जसले माओवादी आन्दोलनलाई उठाए, आज तिनै किन कमजोर छन् ?

जसले माओवादी आन्दोलनलाई उठाए, आज तिनै किन कमजोर छन् ?

"0" Comments

– पुष्प बादी बसन्त
माओवादी आन्दोलनको इतिहास केवल नेताहरूको इतिहास होइन। यो इतिहास हो ! खाली खुट्टा हिँडेका दलितको, चुलो–चौकोबाट बाहिर निस्केर बन्दुक र संघर्ष बोकेका महिलाको, आफ्नो पहिचान र अधिकार खोजेका जनजातिको, विभेद सहँदै आएका मधेसी र मुस्लिमको, श्रम गरेर पनि सम्मान नपाएका श्रमिकको र राज्यको मूलधारबाट वर्षौँसम्म किनारामा पारिएका उत्पीडित जनताको।

युद्धकालमा यिनै समुदाय माओवादी आन्दोलनका सबैभन्दा प्रिय आधार थिए। उनीहरूले परिवर्तनको सपना देखे। आफ्ना घर, परिवार, रोजगारी र व्यक्तिगत सुखभन्दा ठूलो ठानेर आन्दोलनलाई साथ दिए। कतिले ज्यान दिए, कतिले अंग गुमाए, कतिले जेल र यातना भोगे, कतिले घरबार गुमाए। त्यतिबेला उनीहरूलाई भनियो ! “तिमीहरू केवल पीडित होइनौ, परिवर्तनका शक्ति हौ।”

तर आज ती अनुहारहरूलाई गाउँमा गएर हेर्नुस्। धेरै दलितका हातमा अझै जमिन छैन। धेरै श्रमिकका हातमा अझै स्थायी रोजगारी छैन। धेरै महिलाको आवाज अझै निर्णय गर्ने ठाउँमा कमजोर छ। जनजाति, मधेसी, मुस्लिम र अन्य सीमान्तकृत समुदाय अझै सम्मान, अवसर र प्रतिनिधित्वका लागि संघर्षरत छन्। सबैभन्दा पीडादायी प्रश्न यही हो ! जसको नाममा आन्दोलन भयो, उनीहरूको जीवनमा परिवर्तन किन अपेक्षा अनुसार आएन ?

यो प्रश्न प्रचण्डमाथि मात्र होइन। यो प्रश्न सम्पूर्ण माओवादी आन्दोलनमाथि हो। र यो प्रश्न हामी आफैंमाथि पनि हो। शान्ति प्रक्रियापछि माओवादी आन्दोलन राज्यसत्तामा पुग्यो। गणतन्त्र आयो, संविधान आयो, संघीयता आयो, धर्म निरपेक्षता ,समानुपातिक समावेशिताले संवैधानिक स्थान पायो। यी उपलब्धि महत्वपूर्ण छन्। तर राजनीतिक व्यवस्था बदलिनु र समाजको शक्ति सम्बन्ध बदलिनु एउटै कुरा होइन।

सत्ता परिवर्तन भयो, तर गाउँको गरिबी उस्तै रह्यो भने परिवर्तन अधुरो हुन्छ। संविधानमा समानता लेखियो, तर दलितले अझै अपमान सहनुपर्‍यो भने परिवर्तन अधुरो हुन्छ। महिलालाई अधिकार दिइयो, तर निर्णयको चाबी अझै पुरुषकै हातमा रह्यो भने परिवर्तन अधुरो हुन्छ।

जनजाति, मधेसी, मुस्लिम र सीमान्तकृत समुदायलाई प्रतिनिधित्व दिइयो, तर स्रोत, साधन र निर्णय शक्तिमा उनीहरूको पहुँच कमजोर रह्यो भने परिवर्तन अधुरो हुन्छ। किनकि वास्तविक परिवर्तन कागजमा होइन, मानिसको जीवनमा देखिनुपर्छ।

आज माओवादी आन्दोलनले सबैभन्दा गम्भीर आत्मसमीक्षा गर्नुपर्ने ठाउँ यही हो। सत्ता प्राप्त गरेपछि के आन्दोलनको आधारभूत वर्गसँगको सम्बन्ध कमजोर भयो ? के श्रमिक र किसानको ठाउँ सत्ता समीकरणले लियो ? के उत्पीडित समुदायको आवाजभन्दा नेतृत्वको आन्तरिक शक्ति संघर्ष ठूलो बन्न पुग्यो ? के जनताको आशालाई चुनावी गणितले विस्थापित गर्‍यो ?

यी प्रश्न असहमतिका प्रश्न होइनन्। यी आन्दोलनलाई फेरि जनतासँग जोड्ने प्रश्न हुन्।

अब आवश्यक छ – पुरानो नाराको पुनरावृत्ति होइन, नयाँ जनजागरण। तर नयाँ जनसंघर्ष भन्नाले कसैविरुद्ध हिंसा होइन। यसको अर्थ हो – अन्यायविरुद्ध संगठित आवाज, विभेदविरुद्ध सामाजिक प्रतिरोध, भ्रष्टाचारविरुद्ध नागरिक निगरानी, भूमिहीनका लागि भूमि अधिकार, श्रमिकका लागि सम्मानजनक श्रम, महिलाका लागि वास्तविक निर्णय शक्ति र दलित–जनजाति–मधेसी–मुस्लिम तथा सबै सीमान्तकृत समुदायका लागि समान अवसर र सम्मानको लोकतान्त्रिक संघर्ष।

अब प्रश्न केवल “कुन पार्टी ?” भन्ने होइन ।  प्रश्न हो ! कुन राजनीति श्रमिकको पक्षमा छ ? कुन राजनीति भूमिहीनको पक्षमा छ ? कुन राजनीति दलितको आत्मसम्मानको पक्षमा छ ? कुन राजनीति महिलाको स्वतन्त्रताको पक्षमा छ ? कुन राजनीति उत्पीडित समुदायलाई केवल भोट होइन, सत्ता र स्रोतको हिस्सेदार बनाउँछ ?

इतिहासले देखाएको छ ! जनतालाई लामो समयसम्म केवल भाषणले रोक्न सकिँदैन ।

भोकले प्रश्न गर्छ । अपमानले प्रश्न गर्छ । बेरोजगारीले प्रश्न गर्छ । जातीय विभेदले प्रश्न गर्छ । भूमिहीनताले प्रश्न गर्छ । असमानताले प्रश्न गर्छ । अब ती प्रश्नहरूलाई संगठित, शान्तिपूर्ण, लोकतान्त्रिक र न्यायपूर्ण जनसंघर्षमा रूपान्तरण गर्ने समय आएको छ। माओवादी आन्दोलनले आफ्नो शक्ति कहाँबाट पाएको थियो भन्ने कुरा बिर्सनु हुँदैन।

शक्ति दरबारबाट आएको थिएन। शक्ति जनताको दुःखबाट आएको थियो । शक्ति श्रमिकको पसिनाबाट आएको थियो । शक्ति दलितको अपमानविरुद्धको आक्रोशबाट आएको थियो । शक्ति महिलाको विद्रोही चेतनाबाट आएको थियो । शक्ति उत्पीडित जनताको मुक्तिको सपनाबाट आएको थियो ।

त्यसैले आज पनि बाटो त्यहीँबाट खोजिनुपर्छ ! जनताबाट, श्रमबाट, समानताबाट र सामाजिक न्यायबाट । इतिहासको सम्मान भनेको विगतको प्रशंसा मात्र होइन ? विगतका अधुरा सपनालाई वर्तमानको संघर्षसँग जोड्नु हो ।

आउनुस्, फेरि प्रश्न गरौँ । फेरि संगठित बनौँ । फेरि जनताको बीचमा जाऔँ । तर यसपटक कुनै व्यक्ति वा पार्टीलाई देवता बनाएर होइन !
जनताको अधिकारलाई केन्द्रमा राखेर । किनकि अन्ततः “क्रान्तिको असली नायक नेता होइन, परिवर्तनको मूल्य चुकाउने जनता हुन् ।” र जनताले आफ्नो अधिकारको प्रश्न उठाउन थालेपछि कुनै पनि सत्ता सधैँका लागि सुरक्षित रहन सक्दैन ।

पुष्प बादी बसन्तको अघिल्लो विचार;

माओवादी आन्दोलनको वर्गीय संकटस् सहयात्री किन टाढिए, सहयोद्धा किन शत्रु बने


Leave a Reply

Your email address will not be published. Required fields are marked *