दोस्रो रुकुम कप भलिबलको उपाधि आर्मीलाई

दोस्रो रुकुम कप भलिबलको उपाधि आर्मीलाई

"0" Comments

रुकुम पश्चिम  । रुकुम पश्चिमको मुसिकोटमा सञ्चालित दोस्रो रुकुम कपको उपाधि नेपाली सेनाको चण्डीदल गणले जितेको छ । बिहीबार भएको फाइनलमा आयोजक रुकुम पश्चिमलाई ३–२ को सेटमा पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो ।

खेलमा २–० ले पछि परेको अवस्थामा आर्मीले उत्कृष्ट पुनरागमन गरेको हो । रुकुम पश्चिमले सुरुवाती दुई सेट जिते पनि त्यसपछिका ३ सेट लगातार गुमाउँदा उपाधि हात पार्न चुक्यो ।

विजेता आर्मीले नगद पाँच लाख पाँच हजार पाँच सय ५५ रुपैयाँ र कप हात पारेको छ । उप विजेता रुकुम पश्चिमले नगद दुई लाख ५५ हजार पाँच सय ५५ र कपमा चित्त बुझाएको छ । प्रतियोगितामा हाम्रो सरोकार रुकुम पश्चिम तेस्रो भएको छ । बिहीबार नै भएको तेस्रो स्थानको खेलमा नवलपरासी जिल्लालाई पराजित गर्दै हाम्रो सरोकार तेस्रो भएको हो ।

उसले नगद एक लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ र कप हात पारेको आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले जनाएको छ । सान्त्वना भएको नवलपरासीले भने एक लाख पाँच हजार पाँच सय ५५ रुपैयाँमा चित्त बुझाएको छ । विजेता खेलाडीलाई मेडल र प्रमाण पत्र समेत प्रदान गरिएको आयोजकको भनाई छ ।

प्रतियोगितामा ७ टिमले प्रतिस्पर्धा गरेका थिए । ७ अङ्क जोडेको सल्यान र अङ्क विहीन बाँफिकोट गाउँपालिका तथा बाँफिकोट गाउँपालिका ४ समूह चरणबाटै बाहिरिएका थिए । सहभागी सबै टिमलाई एक समूहमा राखेर राउन्ड रोबिनमा खेल सञ्चालन भएको थियो । सबै टिमले एक अर्का सँग खेलेपछि अङ्क तालिकाको १ र २ नम्बरमा रहने टिमले फाइनल तथा ३ र ४ नम्बरमा रहने टिमले तेस्रो स्थानका लागि खेल्ने व्यवस्था गरिएको थियो ।

विभिन्न संस्था तथा व्यक्तिहरूबाट सहयोग जुटाएर प्रतियोगिता आयोजना गरिएको र सफलतापूर्वक सम्पन्न भएको आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेजविक्रम बिएमले जानकारी दिए ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *