषण आवश्यक पर्दैन,’ उनी भन्छन् ।
भ्रमणका ४ सन्देश
कूटनीतिज्ञहरूका अनुसार विद्या भण्डारीले पाएको यो सम्मान र महत्वको पछाडि मूलतः चार सन्देश-कारण छन् । पहिलो त विद्या भण्डारीलाई भावी नेतृत्वकै रूपमा स्वीकार्नु हो ।
‘कर्ण थापाले चीनबाट भन्नुभए जस्तो भाषामै सीपीसीका नेताहरूले भनेनन् होला, तर विद्या भण्डारीलाई नेपालमा वाम शक्तिहरूलाई एकताबद्ध गराउने साझा नेताका रूपमा स्वीकारिएको हो कि ?,’ एक पूर्वराजदूत भन्छन् । उनका अनुसार केपी ओली र प्रचण्डको नेतृत्वमा वाम एकता असफल भएकाले पनि विद्या भण्डारीलाई साझा व्यक्तिका रूपमा हेरिएको हुनसक्छ ।
‘केपी ओलीले माओवादी र एकीकृत समाजवादीसँग मिल्न सकिँदैन भनेर लगातार भनिरहेका छन् । त्यस्तो बेला एमालेमा अर्को व्यक्ति विद्या भण्डारी हुनसक्छ भन्ने चिनियाँहरूलाई लागेको होला,’ उनी भन्छन् ।
विद्या भण्डारीसँगै दुई कार्याकाल उपराष्ट्रपति रहेका नन्दबहादुर पुनलाई माओवादी केन्द्रले पार्टी उपाध्यक्ष मनोनित गरेकाले चिनियाँहरूले यो विकल्पलाई बलियो ठानेको हुनसक्ने उनी बताउँछन् ।
कतिपय नेताहरू भने कम्युनिष्ट एकताका लागि मात्र नभएर एमालेकै उत्तराधिकारीका रूपमा पनि विद्या भण्डारीलाई महत्व दिएको हुनसक्ने बताउँछन् । ‘विष्णु पौडेल र शंकर पोखरेललाई चिनियाँहरूले एमालेको उत्तराधिकारी जस्तो मानेर व्यवहार गरेको देखिन्थ्यो । विशेषगरी केपी ओलीको विश्वास शंकर पोखरेलमा रहेको चिनियाँ बुझाइ थियो,’ एमालेका एक नेता भन्छन्, ‘तर शंकर पोखरेलले अपेक्षित नेतृत्व क्षमता नदेखाएको बुझाइ उनीहरूमा (चिनियाँ) परेको छ ।’
पार्टीभित्र पनि ओलीलाई चुनौती दिनेगरीका गतिविधि विद्या भण्डारीकै नाममा भइरहेका तथ्यहरू सार्वजनिक भइरहेका छन् । प्रदेश र जिल्ला कमिटीका अधिवेशन होस्, वा जनसंगठनहरूको महाधिवेशनमा केपी ओली भर्सेस विद्या भण्डारी संघर्ष चलिरहेको छ । यसर्थ पनि विद्या भण्डारीलाई एमाले नेताकै हैसियतमा महत्व दिएको बुझ्न सकिन्छ ।
भ्रमणमा भण्डारीले पाएको उच्च सम्मानको दोस्रो कारण भने शक्तिलाई अस्वीकार नगर्ने चिनियाँ प्रवृत्ति हुनसक्ने विश्लेषकहरू बताउँछन् । ‘हिजो राजा हुँदा उसैलाई विश्वास गर्थ्यो । शक्तिलाई अस्वीकार नगर्ने चिनियाँ कूटनीति हो,’ चीन मामलाका अर्का एक जानकार भन्छन्, ‘अहिले केपी शर्मा ओलीलाई पार्टीभित्र दिइरहेको टक्करले पनि चिनियाँहरूलाई विद्या भण्डारी शक्ति हुन् भन्ने लागेको हुन सक्ला ।’
तेस्रो कारण चाहिँ सीपीसी र यसका नेताहरूले विद्या भण्डारीलाई विगतदेखि गर्दै आएको विश्वास हो । विशेषगरी सीपीसीका महासचिव एवं चिनियाँ राष्ट्रपति सी जिन पिङले पूर्वराष्ट्रपति भण्डारीलाई व्यक्तिगत रूपमै विश्वास गर्छन् । ‘चीनले अगाडि बढाएको चिनियाँ विशेषताको समाजवाद र उसको महत्वकांक्षीय परियोजना बीआरआईमा साथ पुग्ने देखेर पनि विद्या भण्डारीमा बढी विश्वास भएको हुनसक्छ,’ भण्डारी निकट एक नेता भन्छन् ।
र, चौथो कारण हो- जबजसँगको लिगेसी । चिनियाँ नेताहरूले पछिल्लो समय जनताको बहुदलीय जनवाद (जबज) प्रति तुलनात्मक चासो बढाएको बताइन्छ । सीपीसीलाई एकदलीय निरंकुशताको आरोप लाग्ने गरेकाले पनि मदन भण्डारीले अगाडि सारेको जबजप्रति उनीहरूको रुचि छ ।
‘कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रीकरण गर्ने जबजप्रति चिनियाँहरूको रुचि हुँदा पूर्वराष्ट्रपतिलाई त्यसको लिगेसीका रूपमा हेरिएको पनि होला,’ एमाले विदेश विभागका सदस्य खनाल भन्छन् । मदन भण्डारी फाउन्डेसनको ब्यानरमा जबजप्रति भइरहेको गतिविधिले पनि विद्या भण्डारीलाई चिनियाँहरूले महत्व दिएको हुनसक्ने उनको विश्लेषण छ ।
