सर्दै मेलाको मिति, फेरिदै मेलाको प्रकृति
सर्दै मेलाको मिति, फेरिदै मेलाको प्रकृति
रुकुम पूर्व (रुकुमकोट) । दशैंको अन्तिम दिन अर्थात कोजाग्रत पुर्णिमाको दिन सिस्ने गाउँपालिका– ६ छिप्रिदहमा पाँचपुणि मेला लाग्ने गथ्र्यो । कोजाग्रत पुर्णिमाको दिन लाग्ने भएकै कारण छिप्रिदहमा लाग्ने मेललाई पाँचपुणि मेला भन्ने गरिएको हो । दशैंको अन्तिम दिन अर्थात कोजाग्रत पुर्णिमाको दिन सबै जनाले दशैंलाइ विदा गर्दै पाँचपुणि मेला मनाउने गर्छन् । तर अहिले भने मेला कहिले लाग्ने भन्ने टुङ्गो हुदैन ।
प्राचीन समयदेखि चल्दै आएको परम्परागत मेला र जात्राहरूले मानव सभ्यतामा महत्वपूर्ण भूमिका खेलेका हुन्छन् । तर आजकल यी मेलाहरूको मिति परिवर्तन हुँदा मेलाको पौराणिक महत्व र सांस्कृतिक अस्तित्व हराउदै गएको छ ।
सिस्ने गाउँपालिका– ६ रुकुमकोट छिप्रिदहमा रहेको भगवती मन्दिर परिसरमा कोजाग्रत पूर्णिमाको दिन (पाँचपुणि) मेला लाग्ने परम्परा चतुर्दशीको रात देखि सुरु हुने गर्छ । तर केही वर्षदेखि यो मेलाको मिति खस्टी सप्तमीमा सारेको स्थानियहरु बताउछन् । यसले गर्दा मेलाको पौराणिक रौनक र महत्व घटेको उनिहरुको भनाई छ ।
स्थानीय भुवनेश्वर उपाध्यायका अनुसार कोजाग्रतको अर्थ “जाग्ने“ हो र यस मेलाले चतुर्दशीको रातमा जो जागेको (जागराम) छ उनिहरुले उक्त रात देखि मेला प्रारम्भ गर्थे । पुणि अथवा ढिलामा षस्टिको दिनसम्म मेला लाग्थ्यो । तर अहिले मेला ढिला लाग्नाले मेलाको अस्तित्व हराउदै गएको उनले बताए ।
मेलाको समय परिवर्तनले स्थानीय समुदायको एकता र परम्परागत चहलपहलमा कमि ल्याएको अर्का स्थानीय कलिभान गौतमको भनाई छ । पहिला मेला भर्नेहरु चतुर्दशीको दिन देखि जमघट भई विभिन्न स्थानीय नाच गानमा सरिक हुन्थे । तर अहिले, मिति परिवर्तनले मेलाको भविष्यमा अनिश्चितता सिर्जना गरेको छ ।
स्थानीय बासिन्दाहरूले यो परिवर्तनको बारेमा चासो व्यक्त गर्दै, मेलाको परम्परा र सांस्कृतिक महत्वलाई जोगाउनका लागि सामूहिक प्रयास आवश्यक रहेको बताउदै आएका छन् । यो बर्षको मेला पनि दशैं सकिएको दई दिन अर्थात आज (शक्रबार) देखि सुरु हुदै छ । यो बर्ष पुर्णीम फरक तिथिमा परेका कारण ३० गते नै दशंै सकिएको थियो । कोजाग्रत पुर्णिमाको अघिल्लो रातबाट लाग्नु पर्ने मेला आज देखि सुरु हुन लागेको हो ।