रुकुम पूर्वमा फलेको स्याउले बजार पाएन

रुकुम पूर्वमा फलेको स्याउले बजार पाएन

"0" Comments

रुकुम पूर्व । रुकुम पूर्वमा फलेको स्याउले बजार नपाउदा गाउँमै थन्किएको छ । जिल्लामा ३७० हेक्टर क्षेत्रफलमा स्याउ उत्पादन हुने गरेको छ । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिकामा सबै भन्दा बढि स्याउ फल्ने गर्छ । स्याउ फल्ने ठाउँ सम्म पुग्ने सडक नभएकै कारण स्याउले बजार पाउन नसकेको किसानहरुको गुनासो छ ।

सडक पुगेको ठाउँमा बोटबाटै स्याउ विक्री भइरहेका छन् भने सडक नपुगेका ठाउँका स्याउ गाउँमै थन्किने गरेको पुथाउत्तरगंगा गाउँपालिका २ का किसान लक्ष्मीप्रसाद पुन मगरले बताए । ‘यो बर्ष राम्रो स्याउ फलेको थियो । केहि स्याउ बोटमै कुहियो । केहि स्याउ टिपेर राखेका छौ । चिस्यान केन्द्र छैन । यो सबै स्याउ खेर जाने देखिन्छ’, पुनले भने ।

जिल्लाको भुमे गाउँपालिका–१, सिस्ने गाउँपालिका–१ र पुथाउत्तरगङ्गा गाउँपालिका–१, २, ५, ६, ९, १० का किसानले स्याउ खेती गरेका छन् । सिस्ने गाउँपालिका–१, पुथाउत्तरगङ्गा गाउँपालिका–२ र ९ मा सडक पुगेको छैन भने पुथाउत्तरगङ्गा–१, ५, ६ र १० मा सडक ट्रयाक खुले पनि बर्खाका बेला यातायातका साधन आउजाउ गर्न सक्ने अवस्था छैन ।

त्यसैले यहाँका किसानले स्याउ फलाए पनि बजारसम्म पुरÞ्याउन सक्ने स्थिति छैन । सिस्ने गाउँपालिका–१ मा स्याउ राम्रो उत्पादन भए पनि बजार सम्म पुर्याउन नसकिएको वडाध्यक्ष रजबहादुर बुढाले बताए । “बजारसम्म पठाउने सडक छैन । किसानको लगानी त्यत्तिकै खेर गइरहेको छ । हाम्रो वडामा कहिले सडक पुग्ला र यहाँका फलफूलबाट आम्दानी गर्ने होला ? दुर्गमका जनतालाई सधैं दुःखैदुःख छ ।”, वडाध्यक्ष बुढाले भने ।

पुथाउत्तरगङ्गा गाउँपालिका–२ मा पनि सडकको पहुँच नभएकै कारण हरेक वर्ष यस गाउँपालिकाको स्याउ खेर जाने गरेको छ । जिल्ला यो सिजनमा मात्रै २७ सय २३ मेक्ट्रिक्टन स्याउ उत्पादन भएको छ । ३ सय मेक्ट्रिक्टन स्याउ मात्रै जिल्ला बाहिर निकासि भएको एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय रुकुम पूर्वका प्रमुख डिल्लीराज पौडेलले जानकारी दिए ।

पुथाउत्तरगंगा गाउँपालिकामा मात्रै २१ सय ७८ मेक्ट्रिक्टन स्याउ फलेको छ । जिल्लामा अहिले गोल्डन र रेडडेलिसेर प्रजातिको स्याउ फल्ने गरेको छ । साथै फुजि प्रजातिको स्याउ पनि लगाइएको एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय प्रमुख पौडेलको भनाई छ । स्याउले बजार नपाए पछि एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयको आर्थिक सहयोगमा र पुथाउत्तरगंगा गाउँपालिकाको समन्वयमा २ नम्वर वडाको पेल्मामा वाइन बनाउन लागिएको छ ।

आर्थिक वर्ष २०८०÷८१ को स्वीकृत कार्यक्रम अन्तर्गत आठ लाख रुपैयाँमा वाइन मेशिन खरिद गरिएको हो । दुई सय लिटर प्रशोधन क्षमता रहेको वाइन मेशिन वडामा रहेको हिमाली जैविक कृषि बहुउद्देश्यीय सहकारी संस्थाले सञ्चालन गर्ने भएको हो ।

सहकारी मार्फत वडाका स्याउ उत्पादक ४७ जना कृषक लाभान्वित हुने भएका छन् । लुम्बिनी प्रदेश सरकारको स्थानीय स्तरमा उत्पादित बस्तुहरूको प्रशोधन कार्यक्रम अन्तर्गत पेल्मामा वाइन मेशिन राखिएको हो । पेल्मालाई जिल्लाको स्याउ उत्पादनको पकेट क्षेत्र घोषणा समेत गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *