रुकुम पश्चिममा स्केट खेल बालबालिकाको लागि लोकप्रिय
रुकुम पश्चिममा स्केट खेल बालबालिकाको लागि लोकप्रिय
रुकुम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका– १ मठ र ५ शेरीगाउँपालिकामा स्केट जोन खुलेका छन् । ‘स्केट जोन’ बालबालिका खेल्ने र रमाउने थलो बनेको छ । दुवै स्केट जोनमा बालबालिका मात्र नभई यतिबेला युवा तथा ज्येष्ठ नागरिकको पनि आकर्षण बढ्दो छ । यहाँ दैनिक खेल्नेको उत्साहजनक रुपमा सहभागिता बढेको छ ।
फुर्सदको समय निकालेर स्केट जोनमा आएर खेल खेल्ने गरेको त्रिभुवन जनता माध्यामिक विद्यालयका कक्षा ९ मा पढ्ने छात्रा विन्दु पुन बताउछिन् । उनी विद्यालय खुलेका बेला साँझ बिहान तथा बिदाका दिन दिउँसोमा यहाँ स्केट खेल्ने गर्छिन् । “खेल खेल्दा शारीरिक तथा मानसिक रुपमा नै आनन्द महसुस हुन्छ, यहाँ खेल खेलेर घर गएपछि लेखपढ गर्न उत्साह थपिएको अनुभूति गरेको छु, समय मिलाएर आइराख्ने गरेको छु”, पुनले भनिन् ।
सोहि विद्यालयमा कक्षा ८ मा पढ्ने छात्रा अदिबा अन्जुम पनि घरमा गृहकार्य सकिएपछि पढाइ नबिग्रने गरी एक घण्टाको समय यहाँ आएर स्टेक जोनमा रमाउछिन् । अनावश्यक समय गाउँघरमा खेलेर, डुलेर, मोबाइल, टिभी हेरेर समय बिताउनभन्दा केही समय यहाँ आएर खेलेपछि आनन्द आउँछ ।
मठमा एक महिनादेखि र शेरीगाउँमा दुई हप्ता अघि देखि स्केट जोन सञ्चालनमा आएको छ । शेरीगाउँमा रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ९ चौताराका डम्बर सुनार र विजय डाँगीले हाउस सञ्चालनमा ल्याएका हुन् ।
करिब २५–३० लाखको लगानीमा हाउस सञ्चालन गरिएको सञ्चालक मध्येका एक विजय डाँगीले जानकारी दिए । युवाहरूलाई शारीरिक रूपमा तन्दुरुस्त बनाउने उद्देश्य राखिएको उनले भने । “व्यवसाय सुरु भएको करिब १ महिना भएको छ, रामै्र चलेको छ, बालबालिका, युवा, ज्येष्ठ नागरिक सबै उमेर समूहको आकर्षण बढ्दो छ”, मठमा स्केट जोन संचालन गरेका गंगाराम खड्काले भने,
रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर २ प्वाङका खड्काले व्यक्तिगत लगानीमा मुसिकोट नगरपालिका वडा नम्बर १ मठमा स्केट पार्क निर्माण गरेका छन् । विशेष गरी युवा युवतिहरूलाई लक्षित गरेर जिल्लामै नयाँ स्केट पार्क निर्माण गर्न लागेको खड्काले बताए ।
बन्द हलमा स्केटिङ गर्ने व्यवस्था गरिएको छ भने पार्क स्थलमा पार्किङको समेत सुविधा रहेको छ । १ पटकमा कम्तीमा ५० जनाले सँगै स्केटिङ गर्न मिल्ने सञ्चालक खड्काले बताए । स्केट जोनमा आएर खेल्दा मन भित्रैदेखि आनन्दित हुने गरेको विकास केसी बताउछन् ।
उनी बेलाबेलामा यहाँ आएर खेल खेलेर आनन्द लिने गर्छन् । यो खेल स्वास्थ्यका लागि फाइदाजनक रहेको उनको भनाइ छ । “स्केट जोन मठमा खुल्नु नै हाम्रो लागि खुसीको कुरा हो, खेल सकिएपछि शरीर फुर्तिलो र मन प्रफुल्ल हुन्छ”, उनले भने ।