रुकुम पश्चिममा सवारी साधनको भाडा समायोजन गर्न समिति गठन
रुकुम पश्चिममा सवारी साधनको भाडा समायोजन गर्न समिति गठन
रुकुम पश्चिम । रुकुम पश्चिममा आन्तरिक रुटमा संचालन हुने सवारी साधनको भाडादर तिन बर्ष पछि समायोजन हुने भएको छ । आन्तरिक रुटमा चल्ने सवारी साधनले मनपरी भाडा असुल गरेको गुनासो बढे पछि जिल्ला यातायात व्यवस्थापन समितिले भाडा समायोजनको तयारी थालेको हो ।
चाड पर्वको बेला सवारी साधनले मनपरि तरिकाले भाडा असुल गरेको आठविसकोट नगरपालिका– ९ का कपिल शमार्लले बताए । ‘अन्य समय भन्दा चाडपर्वको बेला सवारी साधनमा दाब्बर भाडा तिरेर आवत जावत गर्नु पर्यो । नियन गर्ने निकायले चासो नदिदा हामिहरु ठगिनु परेको हो,’ उनले भने ।
तिन बर्ष अघि समायोजन गरिएको भाडा पनि कार्यन्वयनमा नआएको उनको भनाई छ । जिल्लामा रहेका सडकलाई ३ वर्गमा विभाजन गर्दै भाडा समायोजन गरिएको थियो । ‘क’ बर्गमा संचालित सवारी साधन बसको लागि प्रति किलोमिटर ४ रुपैया ५० पैसा, जिपको लागि ५ रुपैया ५० पैसा भाडा निर्धारण गरिएको थियो ।
त्यस्तै ‘ख’ वर्गको सडकमा चल्ने सवारी साधन वसको लागि ७ रुपैया ५० पैसा र जिपको लागि ८ रुपैया ५० पैसा निर्धारण गरिएको छ । ‘ग’ वर्गको सडकमा चल्ले सवारी साधन जिपको लागि ९ रुपैया ५० पैसा भाडा निर्धारण गरिएको थियो । ‘ग’ वर्गको सडकमा बसको लागि रुटपरमिट दिईएको थिएन ।
यातायात व्यवसायीले भाडा मनपरी असुल्ने गरेको गुनासो बढेपछि भाडा दर निर्धारण गर्न जिल्ला प्रशासन कार्यालयले समितिनै गठन गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको हो ।
समितिको सदस्यमा यातायात सेवा कार्यालय चौरजहारी, सडक डिभिजन चौरजहारी, जिल्ला प्रहरी कार्यालय, यातायात व्यवस्था सेवा कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, जिल्लामा क्रियाशील यातायात व्यवसायी प्रालीका प्रतिनिधि सदस्यको रूपमा रहेका छन् ।
समितिले जिल्लाभित्रका विभिन्न आन्तरिक सडकमा चल्ने पुराना सडक रुटहरूमा पछिल्लो समयमा भएको सडक स्तरोन्नति सँगै पूर्व निर्धारित भाडा दरलाई परिमार्जन गर्ने, नयाँ सडक रुटहरूमा सञ्चालित सवारी साधनहरूको भाडा दर निर्धारण गर्ने, तोकिएको भाडा दर लिए नलिएको, सिट क्षमता भन्दा बढी यात्रु राख्ने जस्ता समस्यालाई नियन्त्रणका लागि सुझाव पेस गर्ने छ ।
समितिले यस विषयमा अध्ययन गरेर एक हप्ताभित्र प्रतिवेदन तयार पारी पेस गर्ने बताएको छ ।