रुकुम पूर्वको ग्रामिण क्षेत्रमा लघु जलविद्युतको उज्यालो

रुकुम पूर्वको ग्रामिण क्षेत्रमा लघु जलविद्युतको उज्यालो

"0" Comments

रुकुम पूर्व । रुकुम पूर्वको सिस्ने गाउँपालिका-२ का निराजन खड्काले स्थानीय तुवाङखोला लघुजल विद्युत आयोजनाको बत्ति बाल्दै आएका छन् । वडाको कुनै पनि ठाउँका केन्द्रिय प्रशारण लाईन पुगेको छैन । सिस्ने गाउँपालिका-१ र २ सम्म केन्द्रिय प्रशारण लाईन पुर्याउनै मुस्किल छ । भिरालो जमिन र भौगोलिक विकटताका कारण पनि यी दुई वडामा केन्द्रिय लाईन कहिले पुग्ने भन्ने टुङ्गो नै लागेको छैन ।
‘हामिले वाबाङखोलामै उत्पादन भएको बत्ति बाल्दै आएका छौ, सानो खोलाबाट सानो क्षमतामा उत्पादन भएको विद्युतले विभिन्न गाउँ उज्यालो बनाएको छ, यो आयोजनाबाट विजुली बाल्न थालेको पनि लामो समय भैसहेको छ, पटक पटक बिग्रने समस्याले भने हामिलाई हैरान वनाएको छ’, अर्का स्थानीय गणेश खड्काले भने ।
सिस्ने १ मा पनि स्थानीयरुपमै विद्युत उत्पादनको काम भैरहेको छ । पाखा ओराली लघु जलविद्युत आयोजना निर्माण भएर गाउँ, गाउँमा लाईन विस्तारको काम भैरहेको वडा अध्यक्ष रजबहादुर बुढाक्षेत्रीले बताए । ‘४६ किलोवाट विद्युत उत्पादन भएको छ, वडामा ६ सय घरधुरी मात्र छ, पाखा ओराली लघुजल विद्युतबाट उत्पादन भएको विद्युतले हामिलाई पुग्छ’, वडा अध्यक्ष बुढाक्षेत्रीले भने ।
वैशाख १ गतेसम्म गाउँमा विजुली बाल्ने गरी काम भइरहको छ । विद्युत विस्तार भएसँगै भट्टेचौरका १ सय ६० र ओख्रेना गाउँका १ सय ४० गरेर कुल ३ सय घरपरिवारले पहिलो चरणमा विजुली बाल्ने छन् । पाखापानी, ठुला सिस्ने र लाम्पाखामा विद्युत विस्तार काम पनि तत्काल सुरु गर्ने योजना रहेको वडा अध्यक्ष बुढाक्षेत्रीको भनाई छ ।
रुकुम पूर्वको ग्रामिण क्षेत्रहरुमा साना लघु जलविद्युत आयोजनाले धानेका छन् । सिस्ने ७ र ८ मा भने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सेरीगाउँ रुकुम पश्चिमले विद्युत वितरण गरेको छ । जिल्लाको अन्य ठाउँमा रुकुमकोट वितरण केन्द्रले विद्युत वितरण तथा लाइन विस्तारको काम गरिरहेको छ ।
जिल्लामा ३० हजार मात्रै नेपाल विद्युत प्राधिकरणका ग्राहक छन् । सिस्ने गाउँपालिकाको १ र २, भुमे गाउँपालिकाका ७ र ८ वडा बाहेक अन्य वडामा नेपाल विद्युत प्राधिकरणको केन्द्रिय प्रशारण लाईन पुगेको छ । पुथाउत्तरगंगा गाउँपालिकाको तकसेरा सम्म मात्रै नेपाल विद्युत प्राधिरणको केन्द्रिय प्रशारण लाईन पुगेको रुकुमकोट वितरण केन्द्रका प्रमुख प्रमोद खनालले जानकारी दिए ।
‘जिल्लामा केन्द्रिय प्रशारण लाईनबाट विजुली उपभोग गर्ने ग्राहक निकै कम छन्, स्थानीयस्तरमै उत्पादन भएका साना लघु जलविद्युत आयोजनाबाट नै गाउँ–गाउँमा विजुली वत्ति पुगेको छ, हामिले जिल्ला भरनै केन्द्रिय प्रशारण लाईन पुर्याउने पहल थालेका छौ’, वितरण केन्द्र प्रमुख खड्काले भने ।
जिल्लामा विद्युत आपुर्तीलाई सहज बनाउनको लागि रुकुमकोट र काक्रिमा सवस्टेसन निर्माणको काम पनि भैरहेको छ । काक्रिमा काम सुरु भैसकेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र रुकुमकोटका प्रमुख खनालले बताए । रुकुमगाड खोलाबाट उत्पादन भैरहेको २ मेगावाट विद्युत चार्जको लागि रुकुमकोटमा सवस्टेसन निर्माण हुने उनको भनाई छ ।
अहिले रुकुमगाडबाट उत्पादन भैरहेको विद्युत रुकुम पश्चिमको मुसीकोट नगरपालिका-३ धैरेनीचौरमा रहेको स्वस्टेसनमा चार्ज भैरहेको छ । रुकुमकोटमा ३ एमभिए क्षमताको सवस्टेन निर्माण भएमा रकुमगाडको विद्युतबाट चार्ज गरेर जिल्लामा विद्युत आपुर्ती सहज गराउने योजना प्राधिकरणको छ । जिल्लामा केन्द्रिय प्रशारण लाईन नपुगेको ठाउँमा विद्युत विस्तारको काम तिव्ररुपमा भैरहेको वितरण केन्द्र रुकुमकोटको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *