बाढी पहिरो तथा डुबान सम्बन्धी उद्धारका लागि कृत्रिम अभ्यास
बाढी पहिरो तथा डुबान सम्बन्धी उद्धारका लागि कृत्रिम अभ्यास
रुकुम पश्चिम । रुकुम पश्चिममा बाढी पहिरो तथा डुबान सम्बन्धी उद्धारका लागि कृत्रिम अभ्यास गरिएको छ । आज मुसीकोट नगरपालिका –३ को मुग्लुखोलामा यो कृत्रिम अभ्यास प्रदर्शन गरिएको हो । जिल्ला विपत व्यवस्थापन समितिको संयोजक रहेको अभ्यासमा चण्डीदल गण, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, मुसिकोट नगरपालिका लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा बाढी तथा डुबानमा परेकाहरुको कसरी उद्धार गरिन्छ भन्ने बिषयमा अभ्यास गरिएको चण्डीदल गणले जानकारी दिएको छ । यस खालको प्राकृतिक विपदको बेला उद्धार टोलीले अपनाउने उद्धारका विभिन्न तरिकाहरु अभ्यास गरिएको हो ।
बानमा परेका, नदिको बिचमा रहेका, घरभित्र थुनिएका, नदिले बगाएकाहरुको उद्धारका लागि सुरक्षाकर्मी टोलीले सफल उद्धार अभ्यास गरेको थियो । उक्त नमूना उद्धार अभ्यासमा रो बिधी, थ्रो ब्याकबिधी, सुईमिङ टुईङ्ग विधि, रिभर क्रसिङ लगायतका विधि उपयोग गरिएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले प्राकृतिक विपत्तिपछि उद्धारका लागि हरपल तयारमा रहनुपर्ने उद्धारकर्मीहरुले बाढी र डुबानमा बेला कसरी उद्धार गर्न सकिन्छ भनेर सफल अभ्यास प्रदर्शन गरेको बताए । उनले आपतकालिन अवस्थामा गरिने उद्धारका लागि यस खालका अभ्यासले टेवा पुग्ने विश्वास गरे । यो अभ्यास विपद् प्रतिकार्यको लागि उत्कृष्ट अभ्यास रहेको उनको भनाई थियो ।
डुबानजन्य विपद्हरुलाई न्यूनिकरण गर्न विपद् प्रतिकार्य अभ्यास अत्यन्तै जरुरी प्रमुख जिल्ला अधिकारी पन्तले बताए । सम्भावित क्षति र त्यसबाट जोगिन यस खालका कृतिम अभ्यास महत्वपूर्ण हुने उनको भनाई छ ।
जिल्ला विपद् व्यवस्थापन समितिको संयोजनमा भएको उक्त कृत्रिम अभ्यास कार्यक्रममा मुसिकोट नगरपालिका प्रमुख महेन्द्र केसी, प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्त, चण्डीदल गणका गणपती शरद थापा, जिल्ला प्रहरी कार्यालयका प्रमुख नवराज पोखरेल, सशस्त्र प्रहरी नायब उपरिक्षक सुमन लामिछाने, प्रमुख अनुसन्धान अधिकृत चिरञ्जिवी बुढा मगर, सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मी लगायतको उपस्थिति रहेको थियो ।