रुकुम पूर्वमा राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँछौँ, सुन्छौँ’ कार्यक्रम हुँदै
रुकुम पूर्वमा राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँछौँ, सुन्छौँ’ कार्यक्रम हुँदै
रुकुम पूर्व । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुकुम पूर्वका नागरिकका समस्या, गुनासा, सुझाव र अपेक्षा सुन्ने उद्देश्यले ‘हामी आउँछौँ, सुन्छौँ’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। पार्टीले सार्वजनिक गरेको कार्यक्रम तालिका अनुसार असोज २५, २६ र २७ गते जिल्लाका विभिन्न स्थानमा भेटघाट, अन्तरक्रिया तथा छलफलका कार्यक्रम आयोजना गरिनेछन्।
कार्यक्रम अन्तर्गत असोज २५ गते साँझ ६ बजेदेखि ९ बजेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ। त्यसैगरी, असोज २६ गते पुथा उत्तरगङ्गा गाउँपालिका र भूमे गाउँपालिकामा छलफल तथा अन्तरक्रिया गरिनेछ। असोज २७ गते सिस्ने गाउँपालिकामा अन्तरक्रिया तथा छलफल कार्यक्रम सञ्चालन हुने पार्टीले जनाएको छ। उक्त कार्यक्रम बिहानदेखि सञ्चालन हुने जनाइएको छ।
पार्टीका जिल्ला सभापती लखन कुमार थापाका अनुसार स्थानीय नागरिकका कुरा सुन्ने, उनीहरूका सुझाव लिने र समस्याको समाधानका लागि सहकार्य गर्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो। ‘जनताको आवाज, हाम्रो अभियान’ भन्ने नारासहित अघि सारिएको कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीको टोलीले स्थानीय नागरिक तथा सरोकारवालासँग प्रत्यक्ष संवाद गर्ने अपेक्षा गरिएको छ।
पार्टीले नागरिकका समस्या र प्राथमिकतालाई केन्द्रमा राखेर छलफल तथा सहकार्यलाई अगाडि बढाउने जनाएको छ।
