एमाले रूकुम पश्चिमको अध्यक्षमा पुन: देवकोटा सर्वसम्मत
एमाले रूकुम पश्चिमको अध्यक्षमा पुन: देवकोटा सर्वसम्मत
रुकुम पश्चिम । नेकपा (एमाले) रूकुम पश्चिमको ९ औं जिल्ला अधिवेशनबाट नन्दराम देवकोटा पुन: अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । गत चैत १६ गते उद्घाटन गरेर ४ दिनपछी आज ६९ सदस्सिय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित गर्दै सम्पन्न भएको हो ।
नवनिर्वाचित कमिटीको उपाध्यक्षमा पुन: मनविर घर्ती र सचिवमा शशिराम नेपाली पनि सर्वसम्मत रूपमा दोहोरिएका छन् । त्यस्तै सहसचिवमा ब्युझना पुन र तिलक वस्नेत सर्वसम्मत भएको निर्वाचन कमिटीका सदस्य तथा अधिकृत गणेश हमालले जानकारी दिए ।
आज (सोमबार) जिल्ला पार्टी कार्यालयमा आयोजित नव-निर्वाचित कमिटी घोषणा सभा तथा सफथ ग्रहण कार्यक्रममा सबै पदाधिकारी तथा सदस्यहरूले सफथ संगै पदभार ग्रहण गरेका छन् । कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य खेममान खड्का, केन्द्रिय सदस्य चन्द्रबहादुर विक र कर्णाली प्रदेश कमिटी सचिव ध्रुबकुमार शाहीले लगाएतले नवनिर्वाचित कमिटीलाई बधाई तथा शुभकामना दिएका थिए।
एमाले रूकुम पश्चिमलाई नयाँ उचाईमा लगेर अघि बढ्ने प्रतिवद्वता नवनिर्वाचित अध्यक्ष देवकोटाले गरेका छन् । ‘एमालेलाई रूकुममा पहिलो पार्टीमा दर्ज गर्न हामी सबैको प्रयास रहनेछ ।’ सोमबार आयोजित घोषणा सभामा बोल्दै उनले भने, ‘यसका लागी एकतावद्व पार्टी र जुझारू कार्यकर्ता तयार गर्न थप कार्ययोजना बनाएर अघि बढ्ने छौ ।’
हाल निर्वाचित कमिटीमा थप ८ जना पछी मनोनयन गरिने र त्यसपछी जिल्ला कमिटीले पर्णता पाउने पनि निर्वाचन कमिटीले बताएको छ ।