नाथिगाड खोलामा ह्यामपाईप, खलंगा–रुकुमकोट यातायात सुचारु
नाथिगाड खोलामा ह्यामपाईप, खलंगा–रुकुमकोट यातायात सुचारु
![](https://bukinews.com/wp-content/uploads/2024/07/buss.jpg)
रुकुम । रुकुम पूर्वको सिस्ने गाउँपालिका– ७ को नाथिगाड खोलामा ह्यामपाईप राखेसंगै रुकुमकोट सम्मको यातायात सुचारु भएको छ । सिस्ने गाउँपालिका– ६ रानिकोट मध्यपहाडी लोकमार्गमा ठुलो पहिरो खस्दा चार दिन देखि यातायातका साधन चल्न सकेका थिएनन् ।
आज नाथिगाड खोलामा ह्यामपाईप राखेसंगै रुकुम पश्चिमको जिल्ला सदरमुकाम, दाङ, नेपालगञ्जबाट चल्ने सवारी साधन सुचारु भएको सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले जानकारी दिए । ‘मध्यपहाडी लोकमार्ग अन्तरगत रानिकोटमा ठुलो पहिरो खसेसंगै रुकुमकोट भित्रिने सवारी साधन चल्न सकेका थिएनन्, खंलगा, दाङ, नेपालगञ्जबाट चल्ने सावारी साधन ठप्प थिए, हामिले बैकल्पि सडक अन्तरगत नाथिगाड खोलामा ह्यामपाईप हालेका छौ, आज देखि सवारी साधन सुचारु भएका छन्’, अध्यक्ष रेग्मीले भने ।
जिल्ला सदरमुकाम खंलगाबाट रुकुमकोट जाने मध्यपहाडी लोकमार्गमा पहिरो खसे वा अन्य कारण सडक अवरुद्ध भएका सोलावाङ–धाउने–वालुवा सडकखण्डबाट रुकुमकोट साना सवारी साधन चल्ने गर्छन । उक्त सडकखण्डको नाथिगाड खोलामा पानी वहाव बढेसंगै उक्त सडक पनि अवरुद्ध थियो । आज सिस्ने गाउँपालिकाले खोलामा ह्यामपाईप हालेसंगै सवारी साधन चल्न थालेको गाउँपालिका उपाध्यक्ष गोपाल रेउलेको भनाई छ ।
‘खोलामा सवारी वारपार गर्नको लागि चार वटा ह्यापपाईप राखेका छौ, रुकुम पश्चिम, दाङ नेपालगञ्ज जाने सवारी साधन रुकुमकोटमै रोकिएका थिए, आज देखि बैल्पिक सडक खुलेसंगै सावारी साधन चल्न थालेका छन्’, उपाध्यक्ष रेउलेले भने । उक्त सडकखण्डमा साना जिप, फोर्स (हाईस) चल्ने गर्छन । नाथिगाड खोलामा पुल निर्माणको काम लामो समय देखि अलपत्र हुदा वर्खामा समस्या हुने गरेको छ ।
रानिकोटमा सडक अवरुद्ध हुदा रुकुम पश्चिमबाट मध्यपहाडी लोकमार्ग हुदै काठमाण्डौं चल्ने बसहरु भने चल्न सकेका छैनन् । रानिकोटमा पहिरो खसेपछि सल्यान, दाङ हुदै बसहरु संचालन गरिएको रुकुम पश्चिममा रहेका यातायात समितिहरुको भनाई छ ।