डोल्पामा १२ बर्षे शेल रिवो डुग्ड्रा शे मेला आयोजना गरिदैं
डोल्पामा १२ बर्षे शेल रिवो डुग्ड्रा शे मेला आयोजना गरिदैं
डोल्पा । डोल्पाको शे फोक्सुण्डो गाउँपालिकामा हरेक ३५ बर्षमा एकचोटी आयोजना गरिने शेल रिवो डुग्ड्रा शे मेलाको तयारी थालिएको छ । अगामी भदौ २ देखी ५ गतेसम्म शे फोक्सुण्डो–३ शेल गुम्बामा मेला गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।
आजभन्दा ८ सय ४ बर्षअघि सुरु गरिएको यो मेला हरेक ड्रागन बर्षमा अर्थात १२ बर्षमा आयोजना गरिने चलन अनुसार यो बर्ष २०८०–८१ बर्ष ड्रागन बर्ष परेकाले मेला आयोजना गर्न लागेको शे फोक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष पेम्मा वाङछेन गुरुङले जानकारी दिए । ‘यो यस क्षेत्रको निकै अर्थ र महत्वको मेला हो । यसबाट यहाँको धार्मिक पर्यटनलाई प्रवद्धन गर्ने लक्ष्य राखेका छौ ।’ उनले भने, ‘मेला अवधीमा यहाँ रहेका शेल्नी चाखाङ गुम्बा, शेल्नी गोमोछे गुम्बा र शेल्नी सुम्धो गुम्बामा बिशेष पुजाआजा गरिन्छ ।’
यसका साथै मेला अवधीभर बिभिन्न साँस्कृतिक कार्यक्रम, खेलकुद प्रतियोगिता, धार्मिक भजन-किर्तणका साथै घोडा दौड समेतको आयोजना गरिएको गाउँपालिकाले बताएको छ । मेलाको सह-आयोजकका रुपमा डोल्पाकै डोल्पोबुद्ध गाउँपालिका र छार्काताङसोङ गाउँपालिका रहेका छन् ।
भौगोलिक हिसावले नेपालको सबैभन्दा ठुलो जिल्लाका रुपमा रहेको डोल्पा जिल्लाको उत्तर पश्चिमी भु-भागमा अवस्थित शे फोक्सुण्डो गाउँपालिका भौगोलिक दृष्टीले विकट भएपनि पर्यटकिय हिसाबले निकै महत्वपुर्ण स्थानिय तह हो । यहाँ शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज तथा नेपालकै सबैभन्दा ठुलो शे फक्सुण्डो ताल समेत पर्दछ ।