भुकम्प प्रभावित क्षेत्रमा ५ वटा नमुना घर निर्माण
भुकम्प प्रभावित क्षेत्रमा ५ वटा नमुना घर निर्माण
रुकुम पश्चिम । रुकुम पश्चिमको भुकम्प प्रभावित क्षेत्रमा ५ वटा नमुना घर निर्माण भएका छन् । बेलायती राजदूतावास एफसीडीओको सहयोगमा राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा राष्ट्रसंघीय निकायहरुको साझेदारीमा सञ्चालित संयुक्त पुनर्लाभ कार्ययोजना अन्तर्गत भुकम्प प्रभावित क्षेत्रमा नमुना घरहरु निर्माण भएका हुन् ।
नमूना आवास अन्तर्गत तयार गरिएका यी भवनहरु सिएसईबी प्रविधिमा आधारित रहेका छन् । जिल्लाको आठविसकोट नगरपालिकामा ३, त्रिवेणी गाउँपालिका १ र बाँफिकोट गाउँपालिकामा १ गरि ५ वटा नमुना घर निर्माण भएर भुकम्प पिडितलाई हस्तान्तरण गरिएको छ । परियोजनाले रुकुम पश्चिम र जाजरकोटमा २६ वटा नमुना घर निर्माण गरिरहेको छ ।
परियोजनाले भुकम्प प्रभावित क्षेत्रमा दुई कोठे र तिन कोठे नमुना घर निर्माण गरिरहेको छ । २ कोठे घरको लागत ६ लाख रहेको छ भने तिन कोठे घरको लागत ८ लाख रहेको आइओएमका कार्यक्रम व्यवस्थापक विपिना शर्माले जानकारी दिईन ।
जिल्लाको चौरजहारी नगरपालिकामा २ वटा, सानीभेरी गाउँपालिकामा २ वटा, मुसिकोट नगरपालिकामा १ वटा बाँफिकोट गाउँपालिकामा १ वटा, त्रिवेणी गाउँपालिकामा १ र आठविसकोट नगरपालिकामा ६ वटा, नमुना घर निर्माण हुने छन् । केहि नमुना घरहरु निर्माण भएर पनि लाभग्राहीलाई हस्तान्तरण भैसकेको आइओएमले जनाएको छ ।
आज (विहिबार) जिल्लाको त्रिवेणी गाउँपालिका ८ की लिला नेपालीको नमुना घर निर्माण गरेर हस्तान्तरण पनि गरिएको छ । गाउँपालिका अध्यक्ष गणेशकुमार केसीले उक्त घर हस्तान्तरण गरेका हुन्।