रुकुम पूर्वमा एक बर्षमा १ सय ८५ अबैध हतियार बरामद

रुकुम पूर्वमा एक बर्षमा १ सय ८५ अबैध हतियार बरामद

"0" Comments

रुकुम पूर्व । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले २०७९ फाल्गुण देखी यो बर्षको चैत १२ गतेसम्म १ सय ८५ वटा अबैध हतियार बरामद गरेको छ । यसमध्ये १ सय ८३ नाल भरुवा बन्दुक र दुई थान पेस्ताल रहेको बताउदैं प्रहरीले बितेको ३ दिनभित्र मात्रै ८ थान अबैध हतियार बरामद गरेको जनाएको छ ।

यही चैत्र १० गते भुमे गाउँपालिका–४ नौधारीको जंगल स्थित ओढारमा लुकाई–छिपाई राखेको भरुवा बन्दुक ५ नाल, भुमे–१ को बरपिसिए स्थित जंगलमा रहेको धुपी सल्लाको रुखमुनी लुकाई–छिपाई राखेको भरुवा बन्दुक १ नाल बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरिक्षक हरि भट्टराईले जानकारी दिए । यसका साथै भुमे गाउँपालिकाकै वडा नंं. ९ गोठेबाङ बस्ने नविन मल्ल भनिने बिश्वविक्रम मल्लको घरबाट म्यागजिन सहितको १ नाल अटोमेटिक पेस्तोल र निजलाई पक्राउ गरिएको पनि प्रहरी निरिक्षक भट्टराईले बताए ।

‘अनि हिजो (सोमबार) सिस्ने गाउँपालिका–५ स्थित कमल ताल छेउको जंगलबाट गस्तिमा खटिएको प्रहरीले थप १ थान अटोमेटिक पेस्तोल बरामद गरेको छ ।’ उनले भने, ‘बितेको १३ महिनाभित्र अबैध हतियारको संख्या १ सय ७७ थियो भने यही चैत १० गतेयता मात्रै ८ नाल अबैध हतियार बरामद गरेका छौं ।’

अनकन्टार स्थानमा लुकाई–छिपाई राखेको भन्ने गोप्य सुचना र सुराकीका आधारमा यस्ता हतियारहरु बरामद गर्ने गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी अञ्जना श्रेष्ठले बताईन् । ‘यति हातियार फेला पर्दा ४ जनामाथी कानुन अनुसार कारवाही प्रक्रिया अघि बढेको छ । यसरी कारबाही हुने डरले आफुसंग भएका हतियार अनन्टार ठाउँमा लगेर राखिदिने गरेको हुनसक्छ ।’ उनले भनिन्, ‘यसकारण हामीले हातियारवाला मान्छे पक्राउ गर्न सकिरहेका छैनौं । तर अबैध हतियार भने बरामद गरिरहेका छौ ।’

बन्यजन्तुको शिकार गर्ने र उक्त हतियार बनजंगलमै राख्ने गरेका कारण पनि यसरी हात–हतियार भेटिएको तथा तत्कालिन शशस्त्र युद्धताकाका हतियारहरु नै पनि अहिले यसरी फेला परिरहेको हुनसक्ने डिएसपी श्रेष्ठको अनुमान छ । ‘मेरो १३ महिनाको कार्यकालमा हामीले अबैध हातहतियारको खोजबिनलाई एउटा अभियानकै रुपमा अघि बढायौं ।’ उनले भनिन्, ‘बन–जंगलमा मेलापात गर्न गएकाहरुले हतियार देखेपछी स्थानिय वडा कार्यालयमा खबर गर्ने र त्यसमार्फत पनि हामीसम्म खबर पुग्ने गरेको छ ।’

अबैध हात–हतियारहरु राख्नु गैरकानुनी काम हो र यसो गरेको पाईएमा कारवाही हुन्छ भन्ने चेतना बढ्दै गएपछी मान्छेहरुले आफुहरुसंग भएको हातियार बन–जंगलमा छोडिदिने गरेको भन्दै रुकुम पूर्व प्रहरीले यसबारेमा थप सचेतना बढाउने बताएको छ । साथै प्रहरीले कहिकतै यसप्रकारका हातहतियार भएको थाहा पाएमा गोप्य रुपमा प्रहरीलाई खबर गर्न समेत अनुरोध गरेको छ । साथै यसरी अबैध हतियार फेला परेपछी अपराधमा पनि कमी आएको रुकुम पूर्व प्रहरीको दावी छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *