स्थानीयतह उपनिर्वाचन : रुकुम पूर्व–पश्चिममा उम्मेदवारी दर्ता सम्पन्न
स्थानीयतह उपनिर्वाचन : रुकुम पूर्व–पश्चिममा उम्मेदवारी दर्ता सम्पन्न
रुकुम । स्थानीय उपनिर्वाचन अन्तरगत रिक्त रहेका रुकुम पूर्वमा गाउँपालिका उपाध्यक्ष र १ वडाअध्यक्ष तथा पश्चिममा १ वडा अध्यक्षका लागी मनोनयन दर्ता सम्पन्न भएको छ । पूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष र २ नं. वडा अध्यक्ष तथा पश्चिममा सानीभेरी गाउँपालिका वडा नं. ५ मा वडा अध्यक्षका लागी मनोनय दर्ता आज सम्पन्न भएको हो ।
पूर्वमा उपाध्यक्ष पदका लागी सात जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत लोकबहादुर हमालले जानकारी दिए । उनका अनुसार कांग्रेसका तर्फबाट तेजकुमारी तुलाचन, माओवादी केन्द्रका तर्फबाट नरपुरा बुढा र एकिकृत समाजवादीका तर्फबाट सुनिता बुढा मगर, तथा स्वतन्त्रबाट कोपिला पुन बुढा, मोहोनभक्त बुढा, भिमकुमारी पुन र सुर्यदेवी सुनार रहेका छन् ।
त्यस्तै वडा नंं. २ को अध्यक्षका लागी माओवादी केन्द्रका तर्फबाट जनक घर्ती, एमालेका तर्फबाट जीवन रोका र स्वतन्त्रका तर्फबाट शुक्रराज विकले उम्मेदवारी दिएको बताईएको छ ।
पश्चिममा वडा अध्यक्ष पदका लागी ४ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत रामप्रसाद वस्यालले जानकारी दिएका छन् । वस्यालका अनुसार कांग्रेसका तर्फबाट मोतिराम खत्री, माओवादी केन्द्रका तर्फबाट जसिराम वस्नेत, एकिकृत समाजवादीका तर्फबाट हंसराज पुरी तथा स्वतन्त्र विरबहादुर वस्नेतले उम्मेदवारी दर्ता गराएका छन् ।
पार्टी स्रोतका अनुसार पूर्व र पश्चिममा सत्तारुढ दल एमाले र कांग्रेसले चुनावी तालमेल गरेर एक–अर्काको पार्टीका उम्मेदवारलाई समर्थन गर्ने बताएका छन् । पुर्वमा एमाले र कांग्रेसले संयुक्त विज्ञप्ती जारी गरेरै चुनाबी तालमेलको घोषणा गरेका छन् ।।