भालुबाङ दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो, २३ जना घाइते
भालुबाङ दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो, २३ जना घाइते
भालुबाङ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङको भालुबाङमा पुलबाट यात्रुबाहक बस राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भएको छ भने २३ घाइते भएका छन् । अहिलेसम्मको विवरण अनुसार ५ जनाको उपचारका क्रममा मृत्यु भएको थियो भने ७ जनाको शव जेसिविको सहायताले बसबाट बाहिर निकालिएको छ ।
मृतकको सनाखत हुन नसकेको ईलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख प्रहरी निरिक्षक उज्ज्वल बहादुर सिंहले बताए । नेपालगन्जबाट काठमाण्डौतर्फ जांदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राती राप्ती गाउंपालिका-१ भालुबाङस्थित राप्ती पुलबाट नदीमा खसेको थियो ।
भालुबाङको ट्राफिक विट पार गरेको केहीबेरमा बस पुलको दांयातर्फबाट पुलको रेलिंग भत्काएर नदीमा खसेको थियो । घटना के कसरी भयो भन्नेबारे थाहा हुन नसकेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी जनक बहादुर मल्लले बताए ।
चालक प्रहरी नियन्त्रणमा रहेको उनले जानकारी दिए । घटनास्ऱ्थलमा जिल्ला प्रहरी प्रमुख एस्पी राम बहादुर केसीसहित ३५ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल ज्वालामाई गण भालुबाङका प्रमुख एस्पी गोपालप्रसाद श्रेष्ठसहित ४५ सशस्त्र प्रहरी र जिल्ला ट्राफिक प्रहरी प्रमुख किरणप्रकाश मल्लसहित ६ जना ट्राफिक प्रहरी उद्धारमा खटेको मल्लले बताए । २३ घाइतेहरूको प्रस्तावित भालुबाङ अस्पतालमा उपचार भैरहेको उनले बताए ।