संघिय संसदमा कर्मचारी युनियनको निर्वाचनको सरगर्मी बढ्यो
संघिय संसदमा कर्मचारी युनियनको निर्वाचनको सरगर्मी बढ्यो
काठमाडौं । प्रत्येक दुई वर्षमा हुने कर्मचारी युनियन (आधिकारीक ट्रेड युनियन) को निर्वाचनले संघीय संसद सचिवालयमा यतिखेर चुनावि सर्गर्मी बढेको छ । कर्मचारीको हक, अधिकार र सौदावाजिको लागी युनियन प्रभावकारी मानिन्छ । यहि फाल्गुण २६ गते बिहान १० बजे देखि २ बजे सम्म हुने मतदानमा २२८ जना मतदाता रहेका छन ।
जसमध्ये अधिकृतस्तरका ७७ जना, ९६ जना नायब सुब्बा, १७ जना खरिदार तथा सहायक पाँचौ स्तरका ३२ जना र विभिन्न निकायहरुवाट सचिवालयमा कामकाज गर्ने गरी काजमा आएका ६ जना कर्मचारी रहेको संघीय संसद सचिवालय कर्मचारी युनियन निर्वाचनका निर्वाचन अधिकृत कल्पना कुमारी खतिवडाले जानकारी दिनु भयो । खतिवडाका अनुसार यस निर्वाचनमा राज पत्राङ्कीत तृतीय श्रेणी (शाखा अधिकृत) सम्मका स्थाई कर्मचारीहरुले मात्र मतदान गर्न पाउनेछन । निर्वाचन समितिले हाल सम्म मतदाता नामावलि प्रकाशन, मतदाता नामावली उपर दाबी विरोध, मतदाताको अन्तिम नामावली प्रकाशन, उमेदवारी दर्ता लगायतका कामहरु सम्पन्न गरिसकेको छ ।
अध्यक्षमा ४ जनाको उमेद्दवारी दर्ताव्यवस्थापिकाको महत्वपूर्ण निकाय संघीय संसदका कर्मचारीहरुको यस चुनावलाई सबै पार्टीहरुले महत्वका साथ हेरेका छन । उमेदवारी दर्ता गर्ने २१ गते साढे २ बजे सम्म अध्यक्षमा ४ जनाले उमेदवारी दर्ता गराएका छन । एमाले निकट नेपाल निजामती कर्मचारी संगठनवाट संगठनका केन्द्रिय सदस्य रेणुका सुवेदी, काँग्रेस निकट निजामती कर्मचारी युनियनवाट अरुण किशोर शर्मा, माओवादी निकट राष्ट्रिय कर्मचारी संगठनवाट सरस्वति रिजाल र स्वतन्त्र रुपमा विष्णु खड्काले उमेदवारी दर्ता गराउनु भएको निर्वाचन समितिले जनाएको छ । पाँच जना पदाधिकारी र छ जना सदस्य गरी कर्मचारी युनियन जम्मा ११ जनाको रहने प्रावधान छ । साथै १ जना उपाध्यक्ष चुनिनु पर्नेमा ३, १ सचिव चुनिनु पर्नेमा ४, १ सहसचिव चुनिनु पर्नेमा ३, १ कोषाध्यक्ष चुनिनु पर्नेमा ३ र ६ जना सदस्य चुनिनु पर्नेमा ११ जना गरि जम्मा २८ जनाको उमेदवारी परेकोछ ।
२०७९ फागुन ३ गते भएको युनियन निर्वाचनमा तत्कालिन सत्ता गठवन्धन दल काँग्रेस र माओवादी सहित अन्य दल निकट कर्मचारी संगठनहरुले तालमेल गर्दा एमाले निकट कर्मचारी संगठन एक्लै चुनावि प्रतिष्पर्धामा थियो । तर मतपरिणाम भने मिश्रित आएको थियो । २ वर्ष अधि भएको निर्वाचनमा पाँच दलिय गठवन्धनका साझा उमेदवार गोविन्द वेल्वासे अध्यक्ष सहितको टिम विजयी हुँदा एक्लै चुनाव लडेको एमाले निकट नेपाल निजामति कर्मचारी संगठनबाट प्रमिला पौडेल गौतम उपाध्यक्षमा निर्वाचित भएकी थिईन । यस पटक भने तीन ठुला दल निकट कर्मचारी संगठनहरु एक्ला एक्लै चुनावी मैदानमा होमिएका कारण तीनै दलले यसलाई प्रतिष्ठाको विषय बनाएका छन ।
