जिते गुरिल्ला म्याराथनको उपाधि अर्जुन र राज्यलक्ष्मीलाई
जिते गुरिल्ला म्याराथनको उपाधि अर्जुन र राज्यलक्ष्मीलाई
रूकुम पश्चिम । सानीभेरी गाउँपालिकामा आयोजना गरिएको राष्ट्रिय ‘ छैठौं सानीभेरी-मौराखारा गुरिल्ला म्याराथन’को पुरूषतर्फको उपाधि अर्जुन राई र महिलातर्फको उपाधि राज्यलक्ष्मी रावलले जितेका छन् । माओवादी सशस्त्र विद्रोह सुरु भएको दिन फागुन १ हरेक वर्ष यो प्रतियोगिताको आयोजना गरिन्छ।
कुल ४८ किलोमिटर लामो दूरी ४ घण्टा ४० मिनेटमा पार गर्दै सोलुखुम्बुका अर्जुन राई प्रथम, ४ घण्टा ५३ मिनेटमा पार गर्दै रूकुम पूर्वका शक्तिराम रोका दोस्रो, ५ घण्टा १ मिनेटमा पार गर्दै रूकुम पश्चिमका भुवन ओली तेस्रो र ५ घण्टा १५ मिनेटमा पार गर्दै रूकुम पश्चिमका दुर्गाराज बुढा चौथो भएका छन्।
त्यस्तै कुल ३६ किलोमिर लामो दूरी ३ घण्टा ११ मिनेटमा पार गर्दै जुम्लाकी राज्यलक्ष्मी रावल प्रथम, ३ घण्टा १७ मिनेटमा पार गर्दै रूकुम पश्चिमकी सुशीला पुन दोस्रो, ३ घण्टा २७ मिनेटमा पार गर्दै खोटाङकी निर्मला राई तस्रो र ३ घण्टा ४० मा पार गर्दै रूकुम पश्चिमकी कविता वस्नेत चौथो भएका छन् ।
म्यारथनमा पुरूषतर्फका विजेतामध्ये प्रथमलाई १ लाख, दोस्रोलाई ७५ हजार, तेस्रोलाई ४५ हजार तथा चौथोलाई १५ हजार नगदका साथै सबैलाई मेडल तथा प्रमाणपत्र र दशौं स्थानसम्मका विजेतालाई ३ हजार नगद प्रदान गरिएको सानीभेरीका खेलकुद विकास समिति अध्यक्ष भिमप्रकाश बिकले बताए । उनका अनुसार म्याराथनमा महिलातर्फका विजेतामध्ये प्रथमलाई ६० हजार, दोस्रोलाई ४० हजार, तेस्रोलाई २० हजार तथा चौथोलाई १० हजार नगदका साथै सबैलाई मेडल तथा प्रमाणपत्र र दशौं स्थानसम्मका विजेतालाई नगद ३ हजार प्रदान गरिएको छ ।