मनभित्रैको नियात्राः टेक आरसी
मनभित्रैको नियात्राः टेक आरसी
निन्द्राले पटक्कै विर्सेर गएपछि,
विस्तारामा कोल्टे फेर्दा फेर्दै निस्सासिएर
मध्यरातमा तिम्रा यादहरुको भारी काँध हालेर कौशी उक्लीँदै गर्दा सोचेँ,
अचेल यी यादहरुको भारी किन गह्रौं हुँदै गयो ?
छतमा बसेर अनन्त आकाश नियाल्न खोजेँ,
अलिअलि दाग जस्तो देखिने जूनलाई केही थान वादलका टुक्रहरुले छोप्दै जाँदै छोप्दै जाँदै निरन्तर छोप्दै जाँदै गरिरहेका थिए ।
वरीपरी दुरदराजमा ताराहरु टिलपिल टिलपिल गरेर आफ्नो अस्तित्व प्रकट गरिरहेका थिए ।
कति टाढा छन् है जून तारा ?
कति टाढा छौं है हामी ?
तिम्रो यादले अलिक वढी नै च्यापेको वेला चुरोट पिउन मन लाग्छ ।
चुरोट तान्दै गर्दा महशुस भयो,
एक दुइ सर्को धुँवा त्यही धुँवासँगै मन कता हो कता उडीजान्छ ।
दुइ सर्को तानि नसक्दै सकिन्छ चुरोट ।
कति छिटै सकिन्छ है जीवन पनि ?
वादल गर्जेर जव एक झरी छरपस्टै हुन्छ वरीपरी ।
कति छिटै विलाईजान्छन् पानीका वछिटाहरु ।
कति छिटै हराउँछ है माया पनि ?
एक नजर बाटोतिर लाउँदा
बटुवाहरु एक अडेस नलाईकन, थकाई नमारीकनै आउँदै जाँदै आउँदै जाँदै,
कति हतार छ है मान्छेहरुलाई ?
कति हतार छ है यो मनलाई ?
कति लामो छ है यो वाटो ?
कति लामो छ है यो पर्खाई ?