परम्परागत आरन पेशा नै आम्दनीको स्रोत

परम्परागत आरन पेशा नै आम्दनीको स्रोत

"0" Comments

रुकुम पूर्व । भुमे गाउँपालिका-३ झुम्लाबाङका विश्वकर्मा समुदायका बुढा देखि युवा सम्म प्रत्यक दिन घरेलु औजार बनाउनमा व्यस्त देखिन्छन् । आरनमा फलाम तताउदै घनले त्यहि फलामलाई हिर्काएर विभिन्न आकारका औजार बनाउनमा झुम्लाबाङका विश्वकर्मा समुदाय सधै व्यस्त हुन्छन् ।

गाउँमा आरन पेसा अंगाल्ने धेरै छन् । पुर्खा देखि गर्दै आएको आरन पेसा पछिल्लो समय राम्रो आम्दानीको स्रोत पनि बन्दै गएको छ । लामो समय देखि आरन पेशा गर्दै आएका मनिलाल विक आरन पेसामा सन्तुष्ट छन् । ‘मैले १२ वर्षको उमेरदेखि फलामको औजार बनाउन सिकेको हु, बाजेको पाला देखि शुरु भएको आरन पेसालाई अहिलेसम्म निरन्तरता दिईरहेको छु, हामिलाई जातले दिएको पेसानै यहि हो, यो पेसालाई निरन्तरता दिन सके राम्रो आम्दानी पनि छ’ मनिलालले भने ।

‘उ बेला बाजेले खलोप्रथामा काम गर्नुभयो । खलोप्रथाको कारण उहाँहरुले निकै दुःख पनि खेप्नु पर्यो, बाजेले गरेको पेसा आरन व्यवसाय अहिलेको वर्तमान अवस्थामा संकटमा पर्छकी भन्ने डर थियो ।’ उनले भने, ‘अहिले भने हामिले औजार बनाए बापत अन्न भन्दा पनि पैसा लिने भएकाले यो पेसा आम्दानीसंग जोडिएको छ ।’

सोहि गाउँका ५२ वर्षीय मनभक्त विक पनि आरनको छाप्रोमा दैनिक काम गर्दै गरेको भेटिन्छन् । उनी बिहान झिस्मिसेमै उठ्ने बित्तिकै फलामको विभिन्न औजारहरु बनाउन आरनमा पुग्छन् । ‘मेरो दैनिकी यसरीनै वित्ने गरेको छ, मैले कुटो, कोदाली, बन्चरो, हसीँया, खुकुरी लगायतको थुप्रै औजार निर्माण गर्छु, ति सामाग्रिले राम्रो बजार पाएको छ’ उनले भने ।

आरन पेसामा युवा पुस्ताको पनि मोह उस्तै छ । उनीहरुले पनि बाजे, बुवाहरुले गरेको पेसालाई निरन्तरता दिने भन्दै बुवाहरुसंग आरनमा काम गरिरहेका हुन्छन् । २४ वर्षीय हिमाल विक पनि आफ्नै बुवाले संचालन गर्दै आउनुभएको आरनमा काम गर्दै आएका छन् । ‘चार बर्ष मलेसिया बसेर आए, बुवाहरुले आरनमा औजार बनाएको देख्दा मलाई नि सिक्न मन लाग्यो ।’उनले भने ‘अहिले म पनि बुवाहरुसंगै काम गरिरहेको छु ।’ उनले पुख्र्यौली आरन व्यवसायमा अहिलेका युवाले चासो दिएको प्रति भने उनले दु:खेसो समेत पोखे ।

आरन पेसा विस्तारै लोप हुँदै गएको उनको भनाई छ । पुर्खौली पेशालाई आधुनिक ढंगले व्यावसायिक रूपमा अघि बढाउन सके बेरोजार बस्न नपर्ने उनको भनाई छ । स्थानीय स्रोत, साधनको प्रयोगले गाउँघरमै रोजगारी सिर्जना हुन सक्ने उनले सुनाए ।