प्रथम पालिका कप क्रिकेटको उपाधि चौरजहारीलाई
प्रथम पालिका कप क्रिकेटको उपाधि चौरजहारीलाई

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा सञ्चालित प्रथम पालिका स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि चौरजहारी नगरपालिकाले जितेको छ । ट्याखोला खेल मैदानमा भएको फाइनलमा आठबिसकोट नगरपालिकालाई सुपर ओभरमा पराजित गर्दै चौरजहारी च्याम्पियन बनेको हो ।
च्याम्पियन बन्न चौरजहारीले आठबिसकोटलाई सुपर ओभरमा ६ रनले पराजित ग¥यो । टस जितेर ब्याटिङ गरेको आठबिसकोटले निर्धारित १५ ओभरमा ९ विकेट गुमाउँदै ९६ रन जोडेको थियो । आठबिसकोटका लागि सुरेन्द्र विकले सर्वाधिक २४ रनको योगदान गरेका थिए । त्यस्तै धनबहादुर केसीले १५, नवीन शाहीले ११ र कमल शाहीले ५ रन बनाएका थिए ।
आठबिसकोटका ३ जना ब्याट्सम्यानले खाता खोल्न सकेनन् । बलिङ तर्फ चौरजहारीका कप्तान विवश गिरीले सर्वाधिक ३ विकेट लिए । गोपाल केसी र उत्तर आचार्यले समान २÷२ तथा शङ्कर परियारले १ विकेट हात पारेका थिए ।
जबाफी ब्याटिङमा उत्रिएको चौरजहारीले पनि निर्धारित १५ ओभरमा ७ विकेटको क्षतिमा ९६ रन नै बनाएको थियो । चौरजहारीका लागि गोपाल केसीले सर्वाधिक २७ रन बनाए । कप्तान विवश गिरीले १० रनको योगदान गरेका थिए ।
आठबिसकोटका सुरेन्द्र विकले सर्वाधिक ३, राजेन्द्र शाहीले २ र धनबहादुर केसीले १ विकेट लिएका थिए । बराबरी भएपछि खेल सुपर ओभरमा गएको थियो । सुपर ओभरमा पहिला ब्याटिङ गरेको चौरजहारीले गोपाल केसीको ११ रनको मदतमा १३ रन बनाएको थियो ।
१४ रनको लक्ष सहित जबाफी ब्याटिङमा उत्रिएको आठबिसकोट ७ रनमा रोकिएको थियो । बलिङ र ब्याटिङ तर्फ उत्कृष्ट प्रदर्शन गरेका चौरजहारीका गोपाल केसी प्लेयर अफ द म्याच घोषित भए ।
विजेता चौरजहारीले नगद ३० हजार र ट्रफि हात पारेको छ भने उप विजेता बनेको आठबिसकोटले नगद २० हजार र ट्रफि पाएको कर्णाली प्रादेशिक क्रिकेट सङ्घका सदस्य कुलप्रसाद ओलीले जानकारी दिए ।