आठविसकोटको खदिमा सरकारी अनुदानको नुन पठाइदै
आठविसकोटको खदिमा सरकारी अनुदानको नुन पठाइदै
रुकुम । रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्वर १, २ र ३ मा सरकारी अनुदानको आयोडिनयुक्त नून पठाइने भएको छ । जिल्ला समन्वय समितिमा बसेको सरोकारवाला निकायहरुको बैठकले जिल्लाको विकट वडाको रुपमा रहेका उक्त वडाहरुमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको आयोडिनयुक्त नुन पठाउने निर्णय भएको हो ।
आठविसकोट नगरपालिकाले जिल्ला प्रशासन कार्यालय, रुकुम(पश्चिम) लाई “आयोडिनयुक्त नून उपलब्ध गराइदिन अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीले बताए । उनका अनुसार जिल्लामा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा रहेको मौजात नुन हेरेर सय क्विन्टल नुन उक्त वडाहरुको लागि पठाइने निर्णय भएको हो ।
चालु आर्थिक बर्ष २०८१÷०८२ को लागि आठविसकोट नगरपालिका वडा नं. १, २ र ३ मा वितरण गरिने ढुवानी अनुदानको नूनमध्ये हाललाइ सय क्विन्टल वितरण गर्न सम्बन्धित बडालाई जिम्मेवारी दिइने प्रजिअ जिसीको भनाई छ । यसको लागि जिल्ला सदरमुकाममा रहेको साल्ट ट्रेडिङ्गको डिपोदेखि उपभोक्तासम्म पुरÞ्याउँदा नूनको खुद मूल्यमा फरक नपर्ने गरी यातायात ढुवानीको मूल्य मात्र समायोजन गर्ने कार्यको लागि सम्बन्धित नगरपालिका एवं वडालाई जिम्मा लगाइने उनको भनाई छ ।
वडामा पुगको नुन वितरणको अनुगमन सम्बन्धित क्षेत्रका जिल्ला समन्वय समिति सदस्यले गर्ने छन् । त्यस्तै आगामी आर्थिक वर्ष देखि उक्त क्षेत्र लाई पायक पर्ने गरी विक्री केन्द्र राख्न साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड, प्रदेश कार्यालय, नेपालगञ्जलाई अनुरोध गर्ने निर्णय पनि भएको छ । जिल्लामा एक आर्थिक बर्षको लागि ४५ सय क्विन्टल अनुदानको नुनको कोटा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड रुकुम पश्चिम डिपो कार्यालयका प्रमुख पुनराज गौतमले जानकारी दिए ।
पहिलो चरणमा ७ सय ८० क्विन्टल अनुदानको नुन आएकोमा ३ सय ७५ क्विन्टल नुन मौजात रहेको प्रमुख गौतमको भनाई छ । आठविसकोट नगरपालिकाका उक्त वडाहरुमा पनि मौजात रहेको ३ सय ७५ क्विन्टल नुनबाट नै सय क्विन्टल नुन पठाइने छ । जिल्लामा अहिले जिल्लाको शेरीगाउँमा रहेको डिपो र चौरजहारी नगरपालिकामा रहेको बिक्रि केन्द्रबाट नुन बिक्रि हेदै आएको छ ।
