कामकै खोजी कामकै चाप, यही धुनमा बिर्से मानसिंहले आफ्नो जन्मघर

कामकै खोजी कामकै चाप, यही धुनमा बिर्से मानसिंहले आफ्नो जन्मघर

"1" Comments

रुकुम पश्चिम । फागुन निगल्त भएपनि विहानीपख चिसो नै छ । घाम नलागेसम्म मान्छेहरु हतपती बाहिर निस्किने छाट छैन । तर मुसिकोट–१ का मानसिंह बुढालाई भने के विहान, के साँझ अनि के चिसो के गर्मी । उनि झिसमिसेमै उठे र काममा लागे ।

उनको काम हो, भारी बोक्ने । जिल्ला सदरमुकाम खलंगा बजारमा दैनिक उपभोग्य सरसामान ओसारपसार गर्ने मानसिंह आफु घरखर्चकै लागी भरिया भएको बताउछन् । ‘३७ बर्षको हुदाँदेखी भारी बोक्न थोलेको अहिलेम्म यही काम गरिरहेको छु ।’ उनको भनाई छ ।

यही महिना ६० बर्ष पुगेको बताउने उनको घरमा श्रीमती, जहान संगै २० र १५ बर्षका गरेर २ छोरी अनि १६ बर्षका १ छोरा छन् । ‘जेठी छोरी काठमाडौं मै मजदुरी गर्छिन् । कान्छी छोरी मावली (रुकुम पूर्व)मा वस्छिन् । अनि छोरा यतै छ ।’ उनले आफ्नो परिवारबारे बताउदैं उनले भने, ‘बुढी चाही त्रिवेणीको खारामा एउटा घरमा काम गर्छिन् । कहिलेकाहीं यता आउछिन् । भेट हुन्छ, जीन्दगी यस्तै छ ।’

घरमा कमाउने मुल मान्छे आफै भएको बताउने मानसिंहले संगै बस्दा खर्च धेरै हुने भएपछी श्रीमतीलाई खान–बस्नको सुविधा र थोरै केही खर्च पनि जुट्ने भएपछी उता (त्रिवेणी) पठाएको बताउछन् । ‘काम पाएको दिन ५ सय देखी १ हजारसम्म कमाई हुन्छ । तर सधै एकै प्रकारको आम्दनी हुन्न । कहिल्यै यसै बस्नुपर्छ । अनि कतिले हामीलाई नै ठक्न खोज्छन् ।’ यसमा थप प्रस्ट्याउदैं उनले भने, ‘खानपानको खर्च कटाएर महिनमा त्यही १० हजारजती बचाउन सकेको छु । तर दुःख–विराम पर्दा बचेको पैसा सबै सकिन्छ ।’

आफ्नो स्थायी घर रोल्पाको पाछाबाङ बताउने मानसिंहले आफु थाहा पाउने नहुदैं बा–आमा बितेको र सानोमा गाउँमै मजदुरी गर्दागर्दै घोडा–खच्चडमा भारी लाद्ने काम सिकेकोले त्यही कामका शिलशिलामा रुकुम आएपछी यतै बसेको बताए । ‘म १२/१३ बर्षको थे होला यता आउदाँ । त्यसपछी घर फर्किन मन लागेन, मजदुरी गर्ने काम यतै पाएपछी यतै बसियो ।’ उनि भन्छन्, ‘अहिले त बर्षौ बित्यो, उता(घरतिरका)का संग कुनै सम्पर्क छैन । मेरो एकजना दाई र दिदी थे । तर उनिहरु कहाँ छन्, के गर्दै छन् मलाई नै था छैन । उनिहरुले पनि मलाई खोजेनन्, मैले पनि उनिहरुलाई खोजेन । कहिलेकाही सम्झना आउछ । घरतिर जाउ जस्तो पनि लाग्छ । तर पछी फेरी किन खै मन यसै मर्छ ।’

‘कहिले डेरा, कहिले साथी–भाईकोमा गरेर जिन्दगी जसोतसो चलेकै छ ।’ भन्दै मानसिंहले एकै जनालाई मात्रै खाना पकाउन धेरै खर्च हुने भएकाले महिनाको ६ हजार रुपैयाँ तिरेर सदरमुकामै एउटा होटेलमा खाना खाने र अर्का एक जना साथीसंग मिलेर डेरामा बसिरहेको बताए । खानपानमा भन्दा विरामी पर्दा सबैभन्दा धेरै खर्च औषधी–उपचारमा हुने उनको भनाई छ । ‘दालभात खाएर बास बस्न त काम गरेपछी जसोतसो सकिन्छ । तर बिरामी पर्दा बचेको पनि सबै सकिन्छ । धेरैपल्ट पैसा नभएर औषधी नकिनी फर्केको अनि भगवान् पुकारेर बसेको पनि छु ।’

दबिएको आवाजमा भावुक हुदैं मानसिं बोलिरहे, ‘म त म थे हजुर, म पछी अरु चारवटा ज्यान (श्रीमती र छोराछोरी) छन् । उनिहरुलाई समेत हेरदेख गर्नुपर्छ । अगाडीको मान्छे मै परे, काम गरेर हातमुख जोड्न पनि मुस्किल पर्ने हाम्लाई औषधी र उपचारले भन्दा पनि भगवानले बचाएको जस्तो लाग्छ ।’
यही प्रसंगमा मानसिंहले अर्को दुःखको कुरा पनि सुनाए, ‘जेठी छोरी धेरै नै विरामी छे । घाँटीमा समस्या छ रे । बेलाबेलामा उसलाई गाह्रो हुन्छ । डाक्टरले अप्रेशन गर्नुपर्छ भनेको छ रे । तर म संग पैसा नै छैन । कसरी गर्ने होला !’ उनि बोलिरहे ‘अस्तिन १० हजार रुपैयाँ पठाईदिएको हुँ । यत्तिले हुन्न भनेकी छे । अब अर्को १० हजार कमाउन महिना लाग्छ ।’

विहानपख भेटिएका मानसिंहको जीउनमा झुत्रा कपडा थिए । ‘आफैले पैसा हालेर कपडा नकिनेको बर्षौ भयो ।’ उनि भन्छन्, ‘काम गराउनेहरुले नै मायाले कपडा दिनुहुन्छ । राम्रो हुन्छन् यसकारण त्यही लगाउछु । आखिर जिऊ ढाक्ने त हो कपडाको काम ।’
चाडबाडका बेला जहान–छोराछोरीका लागी केही हजारमा कपडा किनिदिने बाहेक यसमा खर्च नभएको मानसिंहले बताए ।
बिहान देखी साँझसम्म काममै जोतिनुपर्ने आफुहको कर्म भएको बताउदैं मानसिंह खाजा–नास्ताका रुपमा कहिले चिया–पाउरोटी त कहिले जे भेटिन्छ त्यही खाने गरेको बताउछन् । ‘यो पाए मिठो हुन्थ्यो भन्ने लाग्दैन, भोक मार्ने, पेट भर्ने भनेर जे भेटिन्छ त्यही खान्छु ।’ उनि भन्छन्, ‘दिनमा त्यही ३०–४० रुपैयाँजती खाजामा खर्च हुन्छ ।’

उनि थप्छन्, ‘रहरको त जिन्दगी नै भएन भने लाउनु–खानु के मनको हुन्थ्यो, के रहरको हुन्थ्यो । यस्तै छ ।’
कुरै–कुरामा मानसिंहलाई ‘भैपरी आउने खर्च पुग्ने भयो भने के कुराको रहर छ अथवा कुन बिषयमा खर्च गर्न मन छ ?’ भनेर सोध्दा उनि केही बेर बोलेनन् । अनि खितिक्क हास्दै प्रतिप्रश्न गरे, ‘त्यस्तो दिन आउला र ?’ उनले थपे, ‘यत्रा बर्ष बितिगए, कहिल्यै पुग्दो भएको छैन । यसकारण यतातिर मन नै जादैंन । काम गरिरहन सक्ने हुन पाउँ, दुःख–बिराम पर्दा त्यसबाट पार पाउन सकु । यत्ति छ मेरो कामना ।’

आफ्ना दुःख–सुख, रहर अनि रुची चाहना बारे कहिल्यै कसैले नसोधेको बताउदैं मानसिंहले यसपटक यस्ता प्रश्न सुन्दा रमाईलो लागेको समेत बताए । ‘बा–आमा सानैमा बिते, थाहा पाउने भएदेखी ज्याला–मजदुरी गर्न अरुकै घर–दैलो चहार्दै हिड्नुपर्‍यो । अनि तिम्रा रहर के छन्, तिमि के चाहन्छौं भनेर कहिल्यै कसैले सोधेन ।’ भावुक मुद्रामा उनि थप्छन् ‘तपाईले आज जवाफका लागी मात्रै सोधेपनि मलाई भने रमाईलो लाग्यो ।’

यस बिषयमा अलि लामै गन्थन् गरेका मानसिंहले ‘एउटा आफ्नै नामको घरबारी भए हुन्थ्यो’ भनेर आफ्नो सपनाको पोको खोले । तर त्यो सपना पुरा हुनेमा भने उनि कदापी विश्वस्त देखिएनन् । ‘खानेबस्नेको त ठहर नभएका हाम्रा लागी घर धेरै परेको कुरा हो हजुर, तर सोधिहाल्नुभो र भन्देको है !’

दैनिक खर्चपर्च जुटाउन ज्याला–मजदुरी गर्ने मानसिंहले आफ्नो मन हलुंगो पार्नेगरी कुराहरु बाड्ने मान्छे नै नभएको बताए । ‘कस्लाई सुनाउ, के–के सुनाउ ! कहिलेकाँही श्रीमतीलाइ भनु जस्तो लाग्छ, फेरी उनिलाई नै गाह्रो होला भनेर मनमै राख्छु । एउटा भनाई छ नि, ‘मनका बह कसैलाई नकह’ त्यस्तै भएको छ मेरो हाल । मनबाट मुखमै आएको कुरा पनि बिर्सने कोशिश गर्छु ।’
घरखर्च चलाउन र आफ्नो अनि परिवारको सुखका लागी यसरी ज्याला–मजदुरी गरेर जीवन गुजारा गरिरहेका मान्छेहरुको संख्या बिभिन्न क्षेत्रमा धेरै छ । जिल्ला सदरमुकाममा भारी बोकेर गुजारा चलाईरहेका मानसिंह जस्ता दर्जन बढी मान्छे छन् ।

सबैका आफ्नै कथा–ब्यथा छन् । सबैका आफ्नै जीवन भोगाई छन् । फरक यत्ति हो, कोही आफ्नो कथा यसरी सुनाएर मन हलंगो पार्छन्, कोही चाही ‘मेरो दुःख अरुलाई सुनाएर के हुन्छ’ भन्दै मनमै गाठो पारेर राख्छन् । तर कथा सबैसंग छ ।

छुट्टिने बेलामा मानसिंहले एउटा सहयोग मागे, ‘स्वास्थ्यमा उपचार गर्ने बिमा हुन्छ भन्ने सुनेको थे, तर यसबारे थाहै छैन । मेरो बिमा गर्नु थ्यो, कसरी गर्ने होला ? सहयोग गर्दिनु है मलाई ।’


One thought on “कामकै खोजी कामकै चाप, यही धुनमा बिर्से मानसिंहले आफ्नो जन्मघर

Leave a Reply

Your email address will not be published. Required fields are marked *