पद नजिते पनि म सँधै तपाईहरूको सेवामा रहने प्रतिवद्धता व्यक्त गर्दछु
पद नजिते पनि म सँधै तपाईहरूको सेवामा रहने प्रतिवद्धता व्यक्त गर्दछु
धन्यवाद तथा कृतज्ञता
आदरणीय मतदाताहरू,
२०८२ साल फाल्गुण २१ गते देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्य पदको निर्वाचन सम्पन्न भएको छ । आवधिक निर्वाचन मार्फत जनताद्वारा, जनताको लागि, जनताले नै राज्य सत्तामा पुग्ने प्रतिनिधिहरू छनोट गर्न पाउने व्यवस्था लोकतन्त्रको सौन्दर्य हो । नेपाली जनताले आफ्नो सार्वभौम अधिकारको विवेकसम्मत प्रयोग गरी आफुलाई मन परेको व्यक्ति तथा दललाई मतदान गरि सक्नु भएको छ भने कतिपय निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम समेत आईसकेको छ । एउटा मात्र निर्वाचन क्षेत्र, ३४ हजार सात सय बहत्तर मतदाना रहेको रुकुम (पूर्वी भाग) मा जम्मा १९ हजार, १ सय ८८ मत मात्र खस्यो । यस निर्वाचनमा ११ जना उम्मेदवार रहेकोमा ३ हजार, ४ सय, ६२ मत सहित म दोस्रो हुन पुगे ।
सर्वप्रथम यस यात्रामा साथ दिनुहुने रुकुम (पूर्वी भाग) जिल्लाका ३ पालिका र ३१ वटै वडाका आदरणीय आमाबुबा, दाजुभाई, दिदीबहिनी तथा प्रिय युवा साथीहरूप्रति म हृदयदेखि नै कृतज्ञता व्यक्त गर्न चाहन्छु । चुनावि घरदैलोको क्रममा तपाईंहरूका घरआँगनमा पुग्दा पाएको माया, आमाबुबाले दिनुभएको आशिर्वाद, दाजुभाइले देखाउनुभएको भरोसा र दिदीबहिनीहरूले व्यक्त गर्नुभएको स्नेह मेरो लागि केवल समर्थन मात्र होइन, जीवनभर सम्झिरहने अमूल्य विश्वास हो ।
उम्मेद्वारी मनोनयन दर्ता गरेको दिनदेखि मतदानको अन्तिम क्षणसम्म दिनरात खटेर साथ दिनुहुने पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता एवम् शुभेच्छुकहरुलाई म विशेष धन्यवाद दिन चाहन्छु । तपाईंहरूको मेहनत, विश्वास र समर्पण बिना यो यात्रा सम्भव हुने थिएन ।
यस लोकतान्त्रिक प्रतिस्पर्धामा सहभागी हुनुहुने सम्पूर्ण प्रतिस्पर्धी उम्मेदवारहरूलाई पनि म सम्मानसहित धन्यवाद व्यक्त गर्दछु । लोकतन्त्रको सुन्दरता नै यही हो । हामी प्रतिस्पर्धा गर्छौं, तर अन्ततः हाम्रो उद्देश्य जनताको सेवा र समाजको हित हो ।
निर्वाचन परिणाम जे आए पनि मेरो मन, मेरो जिम्मेवारी र मेरो प्रतिवद्धता सँधै रुकुम (पूर्वी भाग) जिल्लाका जनताको समृद्धिको लागि रहनेछ । आमाबुबाले दिनुभएको आशिर्वाद, तपाईंहरूले देखाउनुभएको माया र विश्वास नै मेरो जीवनको सबैभन्दा ठूलो शक्ति हो । तपाईंहरूले देखाउनुभएको विश्वास र सद्भावना मेरो लागि सधैं मार्गदर्शन बन्नेछ । फेरि एकपटक सम्पूर्ण रुकुम (पूर्वी भाग) जिल्लाका आदरणीय आमाबुबा, दाजुभाइ, दिदीबहिनी तथा युवा साथीहरूलाई मनदेखि नै धन्यवाद व्यक्त गर्दछु । सुरक्षित र मर्यादित रूपमा निर्वाचन सम्पन्न गराउनुहुने मुख्य निर्वाचन अधिकृतज्यू, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, पर्यवेक्षक तथा पत्रकार सम्पूर्णलाई धेरै धेरै धन्यवाद ।
यस पटकको निर्वाचनमा मलाई विश्वास गरेर मत दिनुहुने सम्पूर्ण मतदाताप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु । चुनावको परिणामलाई म पूर्ण रूपमा सम्मान गर्दछु । तपाईंहरूको साथ, माया र सुझावले मलाई थप जिम्मेवार र प्रेरित बनाएको छ । पद नजिते पनि म सँधै तपाईहरूको सेवामा रहने प्रतिवद्धता व्यक्त गर्दछु साथै विजेता श्री पुष्पकमल दाहाललाई हार्दिक बधाई ।
लिलामणि गौतम
प्रत्यक्ष उम्मेदवार, प्रतिनिधि सभा निर्वाचन २०८२, रुकुम पूर्व,
(केन्द्रीय सदस्य, नेकपा एमाले)

https://shorturl.fm/OiYeL