माओवादी केन्द्र चौरजहारी नगरपालिकाका अध्यक्षको राजिनामा
माओवादी केन्द्र चौरजहारी नगरपालिकाका अध्यक्षको राजिनामा
रुकुम पश्चिम । नेकपा माओवादी केन्द्र चौरजहारी नगरपालिका अध्यक्ष सुन्दर शर्मा लगायत नगरसमिति सदस्यहरुले पदबाट राजिनामा दिएका छन् । आज उनीहरुले सामुहिक राजिनामा दिएका हुन् ।
माओवादी केन्द्र चौरजहारी नगर समितिको तेस्रो नगर अधिवेशनबाट निर्वाचन उनीहरुले नगर समितिको जिम्मेवारी प्राप्त गरेका थिए । नगर समितिमा मनोनितको विषयलाइ लिएर असन्तुष्टि व्यक्त हुदै आइरहेको थियो ।
‘नगर समिति विरुद्ध निर्वाचन आयोगमा उजुरी दिनु र सामाजिक सञ्जालहरुमा समेत नकारात्मक टिकाटिप्पणी गरेको अवस्थाले हामीलाइ गंभिर बनाएको छ । यस अवस्थाले हाम्रो आन्तरिक एकतामा समेत नकारात्मक प्रभाव पार्ने अवस्थाप्रति हामी सचेत भएका छौ’, राजिनामा पत्रमा उल्लेख गरिएको छ ।
पाटीको नेतृत्वपंक्ती, कार्यकर्ता एवं समर्थकहरुले देखाएको चासो चिन्ता र दिएको सुझावलाइ मनन गर्दै चौरजहारीमा पार्टीलाइ अझ बलियो, एकतावद्द एवं सक्रिय बनाउने उद्देश्यका साथ नगर समितिको जिम्मेवारीबाट राजिनामा दिएको उल्लेख गरिएको छ ।
आगामी दिनमा पार्टीले दिने जुनसुकै जिम्मेवारीलाइ इमान्दारिताका साथ पुरा गर्ने प्रतिवद्दता पनि उनीहरुले गरेका छन् । राजिनामा दिनेमा नगर समिति अध्यक्ष शर्मासंगै नगर समिति सदस्यहरु लालबहादुर कामी, परशुराम लामिछाने, भद्रबहादुर खड्का, असारी दमाइ र ललिता विष्ट रहेका छन् ।
