पितिवाङ खोलामा अस्थायी कलभर्ड निर्माण भए पछि सडक खुल्यो

पितिवाङ खोलामा अस्थायी कलभर्ड निर्माण भए पछि सडक खुल्यो

"0" Comments

रुकुम पश्चिम  । राप्ती राजमार्गअन्तर्गतको रुकुम पश्चिम सडकखण्ड सुचारु भएको छ । राजमार्गको मुसीकोट नगरपालिका ११ र १२ स्थित पितिबाङ खोलामा पानीको बहाव बढेपछि राजमार्ग अवरुद्ध भएको थियो । मुसीकोट नगरपालिकाको डोजरले खोलामा अस्थायी कलभर्ड निर्माण गरे पछि सडक सुचारु भएको हो ।

शनिबार दिउँसो आएको पानीका कारण खोलामा बाढी आएपछि खोलामा राखिएका ह्युम पाइप बगाएको र राजमार्ग अवरुद्ध भएको भएको थियो । आज दिनभरको प्रयास पछि सडक सुचारु भएको नगर प्रहरी प्रमुख उमेश केसीले जानकारी दिए ।

सडक सुचारु भएसंगै रुकुमपूर्वको रुकुमकोट, रुकुमपश्चिमको जिल्ला सदरमुकाम मुसिकोटबाट राप्ती राजमार्ग हुँदै सल्यान, दाङ, नेपालगञ्ज र काठमाडौँ जाने सवारी साधनहरु सुचारु भएका छन् । यसका साथै स्थानीयस्तरमा सञ्चालन हुने सवारी साधनहरु समेत चल्न थालेका छन् ।

यस खोलामा पुल निर्माणको काम सुरु भएता पनि अहिले अलपत्र अवस्थामा रहेको छ । २०७८ वैशाख ७ गतेसम्म पुल निर्माण गर्नेगरी संरक्षण निर्माण सेवा प्रालि र डिभिजन सडक कार्यालय चौरजहारीबिच २०७६ असार ८ गते कार्य सम्झौता भएको थियो ।

मूल्य अभिवृद्ध कर बाहेक चार करोड १२ लाख ३९ हजार ३७५ निर्माण लागत रहेको उक्त पुल चार वर्षदेखि अलपत्र अवस्थामा छोडिएको छ । पुल नबन्दा पैदल यात्रुहरु, यात्रुवाहक सवारी साधनहरु, उद्योगी व्यवसायीका मालवाहक गाडीहरु, बिरामी बोकेका एम्बुलेन्सहरुले सास्ती पाइरहेका छन् ।

ठेकेदारको लापरबाहिका कारण पुल निर्माणको काम अवरुद्ध भएको भन्दै स्थानीयस्तरमा चर्को विरोध हुने गरेको छ । डिभिजन सडक कार्यालयले ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता तोड्ने तयारी भइरहेको जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *