अस्ताए उर्जाशिल पत्रकार बिक्रम परियार..

अस्ताए उर्जाशिल पत्रकार बिक्रम परियार..

"0" Comments

रुकुम पूर्व । सिस्ने गाउँपालिका वडा नंं–५ रुमालबाराको गाउँ छेउमा एउटा घर, आगनमा केही मान्छेहरुको चहलपहल । घरको भित्तामा ‘हार्दिक श्रदाञ्जली’ लेखेको दुई शब्द मुनी बिक्रम परियारको हसिलो तस्विर। गत सोमबार साँझ ५ बजेतिर बागलुङको निसिखोला–६ जाउलेपानीमा रुकुम पश्चिमबाट काठमाडौं तर्फ जार्दै गरेको बस दुर्घटनामा ज्यान गुमाउने ९ जना मध्ये एक थिए रुकुम पूर्वका पत्रकार विक्रम परियार । विगत ६ बर्षयता रुकुम पूर्वलाई कार्यक्षेत्र बानाएर सक्रिय पत्रकारिता गरिरहेका बिक्रमको देहान्तपछी यतिबेला उनको घर–परिवार, आफन्त र सहकर्मीहरु गहिरो शोकमा परेका छन् ।

बुधबार दिउँसो नेपाल पत्रकार महासंघ रुकुम पूर्व र पश्चिम शाखाका पदाधिकारीहरु बिक्रमको घर पुगेर उनीप्रति श्रद्धाञ्जली एवम् परिवारजनमा समवेदना दिन भेला भएका बेला बिक्रमकी आमा रश्मी नेपाली भक्कानिईन् । ‘नसोचेकै भयो, घरको एउटा बलियो खाबो गल्र्याम्म ढल्यो’ उनले रोदन मिश्रीत दविएको आवाजमा भनिन् ।

साविक रुकुम जिल्ला पूर्व र पश्चिम गरी दुई भागमा विभाजन भएपछी २०७४ सालयता रुकुम पूर्वलाई कार्यक्षेत्र बनाएर पत्रकारितामा सक्रिय भएका बिक्रम नेपाल पत्रकार महासंघ रुकुम पूर्वका सह–सचिव थिए । साथै उनी अन्नपुर्ण पोस्ट दैनिक र हिमालय टेलिभिजनका जिल्ला समाचारदाता र अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक)का जिल्ला प्रतिनिधी पनि थिए ।

आमा रश्मी र बाबा रञ्जितका दुई सन्तान मध्ये कान्छा छोरा थिए बिक्रम । १० बर्षअघि २०७० साल चैत ३ गते बुबाको मृत्यु भएपछी घर–परिवारका लागी भरोसाको केन्द्रका रुपमा रहेका बिक्रमको पनि मृत्यु भएपछी यतिबेला परिवारमा उनको रिक्तता मात्रै होईन ठुलो अभाव समेत खट्किएको आमा रश्मीको भनाई छ । ‘जेठो छोरा आफ्नो परिवारसंग दाङ तिरै बस्छ । यता घरमा कान्छो र म मात्रै बस्थ्यौं । ऊ गएपछी अब म एक्लै यो घरमा कसरी बसौला र !’  गहभरी आशु पार्दै मधुरो स्वरमा उनि भन्छिन् ‘काठमान्डु जान्छु भनेर घरबाट निस्किएको छोरो अब फकिन्न भनेर कसरी पत्याउ । ‘आमै भन्दै बोलाईहाल्छ कि भन्ने लागिरहन्छ ।’

बिक्रमका दाई अमृत भाईको क्रिया बसेका छन् । सेतो कपडामा अलग्गै बसेका अमृत पनि भाईको लगनशिलता र मेहनतबारे सम्झिदैं भक्कानिए । ‘घरमा कसैको कमाई-कजाई केही थिएन । मैले त पढ्न पाएन तर भाईले आफ्नै मेहनतले पढ्यो ।’ उनले भने, ‘१२ कक्षा पास गरेको थियो । अब बिए पढ्छु भन्थ्यो, मैले पनि पढ सकेको गरौला नै भनेको थिए । तर ‘गए’ पनि नभनी नफर्किनेगरी गयो ।’

छोटो समयमा पनि प्रगतिपथमा लम्किएका बिक्रमबारे उनका आफन्त मात्रै होईन सहकर्मीहरुले पनि मुक्तकण्ठले प्रशंशा गर्छन् । उनिसंग संगै काम गरेका रुकुम पूर्वका पत्रकार जयमान बुढाले बिक्रमलाई सम्झिनुअघि गहभरी आशु परेर उनको लगनशिलता र मेहनतबारे बताए । ‘आज निःशब्द छु । उनको आनीबानी र काम गर्ने तवरतरिका निकै गज्जवको थियो । कहिल्यै कसैसंग नरिसाउने, सबैसंग समान सम्बन्ध कायम गर्ने । असल मान्छे थिए बिक्रम ।’ उनले भने, ‘सहकार्यमा हामीले लामो समय बितायौं पल–पलका निकै मिठा सम्झनाहरु छन् । अहिले आएर आफुलाई कस्तो रित्तो–रित्तो झै लागिरहेको छ ।’

दुई महिनाअघि रुकुम पूर्वलाई केन्द्रमा राखेर ईरुकुम डट कम नामको अनलाईन मिडिया पनि संञ्चालनमा ल्याएका बिक्रमको यो अनलाईन फाल्गुण २८ गतेयता अपडेट छैन । ‘चुन्बाङमा एक हप्ते आधारभुत पत्रकारिता तालिम सुरु’ शिर्षकको उक्त अनलाईनको पछिल्लो समाचारमा औपचारिक पोषाकमा कालो चस्मा लागाएर मञ्चमा बसेका बिक्रमको तस्विर छ । उनकै अगुवाईमा आयोजना गरिएको यही तालिममा प्रशिक्षकका रुपमा पुगेका रुकुम पश्चिमका पत्रकार मेगराज खड्काले सोमबार काठमाडौं जाने दिन आफु बिक्रमसंग छुट्टीएर पश्चिम आएको सम्झिन्छन् । ‘त्यसै दिन मलाई काठमाडौै जानुछ भनेर भन्थे । मैले शुभ यात्रा भनेर छुट्टीए । केही घण्टामै मृत्युको खबर सुन्नुपर्यो’ उनले भने ।

राष्ट्रिय दलित पत्रकार संघको केन्द्रिय अधिवेशनमा सहभागी हुन बिक्रम सोमबार दिउँसो २ बजेतिर रुकुमकोटबाट काठमाडौंका लागी रात्री बस चढेको जयमान बताउछन् । ‘बिक्रम चढेको बस दुर्घटनामा परेको खबर पाउने बित्तिकै उनलाई फोन गर्दा अरु नै कसैले फोन उठाएर घटनाबारे जानकारी दियो ।’ घटना घटेको बेला सम्झिदैं उनले भने ‘बिक्रमको अवस्था बारे थाहा पाउन हामी घटनास्थल हुदैं बुर्तिबाङसम्म पुग्यौं । अस्पतालमा गएर खोज्दा घाईतेमाझ बिक्रमलाई भेट्न सकिएन । त्यसपछी थाहा भयो, उनि त घटनास्थलमै मरेछन् र शब गाडीमा राखिसकिएछ । यो खबरले हामीलाई बेहोसीमा पु¥यायो ।’

समाचारका माध्यमबाट विकास र सामाजिक जागरणमा सकेको योगदान गरिरहेका बिक्रम पत्रकार मात्रै थिएनन् । उनि एक असल सामाजिक अभियन्ता पनि थिए । ‘जहिले पनि तल्लो बर्गको आवाज बोल्ने उनी, जती सरल र सहयोगी थिए । त्यती नै क्रन्तिकारी पनि थिए ।’ बिक्रमलाई सम्झिदैं उनि थप्छन्, ‘हरेक समय आफ्नो काम संगै अध्ययनमा बिताउने बिक्रमले समाजवाद र क्रान्तीका कुरा गर्थे । सुन्दा कस्तो ठुलो कुरा जस्तो लाग्थ्यो । तर खासमा उनी जुन समुदायबाट जसरी यहाँसम्म आएका थिए । त्यसरी सोच्दा भने साच्चै नै क्रान्ती पुरा भएको थिएन ।’

जात, धर्म र भुगोलाई कारण बनाएर मान्छेले भोगिरहेको बिभेद बिरुद्धमा अनि सामाजिक विकास, सुशाशन र लोकतन्त्रका पक्षमा बोल्ने एउटा योद्धाको अवसानले रुकुम पूर्वले एक प्रतिभा गुमाएको नेकपा एमाले रुकुम पूर्वका नेता लिलामणी गौतम बताउछन् । ‘केही गरौं भन्ने सोच अनि आट भएको भर्भराउदो युवालाई सधैका लागी गुमाएका छौं । आगामी दिनमा उनका सपना पुरा गर्न सबैले आ-आफ्नो ठाउँबाट भुमिका निर्वाह गर्न जरुरी छ’ उनले भने ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *