मनसुनमा २० लाख मानिस प्रभावित हुने आकलन, के छ तयारी?
मनसुनमा २० लाख मानिस प्रभावित हुने आकलन, के छ तयारी?

काठमाडौँ । जेठ १७ गते बिहानै धनकुटाको लेउती भएर आउजाउ गर्ने यात्री सडकमै रोकिए। लेउती खोलामा उर्लिएको बाढीले करिब ५० मिटर सडक बगाइसकेको थियो। साँझमा डाइभर्सन बनाइएपछि मात्र यात्रुहरू गन्तव्यतर्फ लाग्न पाए।
धरानबाट लेउती हुँदै जाने कोशी राजमार्गले पूर्वका धनकुटा, भोजपुर, संखुवासभा, तेह्रथुमलगायत जिल्ला जोड्छ। पाँचथर र ताप्लेजुङ जोड्ने छोटो मार्ग तमोर करिडोर पुग्न पनि लेउती सडकखण्ड पार गर्नुपर्छ। जेठ १६ गते रातभरि वर्षा हुँदा लेउतीमा बाढी आएको थियो।
यो वर्ष मनसुनमा सडकमा भएको पहिलो क्षति यही हो। जल तथा मौसम विज्ञान विभागका अनुसार जेठ १५ गते रातिबाट नेपालमा मनसुन भित्रिसकेको छ। बंगालको खाडीबाट आउने मनसुन पूर्वबाट भित्रिन्छ। मनसुनका कारण कोशी प्रदेशका अधिकांश भागमा हल्कादेखि मध्यम वर्षा भएको छ।
नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो। यस वर्षको मनसुन सरदरभन्दा १५ दिन छिटो प्रवेश गरेको छ। कोशी प्रदेशबाट पश्चिमका भूभागमा मनसुनको प्रभाव क्रमश: हुने र अझै केही समय लाग्न छ। आइतबार विभागले कोशी प्रदेशमा फैलिएको मनसुन अब एक सातासम्म निष्क्रिय रहने जनाएको छ। मनसुन निष्क्रिय बन्दा वर्षा कम हुने र गर्मी बढ्ने विभागको अनुमान छ।
बंगालको खाडीको उत्तर–पश्चिमका केही क्षेत्र तथा दक्षिण–पश्चिमका अधिकांश क्षेत्रमा मनसुनको प्रभाव छ। नेपालको पूर्वी भागसहित भारतको केरला आसपास, माल्दिभ्स, श्रीलंकालगायत क्षेत्रमा वर्षा शुरू भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा मनसुन रहने अवधि असोज ४ गतेसम्म हो। यस वर्ष देशका धेरैजसो ठाउँमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना रहेको विभागकी प्रवक्ता एवम् वरिष्ठ मौसमविद् विभूति पोखरेल बताउँछिन्।
मनसुनमा सरदर वर्षा एक हजार ५०० मिलिमिटर हाराहारी हुन्छ। “यो वर्ष सरदरभन्दा बढी वर्षा हुने अनुमान गरिए पनि मनसुनभरि नै बढी वर्षा भइरहने भन्ने होइन। कुनै महिना धेरै र कुनै महिना तुलनात्मक कम वर्षा हुने सम्भावना हुन्छ,” पोखरेल भन्छिन्।
उनका अनुसार जुन (जेठ १८–असार १६) मा सरदरभन्दा बढी वर्षा हुने सम्भावना देखिएको छ। जुलाई (असार १७–साउन १५) र अगस्ट (साउन १६–भदौ १५) मा वर्षा कम हुने सम्भावना छ।
मनसुन अवधिमा कर्णालीको पूर्वी, लुम्बिनीको उत्तरी र गण्डकी प्रदेशको अधिकांश भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ। सुदूरपश्चिमको दक्षिणी, लुम्बिनीको पश्चिमी, गण्डकीको उत्तर–पूर्वी तथा बागमती र कोशी प्रदेशको उत्तरी भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ।
यसैगरी, मधेश प्रदेशका पूर्वी तथा दक्षिणी भागमा सरदर वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत छ। देशका बाँकी भू–भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ।
कस्तो हुन्छ मनसुनको प्रभाव ?
मनसुन भनेको सामान्यतः एकातिरबाट अर्कोतिर बहने हावाको प्रभाव हो। उच्च चापबाट न्यून चापतिर बहँदा बंगालको खाडी हुँदै पानी पार्नसक्ने बादल नेपालभित्र छिर्ने प्रक्रियालाई मनसुन भनिन्छ।
प्रायः ८० प्रतिशत वर्षा मनसुनकै सिजनमा हुन्छ। यस वर्ष मनसुन अवधिमा देशैभर सरदरभन्दा अधिक वर्षा रहने सम्भावना हुँदा बाढी, पहिरो, डुबान, जमिन कटानको सम्भावना रहेको वरिष्ठ मौसमविद् प्रतिभा मानन्धर बताउँछिन्।
यो समय भारी वर्षा हुने हुँदा आकस्मिक बाढीजस्ता विपद्को जोखिम धेरै हुन्छ। “लगभग ४० प्रतिशत विपद् मनसुनकै अवधिमा हुन्छ। हामीले विपद् व्यवस्थापनका लागि तयार भएर बस्नुपर्ने हुन्छ,” उनी भन्छिन्।
हरेक वर्ष मनसुनका कारण ३०० भन्दा बढीको ज्यान जान्छ। २०० मिलियन डलरभन्दा बढीको क्षति हुने गरेको उनले जानकारी दिइन्।
मनसुन अवधिभर जल तथा मौसम विज्ञान विभागले मौसमको निरन्तर मनिटरिङ र पूर्वानुमान गर्छ। साथै नागरिकलाई सूचित र सचेत पनि गराउँछ। “मनसुन कसरी बढेको छ, के तयारी गर्ने, भनेर तीन दिनको बुलेटिन दिने गर्छौं। पूर्वसूचना पनि दिन्छौँ,” मानन्धर भन्छिन्, “जोखिम रोक्न हामी एक्लैले केही गर्न सक्दैनौँ, सबै मिलेर सहकार्य गर्नुपर्छ।”
२० लाख मानिस प्रभावित हुने
यस वर्ष मनसुनका कारण करिब २० लाख नागरिक प्रभावित हुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आकलन गरेको छ। सरदरभन्दा बढी वर्षा हुने र तातो हावाको लहरबाट समेत मानिसहरू प्रभावित हुने आकलन छ।
यस वर्षको मनसुनजन्य विपद्बाट देशभर करिब चार लाख ५७ हजार १४५ घरधुरीका १९ लाख ९७ हजार ७३१ व्यक्ति प्रभावित बन्ने आकलन भएको प्राधिकरणका प्रवक्ता एवम् उपसचिव रामबहादुर केसी बताउँछन्। यस्तै, मनसुनले प्रजनन उमेर समूहका ३६ हजार महिला, अपांगता भएका ४८ हजार व्यक्ति, पाँच वर्षमुनिका १ लाख ६४ हजार बालबालिका र ६० वर्षभन्दा माथिका चार लाख १५ हजार मानिस प्रभावित हुने आकलन छ।
विपद् प्राधिकरणको तथ्यांकअनुसार विगत १० वर्षमा मनसुनजन्य विपद्का कारण दुई हजार ३१७ जनाले ज्यान गुमाएका छन्। ४१९ जना बेपत्ता र दुई हजार ६४९ जना घाइते भएका छन्। ५६ हजार ७०५ परिवार प्रभावित र करिब ३६ हजार ४७९ व्यक्तिगत घरधुरीमा क्षति भएको छ।
गत वर्ष मात्रै वर्षाका कारण बाढी, पहिरोजस्ता विपद्मा परी ४९५ जनाले ज्यान गुमाए, ६६ जना बेपत्ता भए। १० हजार ८२३ परिवार प्रभावित भएका थिए।
गत वर्ष बाढीपहिरोले २४४ वटा पक्की तथा झोलुंगे पुल, १८९ वटा शैक्षिक संस्था, १५० वटा सरकारी कार्यालय र ८५ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको थियो। आवासीय तथा व्यावसायिक प्रयोजनमा रहेका निजी आठ हजार ८८८ घरटहरामा पूर्ण र तीन हजार ५३२ घरटहरामा आंशिक क्षति पुगेको थियो।
के छ विपद् प्राधिकरणको तयारी?
यसपालिको मनसुनजन्य विपद्बाट हुने क्षतिको तयारी गत चैतदेखि शुरू गरेको प्राधिकरणका प्रवक्ता केसीले जानकारी दिए। उनका अनुसार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२’ पारित गरेको छ।
“विपद् जोखिम न्यूनीकरण पूर्वतयारी तथा प्रतिकार्यका लागि सरोकारवाला मन्त्रालय, विभाग तथा निकायको जिम्मेवारी, विषयगत क्षेत्र तथा सम्बन्धित निकायको मनसुन पूर्वतयारी र प्रतिकार्य कार्ययोजनासमेत समेटिएको कार्ययोजना पारित गरिसकेका छौँ, त्यहीअनुसार काम हुन्छ,” उनी भन्छन्।
गत वर्ष असोज १० गतेदेखि १३ गतेसम्म परेको अविरल वर्षाका कारण बागमती नदीमा पानीको सतह बढ्न गई काठमाडौँ उपत्यकाका नख्खु, कुलेश्वर, थापाथली, बल्खुलगायत भू–भागमा डुबान भएको थियो। यस पटक नेपाली सेनाको सहयोगमा चोभार गल्छीमा रहेको अवरोध हटाउन शहरी विकास मन्त्रालयलाई निर्देशन दिइएको केसी बताउँछन्। यसबाहेक प्राधिकरणले पूर्वतयारी तथा प्रतिकार्यको अवधिभर नेतृत्वदायी तथा समन्वयकारी भूमिका निर्वाह गर्ने उनको भनाइ छ।
मनसुनमा पहिरोका कारण अवरुद्ध सडक खुलाउन भौतिक पूर्वाधार मन्त्रालयको सहयोगमा जोखिमयुक्त ठाउँमा एक्स्काभेटरसहितका सामग्री तयारी अवस्थामा राखिने कार्ययोजनामा समेटिएको छ। केसीका अनुसार, सुरक्षा निकाय, जिल्ला विपद् व्यवस्थापन समिति, प्रदेश र स्थानीय तहसँग पनि समन्वय गरेर तयारी थालिएको छ ।
केन्द्रमा मनसुन प्रतिकार्य कमाण्ड पोस्ट स्थापना गरी नेतृत्व गर्ने, मनसुन पूर्वतयारी तथा प्रतिकार्यको लगि आवश्यक साधन स्रोत व्यवस्थापन तथा परिचालनमा विभिन्न मन्त्रालय र निकायसँग समन्वय र सहजीकरण गर्ने पनि प्राधिकरणले जनाएको छ ।
उकालो डट कमबाट साभार ।