भुकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणले लिएन गति

भुकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणले लिएन गति

"0" Comments

रुकुम पश्चिम। गत कार्तिक १७ गते राती गएको भकम्पका कारण घरबासबिहिन भएका पिडीतहरुमध्ये जाजरकोटमा आधा भन्दा कम र रुकुम पश्चिममा करिब आधा जतिले मात्रै अहिलेसम्म अस्थायी टहरा बनाएको तथ्यांक दुबै जिल्ला प्रशासन कार्यलयले सार्वजनिक गरेका छन् । भुकम्प गएको साढे २ महिना पुग्न लाग्दा पनि अस्थायी आवास निर्माणको कामले गति लिन उक्त तथ्यांकमा उल्लेख गरिएको छ ।

जाजरकोट जिल्लामा आईतबारसम्म कुल ३५ हजार १ सय ४० लाभग्राही कायम भएकामध्ये २१ हजार ४ सय ४४ घरपरिवारले अस्थायी आवास निर्माणका लागी पहिलो किस्ता वापत प्रति परिवार २५ हजारका दरले अनुदान रकम बुझेको निमित्त प्रमुख जिल्ला अधिकारी हरिचन्द्र शर्माले जानकारी दिए । आईतबार सम्म २७ हजार १ सय ३२ लाभग्राहीले अनुदान रकमको सम्झौता गरेको बताउदैं उनले हालसम्म ९ हजार ६ सय ३८ वटा अस्थायी टहरा बनेको बताए ।

त्यस्तै रुकुम पश्चिममा आईतबारसम्म कुल २८ हजार ४३ जना लाभग्राही कायम भएको बताउदैं यहाँका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले २२ हजार ६५ जना लाभग्राहीले पहिलो किस्ता वापतको अनुदान रकम बुझेको जानकारी दिए । साथै उनले रुकुम पश्चिममा हालसम्म १४ हजार ६ वटा अस्थायी आवासको निर्माण कार्य सम्पन्न भएको पनि बताए ।

दुबै जिल्लामा अस्थायी अवास निर्माणको पछिल्लो तथ्यांक हेर्ने हो भने निकै यो गति सुस्त देखिन्छ । जाजरकोटमा अहिले पनि २५ हजार ५ सय २ वटा अस्थायी आवास बन्न बाँकी छन् । भने रुकुम पश्चिममा १४ हजार ६ वटा अस्थायी आवास बन्न बाँकी छन् ।

जाजरकोटमा जिल्ला विपत कोषबाट अहिलेसम्म भुकम्प प्रभावित पालिकाको खातामा ८४ करोड ९५ लाख ७५ हजार पठाईएको सहायक प्रजिअ शर्माले बताए । ‘यसमध्ये पालिकाहरुले लाभग्राहीको खातामा हालसम्म कुल ५३ करोड ६१ लाख रकम पठाएको जानकारी गराएको छन्’ उनले भने ।

त्यस्तै रुकुम पश्चिमका प्रजिअ पन्तले जिल्ला विपत कोषबाट पालिकाको खातामा आईतबारसम्म कुल ७० करोड ८९ लाख ५० हजार पठाएको बताएका छन् । ‘यो रकम मध्ये प्रभावित पालिकाहरुले आईतबार सम्म ५५ करोड १६ लाख २५ हजार रुपैयाँ लाभग्राहीसम्म पठाएको तथ्यांक हामीलाई बुझाएका छन् ।’

यसरी हेर्दा भुकम्प प्रभावित जिल्ला जाजरकोटको तुलनामा रुकुम पश्चिममा अस्थायी आवास निर्माणको कामले केही गति लिएको देखिन्छ । स्रोत-साधन र दक्ष जनशक्तिको अभाव भएका कारण अस्थायी आवास निर्माणको कामले अपेक्षित गति दिन नसकेको रुकुम पश्चिमको आठविसकोट नगरपालिका प्रमुख रवी केसीले बताए । ‘केहीले त आवास निर्माण गरिरहेको तर नगरपालिकाबाट लिनुपर्ने रकम बुझ्न र जानकारी गराउन ढिला गरेको पनि पाईएको छ । यसकारण पनि तथ्यांकमा केही कमी देखिएको छ ।’ उनले भने, ‘अस्थायी टहरा बनाउन चाहिने सामग्री र जनशक्तिको आपुर्ती गरेर कामलाई गति दिन हामी गम्भिर गएर लागेका छौ ।’ साथै प्रमुख केसीले अहिलेसम्म पनि त्रिपालमुनी रहेका घरपरिवरलाई अस्थायी आवासमा सार्नका लागी निर्माणको कामलाई गति दिन बिशेष योजना बनाएर अघि बढ्ने प्रतिवद्धता समेत गरेका छन् ।