मुसिकोटको लसुन पटेक क्षेत्रमा लसुनको बीउ बितरण
मुसिकोटको लसुन पटेक क्षेत्रमा लसुनको बीउ बितरण
रुकुम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका– १० मा १५० क्विन्टल लसुनको बीउ रोपिने भएको छ । किसानहरुले यो सिजनमा १५० क्विन्टल लसुनको बीउ लगाउदै छन् । केहि किसानले भने लसुन रोपि सकेका छन् । नगरपालिकाको सबै भन्दा राम्रो लसुन उत्पादन हुने ठाउँको रुपमा रहेको सो वडामा यो सिजनमा लसुन लगाउनको लागि अनुदानमा बीउ पनि वितरण गरिएको छ ।
एक सय क्विन्टल लसुनको बीउ स्थानीयलेनै उत्पादन गरेका थिए । त्यस्तै कृषि विकास कार्यालय र नगरपालिकाबाट पनि लसुनको बिउ खरिद गरेर किसानलाई बितरण गरिएको वडा अध्यक्ष धनबहादुर खड्काले बताए । वडामा एक जना किसानले साढे तिन क्विन्टल सम्म पनि लसुनको विउ लगाउने गरेको उनको भनाई छ ।
“वडाको प्राय ठाउँमा राम्रो लसुन उत्पादन हुने गर्छ । वडाका किसानले यो बर्षको सिजनमा एक सय ५० क्विन्टल लसुन रोप्दैछन् । अन्य बाली भन्दा लसुनबाट राम्रो आम्दानी हुने भएकाले पनि किसानहरुले लसुन खेतीमा आर्कर्षित देखिएका हुन् । स्थानीयतह स्थापना देखिनै अनुदानमा लसुनको बीउ वितरण गर्दै आइरहेका छौ । ” अध्यक्ष खड्काले भने ।
असोजमा कृषि विकास कार्यालयले ५४ क्विन्टल लसुनको विउ वितरण गरेको थियो । आज ६० क्विन्टल लसुनको बीउ वितरण गरिएको हो । एक सिजनमा किसानले एक हजार क्विन्टल लसुन उत्पादन गर्ने गरेको वडा अध्यक्ष खड्काको भनाई छ । लसुन बिक्रिबाट मात्रै वडामा १ करोड रुपैंया भित्रिने गर्छ । वडाको लसुन काठमाडौं र पोखरामा जाने गरेको वडा कार्यालयको भनाई छ ।।