आज तीज, सनातन धर्मावलम्बी महिला उमामहेश्वरको व्रत गर्दै

आज तीज, सनातन धर्मावलम्बी महिला उमामहेश्वरको व्रत गर्दै

"0" Comments

काठमाडौं । भाद्र शुक्ल तृतीया अर्थात् तीज। सनातन धर्मावलम्बी महिला शुक्रबार उमामहेश्वरको व्रत तथा पूजा–आराधना गरी मनाउँदैछन् ।

पञ्चांगमा आज १५ घडी ५७ पला अर्थात् मध्याह्न १२ बजेर ८ मिनेटसम्म तृतीया तिथि रहने र त्यसपछि चतुर्थी (चौथी) लाग्ने उल्लेख छ । भाद्र शुक्ल तृतीयाका दिन बिहान सबेरै उठी स्नान गरी दिनभर व्रत बस्ने र उमामहेश्वरको आराधना गर्ने परम्परा छ ।

सत्ययुगमा हिमालय र मेनकाकी पुत्री पार्वतीले निराहार व्रत बसी कठिन तपस्या गरेको र महादेव पति पाएको पौराणिक सन्दर्भ छ । त्यसैले विधिपूर्वक व्रत बस्दा मनोकांक्षा सिद्ध हुने विश्वास गरिन्छ ।

सक्नेले दिनभर पानीसमेत नखाई व्रत बस्ने साँझ पौराणिक विधिले उमामहेश्वरको पूजा गर्ने, कथा सुन्ने विधान छ । धर्मशास्त्री प्रा.डा. रामचन्द्र गौतमले निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम रहेको बताए । ‘सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत बस्नु उत्तम हुन्छ’, उनले भने । भोलिपल्ट सबेरै ‘लोापामुद्रा’लाई अर्घ्य दिएपछि तीजको व्रत पूर्ण भएको मानिन्छ ।

विवाहिताले पति र छोराछोरीको सुस्वास्थ्यको कामना गर्ने र अविवाहिताले असल पतिको कामनामा व्रत बस्ने परम्परा छ । ‘अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, महिला र पुरुषहले असल वर तथा वधुप्राप्तिका लागि पनि तीजको व्रत बस्ने विधान रहेको धर्मशास्त्री प्रा.डा. देवमणि भट्टराईले बताए । व्रतलाई संकुचित अर्थमा लिन नहुने उनको भनाइ छ ।

काठमाडौंस्थित पशुपतिनाथ, गोकर्णेश्वर, ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर, सिन्धुलीको कुशेश्वर, सिन्धुपाल्चोकको फटकेश्वर र दोलखाको भीमेश्वरलगायत शिवालयमा श्रद्धालुको घुइँचो लाग्छ। पशुपतिनाथमा बिहान ३ बजे नै देखि दर्शनको व्यवस्था मिलाइएको छ।

तीजका लागि माइतीले चेलिबेटीलाई निम्तो गर्ने, सम्भव भएसम्म सबै दिदीबहिनी एकै थलोमा जम्मा हुने, अघिल्लो दिन बेलुकी ‘दर’ खान्छन् । वर्षभर घरव्यवहारमा भोगेका दुःखकष्ट पोखेर नाचगान गर्छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *